अत्यन्तै खतरनाक क्यान्सर बाट पिडित  छन अभिनेता इरफान खान

मनोरञ्जन फागुन २३ २०७४ ekhabarnepal
2706032018023445

 

 काठमाडौं फागुन २३,

बलिउड तथा हलिउडमा समेत थुप्रै फिल्म खेलिसकेका चर्चित भारतीय अभिनेता इरफान खान एक प्रकारको दुर्लभ मस्तिष्क क्यान्सरको सिकार भएको बताइएको छ । उनी आफैंले ट्विटरमार्फत् केही दिनअगाडि यसबारे जानकारी दिएका थिए । अहिले भने उनी मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएको बताइएको छ ।

उनलाई ‘गिब्लोब्लास्टोमा मल्टिफ्रोम’ नामक अत्यन्तै खतरनाक किसिमको क्यान्सर लागेको खबर बाहिर आएको हो । हालै सार्वजनिक भएको खबरअनुसार इरफानको शरीरका विभिन्न भागमा लगातार समस्या आइरहँदा उनको बोलीमा समेत प्रभाव पर्न थालेपछि उनलाई तुरुन्तै कोकिलाबेन अस्पतालमा उपचारका लागि लगिएको थियो । 

मिलेनियम पोस्ट नामक भारतीय अनलाइनका अनुसार उनलाई लागेको क्यान्सरलाई चिकित्सकहरुले ‘डेथ अन डाइग्नोसिस’ पनि भन्ने गरेका छन् किनकि यसको पूर्ण उपचार अहिलेसम्म पत्ता नलागेको बताइएको छ । यसलाई अत्यन्तै दुर्लभ र खतरनाक क्यान्सर बताइएको छ । एमआरआई गराइसकेपछि मात्र उनलाई यो रोग लागेको पुष्टि भएको हो । त्यस्तै, उनको ट्युमर पनि निकै तिव्र रुपमा बढिरहेको रिपोर्टमा देखिएपछि चिकित्सकहरुले उनलाई तुरुन्तै शल्यक्रिया गराउन सुझाव दिइरहेको बताइएको छ । तर, उनले भने रेडिएसन र केमो थेरापीबाट नै उपचार गराउन जोड दिइरहेको बताइएको छ ।

हलिउडमा समेत आफ्नो कला प्रस्तुत गरिसकेका ५१ वर्षीय इरफानले ‘लाइफ अफ पाइ’, ‘स्लम डग मिलेनिएर’, ‘द एमेजिङ स्पाइडर म्यान’ र ‘ज्युर्यासिक वर्ड’ जस्ता चर्चित अङ्ग्रेजी फिल्ममा अभिनय गरेका छन् । गत ५ मार्चमा उनले आफ्नो रोगबारे ट्वीट गरेपछि उनका लाखौँ फ्यान चिन्तित बनेका छन् । ट्विटरमा उनले आफ्नो जीवनका पछिल्ला १५ दिन अहिलेसम्मकै रहस्यमय भएको र आफूले एक अत्यन्तै दुर्लभ रोग पत्ता लगाएको बताएका थिए । तरपनि साथीभाइलगायत परिवारको साथ भएकाले उनले फ्यानहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् । 

आफूले जीवनमा कहिल्यै हार नमानेको भन्दै उनले सबैलाई भरोसा दिलाएका छन् । यसका साथै एक हप्ताभित्रै सबै सत्य आफैँले बाहिर ल्याउने बताउँदै उनले कसैलाई पनि गलत खबर नफैलाउन अनुरोध गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top