बोक्सीको आरोपमा कुटिएकी राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

समाज फागुन २७ २०७४ ekhabarnepal
2076479584radha

 

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । 

“घटना घटेको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले यस विषयमा चासो  प्रकट गर्दै तत्काल कारवाहीको पहल गरेको छ,” प्रधानमन्त्रीको सचिवालयका सूचना प्रेषक रामशरण बजगाईँले जारी गरेको प्रेस नोटमा भनिएको छ, “हालसम्म प्राप्त विवरण अनुसार फागुन २४ गते बिहिबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेको खवर बाहिर आएको छ । प्रहरीले निज रामबहादुर चौधरीलाई छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएको जानकारी प्राप्त भएको छ । मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र  दिइनेछैन । हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकाय अग्रसर भैसकेको छ ।” 

विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ । यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ । यस्ता आपराधिक घटना भविश्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपन जस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top