गुन्डा नाइके मनोजको हत्याले ल्याएको तरंग

बिचार फागुन ९ २०७४ . डी.आर.घिमिरे
Dsc05928


डी.आर.घिमिरे

बुधवार विहानै देखि मनोज पुन इन्काउन्टरमा मारिएको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सुखद र खुशीका अभिब्यक्तिको वाढीनै आयो । ठूलै पर्व आएजस्तो महसूस गरियो । देवदहमात्र हैन देशै भरि सुखद क्षणको अनुभूति भयो । मिडियाहरुले पनि यसका सम्भावित कोणहरुको खोजी गरेनन् । आम मानिसले अनुभूत गरेको सुखद पक्षलाई आत्मसात गर्नुको विकल्प थिएन शायद । बुधवार विहान सामाजिक सञ्जालमा देखिएका केही प्रतिनिधिमूलक प्रतिक्रिया यस्ता थिए ः

 

  •    अन्ततः अपराधको पोको मनोज पुन ढिलो भए पनि ढलेको छ । कमरेड दुर्गा र कमरेड बलुको घटना पूर्व नै यो अपराधी ढालिनु पर्ने पात्र थियो    -  विष्णु पन्थी  
     
  •    एउटा आतंकको समुल अन्त्य भएको छ । बधाई छ केपी सरकार र नेपाल प्रहरीलाई                                                                           - देवराज पोख्रेल

 

  •    फाल्गुन ७ गते मनोज पुन भारतको गोवामा समातिएको हल्ला । फाल्गुन ८ गते मनोज पुन समातिएको निराधार भन्दै हल्ला । फाल्गुन ९ गते मनोज पुन रुपन्देहीको देवदहमा प्रहरीसंगको दोहोरो झडपमा मृत्यु भएको समचार । जे होस हत्या,फिरौती लगायतका आतँङ्कले प्रताडित रुपन्देहीबासीले शान्तिको श्वास फेरेका छन । साथै पुनको दोहोरो झडपमा परेर मृत्यु नभएको भए पुनको अपराधकर्मसगँ जोडिएका अन्य पात्र र पाटाबारे थप बिषय खुल्न सक्थे होलान                                                                                                                                                                                                - प्रकाश डुम्रे

 

  •    एकाबिहानै सहिद दुर्गा तिवारी र बलु को हत्यारा मनोज पुन इन्काउन्टरमै ठोकिएछ्न । नेपाल प्रहरीलाई सलाम छ !                                       -लक्ष्मी केसी

 

  •    यतिबेला ‘गुण्डा नाइके फलानो प्रहरी इन्काउन्टरमा मारियो !’ भनेर लेख्न खुब मज्जा लाग्छ । यो समाजमा ‘गुण्डा पैदा गर्ने राजनीति र राजनीतिक दलले हो’ भनेर कसैले लेख्न सक्दैनन । जन्मिंदै  कोही पेस्तोल समातेर जन्मिंदैन । मनोज पुनको पनि विगत हेरियोस् । समाजमा अहिले पनि हजारौं मनोज पुन पालिंदै,हुर्काइंदै,प्रोत्साहन गरिंदै छन् । र तिनको लालन पालनको ठेक्का राजनीतिक दलले लिएका छन् ! हेमन्त गिरी

 

 
रुपन्देहीको लागि आतंकको पर्याय वनेको मनोज इन्काउन्टरमा मारिएपछि आएका अभिब्यक्ति स्वभाविक छन् । पछिल्लो पटक वलुको हत्या पश्चात् सिद्विचरण भट्टराइतर्फ तिर सोझिएको थियो । मनोजले केहीलाई फोन गरेर अव पालो सिद्विचरणको भनेको थियो ।


         यो कुरा थाहा पाएपछि मैले पनि सिद्विजीलाई भनेको थिएं–वांचेर मात्र हामीले केही गर्ने हो, धेरै आवेशमा र उत्तेजनामा आउने गर्नु हुंदैन । किनकि मलाई पत्रकारिताको हिसावले के थाहा थियो भने समाचार लेख्दा पनि त्यतिहदसम्म रिस्क लिनुपर्छ जुन हदसम्म ज्यूज्यानको सुरक्षा गर्न सकिन्छ । 


       अलिकता आवेश र उत्तेजना सिद्विजीका विशेषताभित्रै पर्दछन् । यो दुनियामा धेरै ब्यक्ति इमान्दार छैनन् । त्यसैले आफ्नो सुरक्षा आफैले गर्नुको विकल्प छैन । बलुको हत्या पश्चात् बुटवल प्रहरीको तालिम केन्द्रमा एउटा वैठक वसेको थियो । प्रशासन, प्रहरी, राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाको सो वैठकमा प्रहरी उपरिक्षक श्याम ज्ञवालीलाई मैले ब्यक्तिगत रुपमा पनि सिद्विजीको सुरक्षाकोवारेमा के गर्ने भनेर जिज्ञासा राखेको थिएं । उहांले ब्यवस्था गरौंला भन्नुभयो । पीएसओ राख्दा झन् अफ्टरो पर्ला भनेर त्यसो पनि नगरौं भन्ने सल्लाह भयो । 


        यस्ता धेरै पीडितहरुको जमात् छ । ब्यावसायीलाई रकम पठाइदिनुपर्ने आदेश दिन्थ्यो उसले । कसैले मोवाइल फेरेर वसेको स्थिति थियो । वास्तवमा सम्झदै शरीर सिरिङ्ग हुने अवस्था थियो । मैले यो प्रसङ्ग किन ल्याए भने यो समाचार सुन्दासाथ मैले पहिलोपल्ट सिद्विजीलाइनै फोन गरे । विहानै निलकण्ठजीको घरमा गएर आएं सवैजना खुशी छन् भन्नुभयो । उहां आफै पनि अव बांचिन्छ भन्ने निष्कर्षमा पुगेको अनुभूति गरें मैले ।
 सिद्विजीलाई एउटा प्रतिनिधिमूलक पात्रको रुपमा हेर्दा यो अवस्था रुपन्देहीका धेरैलाई थियो भन्ने वुझ्नुपर्छ । अव त्यस्ता धेरै पात्रहरुले आ–आफ्ना वेदनाहरु पोख्नेनै छन् ।


         यस अर्थमा पनि यो समाचारले सवैतिर सुःखद सन्देश प्रेषित गर्यो । जवकि मानव अधिकारको हिसावले एउटा ब्यक्तिको इन्काउन्टरमै पनि हत्या हुनु दुःखद पक्ष हो । गोली हान्नै परे घुंडा मुनी हान्ने  मान्यता छ । तर, दुष्ट्याइको हद नाघेपछि र क्रुरताको पराकाष्टा भएपछि यो अवस्था आउने रहेछ । एउटा ब्यक्ति जव दुष्कर्मतिर लाग्दछ त्यसपछि यतिसम्म आतंक मच्चाउन सक्छ भन्ने कुराको पनि यो एउटा उदाहरण हो ।


अव अलिकता सामाजिक सञ्जालमा आएका प्रतिक्रियाको चर्चा गरौं । लक्ष्मी केसीले नेपाल प्रहरीलाई सलाम प्रकट गर्नु भएको छ । वास्तवमा यो मुद्वा प्रहरीको लागि पनि टाउको दुखाईको विषय वनेको थियो ।


 हरेक पटक अपराधी पक्राउ गर्ने वाचा गर्ने तर नसक्ने स्थितिमा विश्वासमाथिनै प्रश्न उठ्दै थियो । त्यस मानेमा जे भयो त्यो शान्ति सुरक्षाको हिसावले, मुलुकमा अमनचयन कायम गर्ने हिसावले र नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने हिसावले पनि प्रशंसनीय काम भएको छ । यसवाट प्रहरीप्रतिको भरोसा र विश्वास जागृत भएको छ ।


रुपन्देही पत्रकार महासंघका सदस्य प्रकाश डुम्रेले एक दुइदिन अघिदेखि वजारमा आएका हल्लाको कुरालाई जोडेर रुपन्देहीबासीले शान्तिको श्वास फेरेको विश्वास प्रकट गर्नु भएको छ ।  यद्यपि उहांले पुःनको दोहोरो झडपमा परेर मृत्यु नभएको भए पःुनको अपराधकर्मसगँ जोडिएका अन्य पात्र र पाटाबारे थप बिषय खुल्न सक्थे होलान् भन्ने प्रश्न पनि उठाउनु भएको छ । यो तर्क आफैमा स्वभाविक हो । किनकि हेमन्त गिरीले पुःनहरुलाई जन्माउने राजनीतिक दलहरुले हो भनेर आक्रोस ब्यक्त गरेको पाइन्छ । यसलाई तथ्यले पुष्टि गर्ने कुरा बांकीनै छ, तर, समाजमा यो छाप परेको यथार्थ हो ।


गिरीले फेसवुकमा पोष्ट गर्दै भन्नु भएको छ – यो समाजमा ‘गुण्डा पैदा गर्ने राजनीति र राजनीतिक दलले हो’ भनेर कसैले लेख्न सक्दैनन् । जन्मिंदै कोही पेस्तोल समातेर जन्मिंदैन । मनोज पुनको पनि विगत हेरियोस् । समाजमा अहिले पनि हजारौं मनोज पुन पालिंदै,हुर्काइंदै, प्रोत्साहन गरिंदै छन् । र तिनको लालन पालनको ठेक्का राजनीतिक दलले लिएका छन् !


निश्चयनै विगत हेर्दा यसलाई अस्विकार गर्न सकिन्न । तर, अव यो प्रवृत्तिको समूल अन्त्य जरुरी छ । अव पनि कसैले गुण्डागर्दीको सहयोगमा राजनीति गर्छु भन्छ भने जो कसैको राजनीतिक भविष्य रहने छैन । कम्तिमा यो अवस्था ल्याउनु जरुरी छ ।
देवराज पोख्रेलले भनेजस्तै रुपन्देहीको हकमा एउटा आतंकको समुल अन्त्य भएको छ । यो कुरा आतंकको पिडामा रहेका र बांचेकाहरुलाई महसूस भएको छ । वास्तवमा केपी ओलीको सरकारका लागि यो कुरा अझै वढी सुखद छ । युवा संघका नेता दुर्गा तिवारीको हत्या पश्चात् दुर्गाको घरमा आएर ओलीले अपराधीलाई कारवाही गर्ने विश्वास दिलाएका कारण पनि यसको विशेष महत्व छ । यो एउटा शुभ संकेत हो सरकारका लागि ।


आफूलाई मलेसिया रहेको प्रचार गरेर आइरहेको मनोज कहां र कसरि पक्राउ पर्यो ? आजसम्म ऊ कहां थियो ? मलेसिया वा भारतको गोवा ? यही थियो भने आजसम्म किन सुरक्षित थियो ? वाहिर थियो भने ऊ कहिले नेपाल आयो ? यी सवै प्रश्नको उत्तर अव प्रहरीसंगै छ भनेर वुझ्नुको विकल्प छैन । सम्भवतः केही दिनमै प्रहरीले पत्रकार सम्मेलनमार्फत् यी सवै कुरालाई सार्वजनिक गर्ला ।


तर कुरा के हो भने उसको सम्वन्ध दिल्लीको सुल्तानपुरीका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग रहेको अनुमान यस अघिनै गदै आइएको थियो । जोगाले निश्चित रकम लिएर नेपालमा हतियार बिक्री गर्दै आएको पनि अनुमान थियो ।  
जोगा मुम्बई अन्डरवर्ल्डका डन सन्तोष सेट्टी समूहका विश्वास पात्र रहेको र, सेट्टी दाउद इब्राहिम र छोटा राजन समूहसँग निकट रहँदै थियो भन्ने पनि अनुमान थियो । यसको अर्थ ऊ ठूलै आपराधिक समूहसंग संलग्न रहेको थियो भन्ने अनुमान लगाउन सकिन्छ ।
डुम्रेले भनेजस्तै मनोजका आसेपासेहरुको वा सहयोगीहरुको तथ्य अव शायदै वाहिर आउला । यदि कसैले उसको संरक्षण गरेको थियो भनेपनि त्यो अध्याय समाप्त भएको छ । कसैगरि प्रमाण फेला पर्न सक्यो भने त्यो अर्को सुखद पक्ष मानिने छ । प्रहरीले यसलाई कसरी अनुसन्धान गर्ला त्यो अहिलेनै भन्नु हतारो होला ।


 तैपनि प्रहरीको मेहनतका कारणले प्राप्त सफलता र सुझवुझपूर्ण कारवाहीलाई सम्मान गर्नैपर्छ । यसले मृत्युवरण गरेकालाई पनि शान्ति मिलेको छ र सम्भावित मृत्युवरणको सूचीमा रहेकालाई पनि वांच्नुको सार्थकता भएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top