रुसका खेलाडीले ओलम्पिकको समापनमा आफ्नो राष्ट्रको झन्डा बोक्न नपाउने 

खेल फागुन १३ २०७४ ekhabarnepal
1222664567rus

 

एजेन्सी । रुसका खेलाडीले दक्षिण कोरियामा जारी विन्टर ओलम्पिकको समापनमा आफ्नो राष्ट्रको झन्डा बोक्न नपाउने भएका छन् । तटस्थ झण्डामुनी रहेर ओलम्पिक खेलिरहेका रुसका खेलाडीले आज हुने समापनको मार्चपासमा रुसको झन्डा बोक्न नपाउने बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाको प्योङचाङमा जारी विन्टर ओलम्पिक आज सकिँदैछ । तर, रुसमाथि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको प्रतिबन्ध कायम रहेको कारण तटस्थ झण्डामुनी रहेर प्रतिस्पर्धा गरिरहेका रुसका खेलाडीले मार्च पासमा झन्डा बोक्न नपाउने भएका हुन् । 

यो पटकको ओलम्पिकमा  रुसका १६९ खेलाडीले तटस्थ झण्डामुनी रहेर विन्टर ओलम्पिक खेलिरहेका छन् । जसमध्ये दुई रुसी खेलाडी डोपिङमा असफल भएका छन् । कुर्लर खेलमा कास्य जितेका एलेक्जेन्डर क्रूसेलनिटस्की र  बोबस्लेय खेलकी नाडेज्डा सर्गीभा डोपिङमा असफल भएका हुन्  । डोपिङमा असफल भएसँगै एलेक्जेन्डरको पदक समेत खोसिएको छ ।

यो पटक ओलम्पिकको झन्डामुनी रहेर सहभागिता जनाएको रुसले दुई स्वर्ण पदक जितेको छ । रुसकी १५ बर्षीय एलिना जागीतोभाले फिगर स्केटिङमा स्वर्ण जितेकी हुन् । यस्तै रुसका पुरुष  टिमले आइस हक्कीमा स्वर्ण जितेको छ । तटस्थ झण्डामुनी  रहेर ओलम्पिक खेलेका खेलाडीहरुले हालसम्म २ स्वर्ण ६  रजत र ९  कास्यसहित कुल १७ पदक जितेका छन् ।

गत मङ्सिरमा स्वीट्जरल्याण्डमा बसेको आइओसीको वैठकले रुसलाई विन्टर ओलम्पिकमा प्रतिबन्ध लगाएपछि रुसका खेलाडीले तटस्थ झण्डामुनी रहेर ओलम्पिक खेलेको हो । तर, प्रतिबन्धित शक्ति बर्धक औषधि डोपिङमा निर्दोष देखिएका १६९ खेलाडीलाई अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटीले विन्टर ओलम्पिक खेल्न अनुमति दिएको थियो ।

सन् २०१४ मा रुसको सोचीमा भएको विन्टर ओलम्पिकको क्रममा रुसी खेलाडीलाई राज्यस्तरबाटै प्रतिबन्धित औषधि प्रयोग गराईएको र डोपिङ परिक्षणमा समेत प्रमाण नष्ट गरिएको पाइएपछि आइओसीले रुसलाई प्रतिबन्ध लगाएको थियो ।

विन्टर ओलम्पिकको इतिहासमै सबैभन्दा चिसो मानिएको प्योङचाङ ओलम्पिकमा १५ खेलमा १०२ पदकको लागि ३ हजार बढी खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । हालसम्म ९२  स्वर्ण पदकको छिनोफानो भईसकेको छ ।

विन्टर ओलम्पिकको अन्तिम दिन दिनको खेल जारी रहँदा पदक तालिकामा नर्वेले अग्रता बनाइरहेको छ । नर्वेले १४ स्वर्ण, १४ रजत र ११  कास्यसहित कुल ३९ पदक जितेको छ । दोस्रो स्थानको जर्मनीले १४ स्वर्ण, १० रजत र ७ कास्य जित्दै कुल ३१ पदक जितेको छ ।

यस्तै पदक तालिकाको तेस्रो स्थानमा रहेको क्यानडाले ११ स्वर्ण, ८ रजत र १०  कास्यसहित कुल २९  पदक जितेको छ । चौथो स्थानको अमेरिकाले ९ स्वर्ण, ८ रजत र ६ कास्यसहित २३ पदक जित्दा नेदरल्याण्डले ८ स्वर्ण, ६ रजत र ६ कास्यसहित २० पदक जित्दै पाँचौं स्थान ओगटेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top