पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त 

राजनीति फागुन ३ २०७४ .
Shankar pokh

 


बुटवल, फागुन २ । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता पोखरेल चुनाव अघि नै यस प्रदेशको मुख्यमन्त्रीमा एक्ला दाबेदार थिए ।

उनलाई प्रदेश प्रमुख उमाकान्त झाले बुधबार अपरान्ह मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको धारा १६८ को उपधारा १ अनुसार पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले बुधबारै पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार दवाडीले मुख्यमन्त्री नियुक्ती गरेको प्रेस नोट पत्रकारहरुलाई वितरण गरेका थिए ।

एमाले र माओवादी केन्द्रले पोखरेलको नेतृत्वमा सरकार गठन गर्न माघ २८ गते आइतबार दाबी प्रस्तुत गरेका थिए । उनी वाम गठबन्धनका साझा उम्मेदवार थिए । उनलाई प्रदेशसभाको चुनाव अगावै नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीको सार्वजनिक घोषणा गरेका थिए । नेता पोखरेल दाङको क्षेत्र नं. २ को प्रदेशसभा १ बाट भारी मतले निर्वाचित भएका हुन् ।

उनलाई मुख्यमन्त्री प्रदेश प्रमुखको कार्यालयमा वाम गठबन्धनका नेताहरुले संयुक्त रुपमा दाबी प्रस्तुत गरेको चार दिनपछि प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ८७ सदस्यीय प्रदेशसभामा एमाले–माओवादीको प्रष्ट बहुमत छ । एमालेका ४१ र माओवादीका २० गरी ६१ सांसद वाम गठबन्धनकै छन् ।

नेपालको बामपन्थी आन्दोलनमा नेता पोखरेल स्थापित वैचारिक नेता हुन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका नेता पोखरेलको बैचारिक, राजनीतिक र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ ।

प्रवासमा (भारतमा) अध्ययनरत छँदा प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्दै पोखरेल राजनीतिमा स्थापित भएका हुन् । उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको स्थापना गरेर त्यहाँ संगठन विस्तार गरेका थिए । उक्त युनियनको उनी संस्थापक अध्यक्ष हुन् ।

कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।  

विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मिएका थिए । पोखरेल हाल नेकपा एमालेको स्थायी समिती सदस्य र दाङ क्षेत्र नं. २ को प्रदेशसभा १ बाट निर्वाचित सांसद हुन् ।

यसअघि उनी एमालेको सचिवको रुपमा भूमिका निर्वाह गरिसकेका थिए । नबौं महाधिवेशनमा उनी स्थायी समितिमा निर्वाचित भए ।

विसं. २०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५÷४६ मा पञ्चायती ब्यवस्थाका विरुद्ध भएको आन्दोलनमा युवा नेताका रुपमा पोखरेलले नेतृत्वदायी भूमिका खेलेका थिए । यस्तै ०६२÷६३ को जनआन्दोलनमा काठमाण्डौका विभिन्न मोर्चावाट आन्दोलनको नेतृत्व गरेका नेता पोखरेललाई विपक्षीहरुले समेत तीक्ष्ण वैचारिक क्षमता भएको असल नेताका रुपमा लिने गर्दछन् ।

गणतन्त्रको पक्षमा काठमाण्डौ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता थिए । जहाँ उनको विचारले सबैलाई गणतन्त्रको आन्दोलनमा होमिन प्रेरित गरेको थियो ।

माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्वसमेत गरेका थिए ।

माओवादीहरुलाई शान्ति प्रकृयामा ल्याउनका लागि गरिएका विभिन्न ठाउँका विभिन्न प्रकारका छलफलहरुमा नेता पोखरेलको सक्रिय सहभागित रहने गर्दथ्यो । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलमा नेता पोखरेल नै सचिव थिए ।

जनकपुरमा भएको एमालेको सातौ महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लगेका थिए । यसपछि नै पार्टीले संविधानसभाको औपचारिक लाइन लिएको थियो ।

संविधानसभामार्फत राज्यको पुनर्संरचना आवश्यक रहेको निश्कर्षकासाथ नेता पोखरेलले पार्टीमा राज्यपुनर्संरचना सम्वन्धी लिखित दस्तावेज प्रस्तुत गरेर पार्टी नेताहरुलाई यसबारेको अध्ययनमा केन्द्रित गरेका थिए । पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । बुटवलमा सम्पन्न भएको पार्टीको आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा उनले प्रस्तुत गरेको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पुरा गरेका मुख्यमन्त्री पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन् । आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा पोखरेलका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको थियो । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात अव मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि वढ्नु पर्दछ भन्ने दृष्टिकोण राख्ने पोखरेल यतिवेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फवाट ५ नम्वर प्रदेशको मुख्यमन्त्री बनेका छन् । उनले यसअघि नै यो प्रदेशलाई मिनी नेपाल र नमना प्रदेश बनाउने घोषणा गरेका थिए ।

उनले सूचना तथा संचार मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् । पार्टी भित्रका थिङट्याङ्क मानिने पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उनले कैयौं पत्रिकामा सम्पादनकोसमेत काम गर्दै आएका थिए । पटक–पटक जेल र दर्जनौ पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गरेका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सिमित नेताहरु मध्ये पर्दछन् । पोखरेलकी पत्नी एमाले नेतृ सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव छन् । उनी पनि राजनीतिमा पहिलेदेखि नै सक्रिय छिन् । शाक्य प्रतिनिधिसभा सदस्य समेत हुन् । पोखरेलका दुई छोरी छन् ।

मुख्यमन्त्रीका दाबेदार पोखरेलले ५ प्रदेशमा ३ वटा ठूला महानगर बनाउने घोषणा चुनाव ताकै गरेका थिए । घोराही–तुलसीपुर, कोहलपुर–नेपालगन्ज र भैरहवा–बुटवल गरी प्रदेशमा ठूला महानगर बनाउने उनको योजना यसअघि नै सार्वजनिक भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top