समानस्तरका बैंकहरुमा अब्बल बन्ने हाम्रो योजना ः महेश प्रसाद काफ्ले

अन्तरवार्ता फागुन ३ २०७४ .
Img20180214100859


पोखरामा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक बुटवलको सेवा विकास वैंक र पोखराको कामना विकास वैंक मर्ज भएर वनेको वैंक हो । राष्टिय स्तरको विकास वैंक वन्नका लागि अढाई अर्व पूजी आवश्यक हुने भएपछि मर्ज भएको यो वैंकले निकट भविष्यमै काठमाण्डौवाट कारोवार गर्दैछ । प्रस्तुत छ एकीकृत कारोवार पश्चात् वैंकको अवस्था र अन्य विषयमा केन्द्रीत रहेर सो वैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेसंग ई खवर नेपालले गरेको कुराकानी । 


कामना सेवाको बैंकको वित्तीय अवस्थाबारे वताइदिनुस न ?


तीन अर्व अधिकृत पूंजी र २ अर्व ६ करोड चुक्ता पूंजी रहेको कामना सेवा विकास बैंकको पौष मसान्त सम्मको निक्षेप १३ अर्व ८७ करोड ४२ लाख रहेको छ भने कर्जा लगानी १२ अर्व ३९ करोड ११ लाख रहेको छ  ।  सो अवधिमा बैंकले २१ करोड ३७ लाख रुपैया संचालन मूनाफा आर्जन गरेको छ । हाम्रो १५ प्रतिसतका दरले हकप्रद शेयर जारी भइरहेको छ । यस पछि बैंकको चूक्तापूंजी २ अर्व ३७ करोडको हाराहारीमा पुग्ने छ । गत वर्षको मुनाफाबाट वोनश शेयर वितरण पश्चात् बैंकको चूक्तापूजी नेपाल राष्ट्र बैंकले तोके बमोजिम २ अर्व ५० करोड भन्दा अधिकनै हुनेछ ।

बैंंकको चुनौती र योजना हरु कस्ता कस्ता रहेका छन ?


मर्ज पछिको मुख्य प्राथमिकता तथा चुनौती नै कर्मचारी ब्यवस्थापनको विषय हुने गरेको छ । तर मैले त्यस विषयमा कुनै चुनौती सामना गर्नु नै परेन भन्दा पनि हुन्छ । अव हामीहरु पूर्णरुपमा ब्यवसाय विस्तारमा केन्द्रीत  भइरहेका छौं । समानस्तरका बैंकहरुमा अब्बल बन्ने हाम्रो योजना रहेको छ । यसै महिनामा काठमाडौंको ज्ञानेश्वर स्थित आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालय र चालु आ.व. भित्र देशका विभिन्न स्थानहरुमा २० वटा शाखा कार्यालयहरु स्थापना गरेर देशब्यापी नेटवर्क विस्तार गर्दै अधिबढने योजना रहेको छ । कर्मचारीहरुलाई समयानुकुल दक्षता अभिबृिद्घ गर्न तालिम, सेमिनार, गोष्ठीमा सहभागि गराउदै लैजाने, संस्थागत सुशासनमा विशेष ध्यान दिने, तत्काल पोखरा, बुटवल र नारायणगढमा क्षेत्रिय कार्यालय स्थापनाको पहल गर्ने, नियमनकारी निकायाबाट जारी नीति निर्देशनको पूर्ण रुपमा पालना गर्ने गर्दै, बैकिङ्ग सेवालाई ग्राहकमैत्री वनाउदै कामना सेवा विकास बैंकको ब्रान्डलाई अझै विस्तार गर्दै जाने योजना मेरो प्राथमिकतामा रहेको छ । पुंजीको आधारमा बैंक सवल भइसकेकोले विशेषगरी हाइड्रो पावर प्रोजेक्टमा कन्र्सोटियम,उत्पादनमुलक क्षेत्र र ठुला ठुला परियोजनामा बैंक र देशको प्राथमिकता र आवश्यकता अनुसार कर्जा लगानी वढाउदै जाने साथै ग्रामिण तथा शहरोन्मुख क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह गर्दै हरेक नेपालीको घर दैलोमा कामना सेवा विकास बैंकको सेवा विस्तार गर्ने योजना रहेकोछ ।

केन्द्रीय कार्यालय उपत्यका बाहिरै राखेर पनि बैंकले राम्रो ब्यवसाय गर्न सक्थ्यो किन काठमाडौंनै सर्ने योजना बनाउनुभयो ?


मैले अघिनै भनिसके हाम्रो बैंक काठमाडौं ३०,ज्ञानेश्वर स्थित आफ्नै भवनमा अत्याधुनिक सुविधा सहित सेवा प्रदान गर्ने गरि जर्मको गरिहेका छौं । पूंजीगत हिसावमा बैंक सवल भइसकेको र राजधानीमा रहेर ठुला ठुला परियोजनाहरुमा लगानी गर्ने क्षमता राख्ने भएको तथा अधिकांश ठुला ब्यवसायहरु काठमाडौं केन्द्रीत भएकोले केन्द्रीय कार्यालय काठमाडौं स्थानान्तरण गर्न लागिएको हो । कुल कारोबारकै करिब ६० प्रतिसत भन्दा वढि कारोबार राजधानी केन्द्रीत भएकोले पनि काठमाडौंमा बैंकको उपस्थिती अनिवार्य जस्तै हुन आएको हो । तथापि पोखरा र बुटवलमा हाम्रा अधिकाशं शाखा कार्यालयहरु रहेकोले यि क्षेत्रहरुमा हाम्रो क्षेत्रिय कार्यालयहरु रहन्छन जस्ले गर्दा हाम्रा सेवाग्राहीले सधै जस्तै सहज बैकिङ्ग सुविधा प्राप्त गरिरहनेछन ।

बैकिङ्ग जगत तरलता लगायत अन्य समस्याबाट गुज्रिरहेका हल्ला हरु छन नि ?


बजारमा प्रकाशित हल्लाहरुलाई मात्र आधार मान्ने हो भने तपाईले भनेकोमा केही सहमत हुन सकिएला तर बजारमा भने जस्तो अवस्था बैकिङ्ग जगतमा छैन खासगरि विकास बैंकहरुमा तरलता समस्या वा लगानी योग्य रकमको अभाव छ भन्ने मलाई लाग्दैन । उपयुक्त र सहि प्रोजेक्ट लिएर आउनु भयो भने हामी ग्राहकहरुको आवश्यकता पुरा गर्न तत्पर छौं । सामान्यरुपमा ब्याजदरमा बृद्घि भएकै हो विस्तारै त्योपनि कम हुदै जाला । अन्य समस्याहरुमा खासगरि उत्पादनमूलक क्षेत्रमा र सहि प्रोजेक्टमा लगानी गर्न सकिने क्षेत्रहरुको कमि पहिल्यै देखिनै थियो त्यो हाल सम्म पनि यथावत रहेको छ । लगानीको उपयुक्त वातावरण सृजना गरेर ब्यवशायीहरुलाई ब्यवशायिक वातावरण प्रदान गर्न नसक्नु सरकारको कमजोरी हो ।
 

तरलता समस्याका कारण र समाधान के के हुन त ?
हाल देशको अवस्थालाई मध्यनजर गर्दा हाम्रो अर्थतन्त रेमिटान्समा निर्भर रहेको छ । रेमिटान्सको घट्दो बृद्घीदर, विलासिताका वस्तु हरुमा हुने अधिक खर्चवाट उत्पन्न भएको उच्च ब्यापार घाटा, चुनाबमा खर्च भएको पैसा बैकिङ्ग च्यानलमा आउन नसक्नु, स्थिर सरकार नहुनु, पूजिगत वजेट खर्च हुन नसक्नाले राज्यको ढुकुटीमा पैसा गएर बस्नुनै तरलता समस्याका कारकहरु हुन । यसका अलावा बैंकहरुको पूंजीबृद्घीको कारणले शेयरधनीहरुलाई प्रदान गर्ने रिर्टन कम नहोस भनेर पनि  कर्जा प्रवाह अत्याधिक बढाउन खोज्नुको  एउटा कारण हो । 
सरकारले पूंजीगत खर्च बढाउने, रेमिटान्स मार्फत स्वदेशमा प्राप्त रकमलाई विलासिताका वस्तुहरुमा खर्च नगरी उत्पादनमुलक क्षेत्रहरुमा लगाउन विभिन्न प्रोत्साहनका कार्यक्रमहरु संचालन गर्नुपर्ने देखिन्छ । यस्तो अवस्थामा बैंकहरुले संयमित भएर चल्नु आवश्यक हुन्छ । कर्जा प्रवाहमा केहि कडाई गर्दै सिसिडी अनुपात भित्रै रहेर कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले तरलता समाधानको लागि विभिन्न उपायहरु अवलम्वन गरिरहेको छ । केन्द्रीय तथा प्रादेशिक सरकारको गठन पश्चात आर्थिक अवस्था चलायमान हुने र स्थानिय तहको बजेट समेत विकास निर्माणमा जाने हुदा केही समय पछि बजारको अवस्था फेरी सामान्य तर्फ उन्मुख हुनेछ ।

 चालु आ.व.को दोश्रो त्रैमासिक रिपोर्टपनि बैंकहरुको सोचे जस्तो आएन त ?


पक्कैपनि बैंकहरुको दोश्रो त्रैमास पनि खासै उत्साहप्रद हुन त सकेन तर पहिलो त्रैमासको तुलनामा धेरै राम्रो भएको मान्न सकिन्छ । हाल कल खातामा दिनुपर्ने ब्याजदर अन्य वचत खाताको तल्लो ब्याजदर सरह हुनुपर्ने कारणले गर्दा कष्ट अफ फण्ड एक्कासी वढन गएको हो यसका साथै स्प्रेडदर समेत तीनवटै स्तरका वित्तीय संस्थाहरुलाई एउटै राखिदिएपछि झन समस्या भएको छ । विकास बैंक र फाइनान्सको मुख्य आम्दानीनै ब्याजदर अन्तर हो । आम्दानीका अन्य बाटाहरु कम भएका विकास बैंक र फाइनान्सहरुको समेत स्प्रेडदर बैंक सरहकै कायम गर्दा नाफा केही कमि भएकै हो । अर्को एउटा सत्यता के पनि हो भने बैंकहरुले विगतको अनुपातमा शेयरधनीहरुलाई रिर्टन दिने अवस्था अवका दिनमा छैन ।
 

नेपाल राष्ट्र बैंकले त अझैपनि बैंकहरु धेरै भए भन्छ त ?


नेपाल राष्ट्र बैंकले जुन हिसाबमा संस्थाहरु घटछन भन्ने आंकलनका साथ मर्जर सम्वन्धी नीति ल्याएको थियो त्यस हिसावमा संस्थाहरु नघटेको सहि हो । अधिकाशं संस्थाहरु मर्जमा गएर पूंजी पुरयाउलान भन्ने सोच राखेको राष्ट्र बैंकलाई धेरैजसो संस्थाहरुले हकप्रद मार्फत पुंजी पु(याए पछि अझैपनि बैंकहरु धेरै भए भन्ने लागेको हुनुपर्छ । तर पनि ग्रामिण क्षेत्रहरुका धेरै जनताहरु अझैपनि बैकिङ्गबाट बन्चित रहेका छन । विस्तारै पूर्वाधारको विकास संगसगै जव बैंकहरु ग्रामिण क्षेत्र तर्फ केन्द्रीत हुदै जान्छन तव अर्थतन्त्र अझै विकास र चलायमान हुन्छ जस्ले गर्दा बैंकहरुको एक्सेस बृद्घि हुन्छ । संख्यात्मकरुपमा कस्दै जानु भन्दा ग्रामिण इलाका तर्फ जाउ एक्सेस बढाउ भन्नुपर्छ भन्ने मलाई लाग्छ ।
 

अन्तमा केही भन्नु छ ?


कामना सेवा विकास बैंक एक सवल, स्वस्थ, दरिलो र देश भर शाखा रहेको विश्वसनिय बैंकको रुपमा स्थापित भइसकेको छ । आजको दिन सम्म आउदा हाम्रा ग्राहक वर्ग, शुभचिन्तक जुन विश्वास र माया हामीहरुलाई दिइरहनु भएको छ त्यसैको निरन्तरताको अपेक्षा गर्दै तपाई सम्पूर्णको सच्चा वित्तीय सहयात्री बनेर तपाइहरुको उन्नती प्रगतीमा सहयोग गर्ने वाचा गर्दै बैकिङ्ग सेवामा हामीहरुनै तपाईको प्रथम रोजाईमा पर्न सकियोस भन्दै सेवा गर्ने अठोट सहित आर्थिक तथा बैंकिङ्ग विकासमा यस पत्रिकाले खेलेको भुमिकाको विशेष प्रशंसा समेत गर्न चाहान्छु । यहांहरु सम्पूर्णको जीवनमा हाम्रो बैकिङ्ग सेवाले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सकोस भन्ने कामना समेत गर्दछु ।

प्राप्त प्रतिकृयाहरू

To Top