सरकारले गर्नुपर्ने प्राथमिक काम

बिचार फागुन ८ २०७४ .
Dsc05928

डी.आर.घिमिरे
अन्तत ः ढिलै भएपनि सरकार गठन भएको छ । सरकारले पूर्ण आकार लिनका लागि अझै केही समय लाग्ला तथापि त्यो विश्वास जागृत भएको छ । यतिवेला सरकारकावारेमा धेरै भन्नुपर्ने कुरा केही छैन तर, पछिल्लो कालखण्डमा सर्वाधिक रुचाइएको सरकार हुनुको कारणले यसप्रति केही विशिष्ट अपेक्षा राखिएको छ । शायद ०४६ सालपछिको अन्तरिम सरकार र मनमोहनको सरकार पछि जनतामा निरासावाहेक केही पनि नभएको अवस्थामा यसप्रति आशा, विश्वास र अपेक्षा हुनु यो सरकारको लागि सवैभन्दा ठूलो उपलब्धि हो भने यो विश्वास आफैमा चुनौति पनि हो । कुनै पनि सरकारले जनतामा आशा जगाउन नसकेको अवस्थामा पछिल्लो पटक ओली सरकारले खासगरि भारतीय नाकावन्दीको अवस्थामा जुन विश्वास  आर्जन गर्न सक्यो त्यसकै जगमा यो सरकार वनेको छ र त्यसै रुपमा वुझ्ने बुझाउने काम पनि भइरहेको छ ।


यो सरकारवाट ज्यादा अपेक्षा गरिएका कारण निरासा पनि छिटै उत्पन्न हुन सक्छ एक अर्थमा । तथापि काम गर्नका लागि धेरै अवसरहरु छन् जसलाई उपयोग गर्न सकियो भने आशातीत परिणाम प्राप्त गर्न सकिन्छ । यो सरकारले सवैभन्दा ठूलो कुरा विश्वास जित्नु पर्नेछ ।  विश्वास कस्तो भने जनतामा जुन प्रभाव छ त्यस अनुरुप काम गर्दैछ भन्ने कुराको सन्देश दिनु पर्नेछ । अर्थात् यो एउटा मनोवैज्ञानिक प्रभाव पार्न पहिलो चरणमा सकियो भने त्यसले जवरजस्त जनमत सृजना गर्नेछ ।

राजनीतिशास्त्रीहरुले राष्ट्रनिर्माणका सन्दर्भमा के भन्ने गर्दछन् भने ‘आफू वसेको राजनीतिक प्रणालीप्रति जनतामा निष्ठा जगाउनु पर्दछ वा जाग्नु पर्दछ , सामाजिक ऐक्यवद्वताको भावना जगाउनु पर्दछ , समाजका परस्पर विरोधी र विविधतापूर्ण तह र तप्कामा सामुदायिक भावना जागृत गराउनु पर्दछ , विभिन्न जाति र धर्मावलम्वीका जनतामा साझा पहिचान र साझा स्वार्थको भावना विकसित हुनु पर्दछ’ । तर, हामीकहां यसको ठिक उल्टो भयो । त्यसैले यो काममा हामी पनि लाग्नुपर्ने छ ।
सम्भवतः यसै कुरालाई दृष्टिगत गरेर होला ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले एक पटक हैन धेरै पटक लुम्बिनी, राप्ती र भेरीका बासिन्दाबीच साझा मनोविज्ञानको विकास गरिने कुरा वताउदै आएका छन् । आञ्चलिक भावनाले काम गरेको अवस्थामा यो अभिब्यक्ति सुझवुझपूर्णनै देखिन्छ । यो तत्व राष्ट्रनिर्माणका लागि अनिवार्य शर्त हो र यसलाई केन्द्र र हरेक प्रादेशिक सरकारले आत्मसात गर्नै पर्दछ । 


यसको प्रारम्भमा स्वच्छ छवि भएका ब्यक्तिको सहभागितामा मन्त्रिपरिषदको गठन पहिलो सर्त हो । दुइ दशकको वीचमा कतिपय ब्यक्तिको एउटा छवि निर्माण भएको छ । जसअनुसार केही विकासे नेता भएका छन् । केही भ्रष्टको रुपमा परिचित छन् । केही इमान्दारमा दरिएका छन् । केही असाध्यै सोझा देखिएका छन् र केही आदर्शवादीको रुपमा स्थापित छन् । सामान्यत ः भ्रष्टको रुपमा परिचित भएकावाहेकलाई अस्वीकार गर्न सकिन्न । तर, अहिलेको खांचो विकासे ब्यक्तिको हो । विकासकावारेमा स्पष्ट दृष्टिकोण भएको र कर्मचारीले जता घुमायो त्यतै नघुम्ने दृढ इच्छा शक्ति भएको मन्त्री अहिलेको आवश्यकता हो । त्यस्तै अवसर नपाएर आफ्नो भूमिका देखाउन नपाएकाहरु पनि प्रसस्तै छन् । जसलाई अनुभवी र परिपक्क ब्यक्तिको संगतले उर्जा प्राप्त हुन सक्दछ । कुनै ब्यक्ति आफैमा जानकार नहुनु अपराध हैन तर जानेका ब्यक्तिवाट सल्लाह नलिनु र लिन नखोज्नु अनुचित मात्र हैन असफलताको मुख्य कारक हुन जान्छ ।  


यो सरकार संघीय गणतन्त्र नेपालको कार्यान्वयन गर्ने पहिलो सरकार भएकोले संघीयताको कार्यान्वयनलाई संस्थागत गर्नु र आकार दिनु पर्नेछ । यही सरकारले निर्माण गर्ने संस्थागत संरचनालेनै संघीयताको भविष्य निर्धारण गर्ने भएकोले कैयन् नजिरहरुको स्थापना गर्नुपर्ने छ । सवै कुरा कानुनमा अभिलेख हुदैनन् । त्यसैले यही सरकारले स्थापित गर्ने मूल्य मान्यताले वैधता प्राप्त गर्ने छन् । त्यसवाहेक लोकतन्त्र आफैमा सुसंस्कृत सभ्यता हो । त्यस अर्थमा केही सस्कारको जग वसाल्नु पर्दछ । राजनीतिमा संस्कारको ठूलै महत्व हुन्छ । इतिहासलाई हेर्दा दोश्रो विश्वयुद्व पश्चात् राज्यहरुको अत्यधिक उदय भएपछि पुराना सिद्वान्तहरु अपर्याप्त भएकोले राजनीतिक संस्कारको प्रतिपादन भएको पाइन्छ ।


एकजना विद्वानको भनाइलाई सापटी लिने हो भने राजनीतिक संस्कार धारणा, विश्वास, र संवेदनाहरुको यौटा यस्तो समूह हो जसले राजनीतिक प्रक्रियालाई नियमितता प्रदान गर्नुका साथै राजनीतिक प्रणालीमा हुने आचरणलाई सञ्चालन गर्न अन्तरनीहित नियम र परिकल्पना प्रदान गर्दछ । यस कुरामा हामी पनि सम्वेदनशील हुनै पर्दछ । अवको सरकारले त्यस्ता आचरणलाई स्थापित गर्न जरुरी छ । हामीकहां परिश्रमी ब्यक्तिलाई सम्मान गरिदैन । टाइसुट लगाउनेका कुरा सहजै सुनिन्छ । उत्पादन  र सफाईको क्षेत्रमा लाग्नेलाई हतोत्साहित गरिन्छ । अथवा कामकाजी संस्कृतिलाई हेलो होंचो गरिन्छ । सम्पत्ती धेरै भएकोलाई सम्मान गर्ने र कमजोरलाई दुत्कारिन्छ । भ्रष्टाचारीलाई मान गरिन्छ र इमान्दारलाई अपमान गरिन्छ । यो हाम्रो संस्कार भएको छ । हामीले यसलाई हटाएर यसको ठिक उल्टो काम नगर्ने ठालुवादलाई लज्जावोध हुने वातावरण वनाउन आवश्यक छ ।  


यद्यपि यसको अर्को पाटो पनि छ । त्यो के भने प्रसस्त पूंजीवाला छ भने त्यसलाई पनि दुत्कारिन्छ । हामीले भनेको समृद्विका लागि पूंजीको जरुरी छ । धेरै पूजी भएकोलाई, धेरै कर तिर्नेलाई वा रोजगारी सृजना गर्नेलाई सम्मान गर्ने वातावरण पनि वनाउन जरुरी छ । जनताको पूँजी लगानी गर्ने वातावरण वनाएर वा आवश्यकता अनुसार विदेशी लगानी भित्राएर मात्र समृद्विको सपना पूरा हुन सक्छ । त्यसैले हरेक प्रदेशका सरकारले,स्थानीय सरकारले र केन्द्र सरकारले पनि आफ्ना नागरिकलाई सार्वजनिक आहृान गरि लगानीको वातावरण वनाउन जरुरी छ । अथवा पूजीवालालाई रातो कार्पेट विछाएर स्वाथत गर्नुपर्ने छ । आखिरी देशमा खर्च बढ्दो छ, राष्ट्रिय ढुकुटी रित्तिने क्रममा छ भने आम्दानीका श्रोतहरुत खोज्नै पर्छ । 
यी र यस्ता यावत् कामहरुका लागि सवैभन्दा पहिले सरकारमा अनिश्चय र आशंका हट्नु पर्दछ । नेकपा एमाले र माओवादी केन्द्रकावीचमा देखिएका कतिपय अवस्थाले संसय पैदा गरेको पाइन्छ । पहिलो दिन मन्त्रिपरिषद्को गठन गर्दा केही अमिल्दो अवस्था देखियो । दुवै पार्टीका नेता संलग्न भएर सरकार गठन हुनुपर्नेमा त्यस्तो भएन । दुइ पार्टीकावीच सैद्धान्तिक विमति हो या पदीय भागवण्डामा कुरा नमिलेको हो ? यो प्रश्नको उत्तर जनताले पाएनन् । यदि सैद्धान्तिक मतभेदहरू छन् भन्ने लाग्छ भने तिनको टुंगो लाग्नै पर्दछ । अन्यथा विसङ्गति आउँने निश्चित छ । त्यसैले पर्याप्त गृहकार्य गर्ने परम्परालाई अवलम्वन गर्न जरुरी छ ।


नेपाली जनता वडो सोझा छन् । धेरै काम गर्नुभन्दा नराम्रो काम नगरे मात्र पनि चित्त वुझाउने गर्दछन् । तर अवको हकमा त्यतिले मात्र सुख पाइने अवस्था छैन । केही गर्नुपर्ने देखिन्छ । विगतमा ओली सरकारवाटै शुरु भएका काम  हुन सकेपनि ठूलो उपलब्धी मानिने छ । जस्तो कि उत्तरतर्फका राजमार्ग र रेलमार्ग यथाशीघ्र बनाउनुपर्छ । चीनको केरुङसम्म आइपुग्ने रेलमार्गलाई ५ वर्षभित्र काठमाडांै हँुदै लुम्बिनीसम्म पुर्याउनुपर्छ । जलविद्युत् योजनाहरूको निर्माण गरि लोडसेडिङ्ग मुक्त नेपाल वनाई छिमेकी मुलुकमा निर्यात गर्नुपर्दछ । कुनै पनि योजनालाई समयमै सम्पन्न गर्ने र त्यसको गुणस्तरलाई ग्यारेण्टी गर्ने संयन्त्र वनाइनु पर्दछ । प्राविधिक शिक्षामा जोड दिदै स्वास्थ्यमा राज्यको लगानी वढाउनु पर्दछ । एउटा घरमा एक जनाले काम गरेर ५ जनालाई पाल्ने अवस्थाको अन्त्य गर्नु पनि उत्तिकै आवश्यक छ । भ्रष्टाचार र सुशासनमा शून्य सहनशीलताको नीति अपनाउनुपर्छ । 


यसवाहेक पर्याप्त रोजगारी सृजना गर्ने र विदेशमा जाने युवालाई स्वरोजगार सृजना गरि स्वदेश फर्कने वातावरण वनाउनु पर्छ । विदेशमा रहेका ४० लाख नेपालीलाई फर्काउने कुरा सहज छैन तर, परनिर्भरतालाई कम गर्ने विकल्प त्यो भन्दा अरु हुनै सक्दैन । कामको सम्मान गर्ने र कामका आधारमा ठूलो सानो हुने मनोवृत्तिलाई अन्त्य गर्ने हो भने यो सवै गर्न सकिन्छ । प्रधानमन्त्री भए लगत्तै दुई वर्षभित्र प्रत्येक गाउँपालिका र नगरपालिकामा सीटीईभीटीबाट मान्यताप्राप्त स्तरीय प्राविधिक शिक्षालय स्थापना गरिने उद्घोष सकारात्मक छ । यसवाट ब्यापार घाटालाई पनि कम गर्न सकिन्छ । तरकारी, फलफूल र खाद्यान्नमा मात्र आत्मनिर्भर हुने हो भने वार्षिक ५० अर्व विदेशिने पूजी रोकिन सक्छ । यो भनेको ठूलै आर्थिक क्रान्ति हो ।
 


 

प्राप्त प्रतिकृयाहरू

To Top