प्रधानमन्त्री कार्यालयवाटै शक्तिको केन्द्रीकरण 

बिचार फागुन १९ २०७४ ekhabarnepal

काठमाडौं फागुन १९ ,  

मन्त्रिपरिषद्को कार्य विभाजन नियमावली संशोधन गरेर समाजकल्याण, गृह र अर्थ मन्त्रालयअन्तर्गतका केही महत्त्वपूर्ण विभाग र निकाय प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याइएको छ । सामाजिक सञ्जालमा सरकारको यस निर्णयको पक्षविपक्षमा बहस पनि चलेको छ । एकाितर  राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागजस्ता विभाग प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा ल्याइँदा शक्ति केन्द्रित हुने भन्दै आलोचना गरिएको छ भने अर्कातिर यसबाट ती निकायहरू प्रभावकारी हुनसक्ने भन्दै त्यसको समर्थन पनि भएको देखिएको छ । प्रधानमन्त्री कार्यालय लगभग मन्त्रिपरिषद्को सचिवालयमा सीमित रहेको अवस्था यसपटकको संशोधनले प्रशासन संयन्त्रमा ठूलै हलचल मच्चाएको हुनुपर्छ । 

पहिलो जनआन्दोलन, २०४६ लगत्तैदेखि प्रधानमन्त्री कार्यालयलाई सक्रिय र प्रभावशाली बनाउनुपर्ने धारणा प्रकट भइरहेको थियो तर राजनीतिक अस्थिरतासमेतका कारण प्रधानमन्त्रीहरूले शक्ति एकत्रित गर्ने विषयलाई प्राथमिकता दिएका थिएनन् । पञ्चायत कालमा शासनको सञ्चालन मूलतः नारायणहिटीबाट हुने भएकाले प्रधानमन्त्रीको कार्यालय अपेक्षाकृत कमजोर बनाइएको थियो । यसैले प्रधानमन्त्री कार्यालयलाई सशक्त र प्रभावकारी बनाउने सरकारको निर्णयले तरंग उत्पन्न गराएको हो । प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा ल्याइएका कार्यालयहरूमा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग माओवादी हिंसाकै बेलामा असफल सिद्ध भएको हो । माओवादी विद्रोह समाप्त भएपछि पनि राष्ट्रिय अनुसन्धान विभाग प्रभावकारी हुनसकेन । राजस्व अनुसन्धान विभाग विगतमा विवादमा परेको थियो भने सम्पत्ति शुद्धीकरण नियन्त्रण विभाग अपेक्षाकृत नयाँ भएकाले धेरै विवादमा परेको छैन । गैरसरकारी संस्थाहरूको समन्वय र अनुगमनको जिम्मेवारी पूरा गर्न विफल भएको आरोप लागेको समाज कल्याण परिषद्लाई पनि प्रधानमन्त्री कार्यालयमा लगिएको छ । 

राजनीतिक हस्तक्षेप र नेतृत्व तहको भ्रष्टाचारका कारण ठूला आर्थिक अपराधीहरूले उन्मुक्ति पाउने गरेको विश्वास जनस्तरमा रहेको छ । यस्तोमा अर्थ मन्त्रीमा गैरराजनीतिक पृष्ठभूमिका व्यक्ति नियुक्त भएलगत्तै सामान्य जनतामा उनले नीतिगत भ्रष्टाचार हुन नदिने र अनियमिततामा पनि विगतका अर्थ मन्त्रीहरूले जसरी सम्झौता नगर्ने आशा पलाएको थियो । तर, उनको कार्यक्षेत्रबाट ती निकायहरू झिकिँदा सन्देह उत्पन्न भएको हो । विशेषगरी बहालवाला अर्थ मन्त्री नेपाल राष्ट्र बैंकका गभर्नर हुँदा स्रोत नखुलेको सम्पत्ति रोक्ने कार्य गरेका थिए । त्यसबाट सम्पत्ति शुद्धीकरण हुन नदिन उनी दृढ रहेको सन्देश प्रवाहित भएको थियो । तर, सम्पत्ति शुद्धीकरणका पक्षमा विवादास्पद अभिव्यक्ति दिइसकेका प्रधानमन्त्री ओलीकै प्रत्यक्ष मातहतमा यी विभागहरू ल्याइँदा ठूला आर्थिक अपराधीले उन्मुक्ति पाउने सन्देह उत्पन्न हुनु पनि अस्वाभाविक होइन । 

प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित हुँदा ती विभागहरूलाई राजनीतिक प्रतिशोधमा प्रयोग गरिने सन्देह पनि उत्तिकै रहेको देखिन्छ भने सत्तारुढ दल र नेताहरू निकटका अपराधीले उन्मुक्ति पाउने सन्देह पनि बढ्छ । राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत रहेपछि गृह मन्त्रालय र नेपाल प्रहरी सूचना स्रोतबाट वञ्चित हुने पनि सम्भवना हुन्छ । देशमा संघीय शासन प्रणाली सुरु भइसकेको सन्दर्भमा गैरसरकारी संस्थाहरूको समन्वय र अनुगमन गर्ने समाज कल्याण परिषद्को त औचित्यमै पुनर्विचार गर्नुपर्ने र नीति निर्माणमा सल्लाह दिने सानो निकायमात्र राखे पुग्नेमा प्रधानमन्त्री कार्यालयमा सार्नुको खासै औचित्य देखिँदैन । बरु, संघीय मामिललाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको भए बढी उपयोगी हुनेथियो । संघ र केन्द्रका बीचमा समन्वय गर्न विभागीय मन्त्रीभन्दा प्रधानमन्त्री नै बढी जिम्मेवार हुनुपर्छ । 

यी विभागहरू कहाँ रहन्छन् भन्दा पनि बढी यिनको सञ्चालन र प्रयोग कसरी हुन्छ भन्ने महत्त्वपूर्ण हुन्छ । संसदीय प्रणालीमा प्रधानमन्त्री ’मन्त्रीहरूमध्ये एक’ मानिने भए पनि देशको प्रमुख कार्यकारी हो । मन्त्रिपरिषद्का सबै अधिकार व्यवहारतः प्रधानमन्त्रीमा निहित हुन्छ । प्रधानमन्त्रीसँग राय बाझिएमा मन्त्रीले पद त्याग गर्नुपर्छ । यसैले यी विभागलाई प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा ल्याउँदा शक्ति केन्द्रित गरियो भन्नुको कुनै तुक छैन । प्रधानमन्त्री ओलीलाई शंकाको सुविधा नदिनु न्यायोचित हुँदैन । तर, प्रधानमन्त्री कार्यालयमा थपिएको शक्ति राजनीतिक प्रतिशोध लिन, कृपापात्रलाई उन्मुक्ति दिन र गलत तत्वलाई संरक्षण गर्न प्रयोग हुनसक्नेमा भने विपक्षी दल, नागरिक समाज, सञ्चार जगतका साथै स्वयं प्रधानमन्त्री केपी ओली सजग रहनुपर्छ । कारण, अब यी निकायबाट भएका त्रुटि, कमजोरी र बदमासीका लागि सोझै प्रधानमन्त्री ओलीमाथि औँला जो ठडिनेछ । (बाह्रखरी)

प्राप्त प्रतिकृयाहरू

To Top