२ अर्बले घट्यो रेमिट्यान्स

अर्थ फागुन २२ २०७४ ekhabarnepal
Remitance photo


 

 काठमाडौं फागुन २२ ,   
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिना (पुस) मा रेमिट्यान्स आप्रवाहमा करिब २ अर्ब रुपैयाँले कमी आएको छ । उक्त अवधिमा रोजगारीका लागि विदेसिने कामदारको संख्या घट्नुका साथै पैसा ओसारपसार गर्ने हुन्डीलगायत गैरकानुनी माध्यमहरू सक्रिय बन्दै गएकाले रेमिटयान्समा कमी आएको विज्ञहरू बताउँछन् । 
राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुससम्म ३ खर्ब ४० अर्ब ५४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा पुसमा रेमिट्यान्स वृद्धिदर ०.५ प्रतिशतले ऋणात्मक रहेको हो । ०७३ पुससम्म रेमिटयान्समार्फत ३ खर्ब ४२ अर्ब २३ करोड रुपैयाँ भित्रिएको थियो ।
चालु आर्थिक वर्षका अघिल्ला ४ महिनामा रेमिटयान्स आप्रवाह वृद्धिदरमा मात्र कमी आएको थियो । पाँचौं र छैटौं महिनामा रेमिटयान्स वृद्धिदर नै ऋणात्मक बनेको छ । गत साउनमा ७ प्रतिशत रहेको रेमिटयान्स आप्रवाह वृद्धिदर भदौ, असोज र कात्तिकमा क्रमशः ०.७ प्रतिशत, २.६ प्रतिशत र १.४ प्रतिशत रहेको थियो । 
त्यसपछिका दुई महिनामा रेमिटयान्स आप्रवाह ऋणात्मक रहयो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिरमा ०.८ र पुसमा ०.५ प्रतिशतले रेमिटयान्स आप्रवाह दर ऋणात्मक रहेको छ । यसको प्रत्यक्ष प्रभाव मुलुकको चालु खाता र शोधनान्तरमा स्थितिमा देखिएको छ ।
यो कुरा राष्ट्र बैंकले पनि सहज रूपमा स्वीकार गरेको छ । ‘आयातमा भएको उच्च वृद्धि र विप्रेषण आप्रवाहमा आएको कमीका कारण मुलुकको शोधनान्तर स्थिति गत पुसमा घाटामा गएको हो,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ, ‘आगामी दिनमा सरकारी खर्च वृद्धि हुने, पुनर्निर्माणले थप गति लिने र विदेशी लगानीका कम्पनीहरूको लाभांश बाहिरिने सम्भावनालाई विश्लेषण गर्दा शोधनान्तर स्थितिमा थप दबाब पर्ने जोखिम छ ।’
पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा करिब २ प्रतिशतले घटेको जनाइएको छ, (कान्तिपुर)

प्राप्त प्रतिकृयाहरू

To Top