सरकारले बजेट खर्च गर्न नसकेपछि ,३०३ अर्ब १७ करोड रुपैयाँ  सरकारी ढुकुटीमा जम्मा

अर्थ फागुन ४ २०७४ ekhabarnepal
Download


काठमाडौ फागुन ४,  
 सरकारले बजेट खर्च गर्न नसकेपछि ढुकुटीमा जम्मा हुने क्रम बढेको छ । चालू आर्थिक वर्षको पुससम्ममा सरकारी ढुकुटीमा ३०३ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।सरकारी खर्च न्यून भएकाले ०७४ पुस मसान्तसम्ममा सरकारी ढुकुटीमा ३०३ अर्ब १७ करोड नगद मौज्दात रहेको हो । यो रकम सरकारका स्थानीय तहको खातामा जम्मा भएको रकम ९३ अर्ब ५ करोड रुपैयाँसमेत समावेस गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पुससम्ममा नगद प्रवाहमा आधारित कूल सरकारी खर्च ३६४ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च २४८ अर्ब २० करोड रुपैयाँ थियो । चालू आवको सो अवधीमा चालू खर्च ३०३ अर्ब ३३ करोड रुपैयाँ पुगेकोे छ । गत आवको सोही अवधिमा यस्तो खर्च १९६ अर्ब ४७ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च ३८ प्रतिशतले बढेर ४२ अर्ब ७२ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च ३० अर्ब ९७ करोड भएको थियो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४० अर्ब ५४ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४२ अर्ब २३ करोड रुपैयाँ थियो । चालू आवको छ महिनामा खुद ट्रान्सफर आय १।७ प्रतिशतले घटेर ३९३ अर्ब ३४ करोडमा सीमित भएकोे छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि १।८ प्रतिशतले घटेको छ । गत आवको ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९।९ प्रतिशतले घटेको थियो ।

चालू आर्थिक वर्षको ६ महिनासम्ममा ६ अर्ब ६६ करोड रुपैयाँ सोधनान्तर घाटा छ । गत आवको छ महिनामा ४५ अर्बले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ६ अर्ब ६६ करोडले घाटामा रहेको हो । गत आवको छ महिनामा १ अर्ब ८ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ७५ अर्ब ७१ करोडले घाटामा छ ।

चालू आवको पुससम्ममा पुँजीगत ट्रान्सफर १० अर्ब ७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १४ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ९३ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ३९ करोड थियो ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जाको विस्तार निक्षेप वृद्धिको तुलनामा उच्च रहँदै आएको छ । विप्रेषण आप्रवाहमा आएको कमीका कारण निक्षेप वृद्धि सामान्य रहने देखिएको छ । निक्षेप परिचालनको अवस्थालाई दृष्टिगत गरी कर्जा प्रवाह गरिएमा हाल देखिएको वित्तीय असन्तुलन आगामी दिनमा सुधार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू आवको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६।९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११।९ प्रतिशतले बढेको छ ।

२०७३ पुसमा ट्रेजरी विलको भारित औसत ब्याजदर १।७४ प्रतिशत रहेकोमा २०७४ पुसमा ५।८२ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ पुसको २।७१ प्रतिशतको तुलनामा २०७४ पुसमा ४।४० प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ पुसको ७।१ प्रतिशतको तुलनामा २०७४ पुसमा ९।९४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top