प्रदेश नं.५ को सभामुखमा पूर्णबहादुर घर्ती  निर्विरोध 

राजनीति फागुन २ २०७४ .
Purna gharti


  बुटवल, फागुन २

 प्रदेश नं.५ को सभामुखका लागि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध सभामुख भएका छन् । 

प्रदेशसभा संसद् सचिवालयमा मंगलबार बिहान साढे १० बजे वाम गठबन्धनका संयुक्त उम्मेदवार घर्तीले उम्मेदवारी दर्ता भएको थियो। घर्तीका विरुद्ध अन्य दलबाट कसैले पनि उम्मेदवारी दर्ता गराएनन्।

रुकुम पूर्वबाट निर्र्वािचत घर्तीलाई माओवादी केन्द्रको संसदीय दलको बैठकले सभामुख बनाउने निर्णय गरेको थियो। प्रदेश ५ को संसदमा वाम गठबन्धनको आरामदायी बहुमत छ। ८७ सांसदमध्ये गठबन्धनसँग ६१ सांसद छन्।

दर्ता भएको उनको उम्मेदवारी बुधबार बस्ने संसद् बैठकमा पेश हुनेछ। संसदमा सभाध्यक्ष गर्ने ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घर्तीको उम्मेदवारी प्रस्ताव र समर्थनका लागि समय दिनेछन्। एक जनाको मात्रै उम्मेदवारी परेको र बहुमत सदस्यको समर्थन घर्तीलाई रहेकाले सभामुखमा निर्र्वािचत भएको घोषणा गर्नेछन्।

सभामुखमा निर्र्वािचत भएसँगै प्रदेश प्रमुख उमाकान्त झाले आज बुधबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालय दरबारमार्ग लाइनमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।


सभामुखमा निर्विरोध रहेका पूर्णबहादुर घर्ती पूर्वी रुकुम प्रदेशसभा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट विजयी बनेका हुन्।

भूमे गाउँपालिका वडा नम्बर ९ रुकुममा २०२४ असार २९ गते जन्मिएका घर्ती २०३६ सालबाट राजनीतिमा लागेका थिए। सामाजिक कार्य गर्ने उद्देश्यका साथ गठन भएको एक क्लबलाई नै तत्कालीन मसालको गाउँ पार्टीमा रुपान्तरण गरी उनी तत्कालीन चुनवाङ गाविसको संस्थापक पार्टी अध्यक्ष बनेका थिए।

२०४८ सालमा नेकपा एकता केन्द्र जिल्ला उपसमिति रुकुमको पहिलो सम्मेलनवाट जिल्ला समितिमा निर्वा्चित हुँदै एकता महाधिवेशन प्रतिनिधि बनेका उनी राजनीतिकर्मीका साथै कलाकार पनि हुन्।

 माओवादी युद्धका बेला उनी रुकुमको जनसरकार प्रमुख भएका थिए।

२०५३ देखि २०५६ सम्म माओवादी रुकुमको जिल्ला सेक्रेटरी, २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनवाट नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५७ देखि २०५८ सम्म म्याग्दी, बाग्लुङ र रुकुमको इञ्चार्ज तथा केन्द्रीय सदस्य, २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्र अन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इञ्चार्ज तथा केन्द्रीय सदस्य थिए।

यस्तै, २०६२ देखि २०६४ सम्म माओवादी रुकुम जिल्ला इन्चार्ज, २०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रीय सदस्य, २०६८ देखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान् राज्य इञ्चार्ज तथा केन्द्रीय सदस्य, २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगरात इञ्चार्ज तथा पोलिटब्युरो सदस्य रहेका थिए।

उनी हाल नेकपा माओवादी केन्द्र ५ नम्बर प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य छन्। 


 

प्राप्त प्रतिकृयाहरू

To Top