समाचार / समाज

  मुलुककै उत्कृष्ट विद्यालय कालिका मा.वि र मानवज्ञान मा.वि एकीकरण हुँदै

माघ २७ २०७४     ekhabarnepal
Kalika mabi


बुटवल माघ २७,  
 सामुदायिक विद्यालयमा मुलुककै उत्कृष्ट रहेको कालिका माध्यमिक विद्यालय र रामनगरस्थित मानवज्ञान माध्यमिक विद्यालय एकीकरण हुँदै छन् । मानवज्ञानमा विद्यार्थीको संख्या एक सय ६० मात्रै भएपछि कालिकासँग एकीकरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हाल कालिका माविमा चार हजार चार सय विद्यार्थी छन् ।

विद्यालय एकीकरणमा बुटवल उपमहानगरले नै काम सुरु गरेको हो । अहिले जिल्ला शिक्षा कार्यालयको अधिकार नगरमा गएकाले एकीकरणमा नगरको स्वीकृति आवश्यक पर्छ । एकीकरणपछि विद्यालयको नाम कालिका मानवज्ञान माध्यमिक विद्यालय हुनेछ ।एकीकरणपछि भवनलाई सेक्टर एक र सेक्टर दुई नाम दिएर पठपाठन गराइनेछ । यी दुई विद्यालय करिब दुई किलोमिटरको दूरीमा छन् । कुनै समय एसएलसीमा न्यूनतम नतिजा पनि ल्याउन नसकेर कारवाही भोगेको कालिका मावि पछिल्लो दशकमा उत्कृष्ट विद्यालय बन्न सफल भएको हो । शिक्षा मन्त्रालय नमुना विद्यालय घोषणा गरेपछि एसियाली विकास बैंकले लगानी गर्न उत्सुकता देखाएको छ ।

 


‘हामीले पूर्वाधार नभएर विद्यार्थी भर्ना सकेका थिएनौं, अब मानवज्ञान थपिएपछि विद्यार्थीका संख्या १० हजार पु¥याउँछौं,’ कालिका माविका प्राधानाध्यापक घनश्याम पाठकले भने । एकीकरणपछि सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय बन्ने उनले बताए । एउटै सामुदायिक विद्यालयमा सात हजार विद्यार्थी । सुन्दा अचम्म लाग्छ । रूपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रमा सात हजार विद्यार्थी हुनेछन् । बुटवल उपमहानगरभित्र रहेका दुई माध्यमिक विद्यालय एकीकरणमा गएकाले आगामी शैक्षिक सत्रदेखि करिब सात हजार विद्यार्थी भएको पहिलो सामुदायिक विद्यालय बन्नेछ ।


विद्यालयको एकीकरणपछि शैक्षिक गुणस्तरमा झन वृद्धि हुने अपेक्षा गरिएको छ । ‘विद्यार्थी नै तान्न नसकेको मानवज्ञानको भवनमा धेरै विद्यार्थी आउनेछन्,’ मानवज्ञानका सहायक प्रधानाध्यापक गोरखबहादुर थापाले भने, ‘विद्यार्थी र शिक्षकबीचको अनुभव साटासाटले गुणस्तरमा वृद्धि हुन्छ ।’ घोषणा नहँुदै कालिका माविका शिक्षक र मानवज्ञानका शिक्षा साटासाट भएर पठनपाठन सुरु गरिसकेका छन् ।कालिकाले प्रयोगात्मक कक्षा सञ्चालन गर्दै गुणस्तर वृद्धिको अभियान चलाएको छ । अंग्रेजी माध्यममा सञ्चालित कालिकामा निजी विद्यालय छाडेर अध्ययन गर्न आउनेको संख्या धेरै छ । गत शैक्षिक सत्रमा मात्रै झन्डै चार हजार विद्यार्थी भर्ना हुन नपाएर कालिकाबाट फर्किएका थिए । सीपमूलक अंग्रेजी माध्यमको नैतिक शिक्षा अभिभावकले चाहेकाले विद्यालयले सोही अभियानलाई अवलम्बन गरेको छ ।


‘एक वर्ष भर्ना अभियान चल्नेछ,’ कालिकाका प्रअ पाठकले भने, ‘१० हजार विद्यार्थी पुगेपछि नयाँ भर्ना हुने छैनन् ।’ शिक्षु कक्षादेखि कक्षा ५ सम्म मात्रै नया भर्ना लिने गरिरहेको विद्यालयले पूर्वाधार नभएका कारण आएजति विद्यार्थीलाई पढाउन नसकेको उनले बताए ।विद्यालय एकीकरणका लागि व्यवस्थापन समिति र समुदायबीच सहमति जुटेको छ । वडा कार्यालयले सिफारिस गरेपछि बुटवल उपमहानगरले एकीकरण भएको घोषणा गर्नेछ । एकीकरणपछिको गुरुयोजना बनाउन कालिका माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम गलामीको अध्यक्षतामा व्यवस्थापन समिति र शिक्षक दिनेश थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।


शिक्षा ऐनको मस्यौदा बनाइरहेकोे बुटवल उपमहानगरले पनि कमजोर व्यवस्थापनमा चलिरहेका र विद्यार्थी कम भएका विद्यालयलाई एकीकरणमा जान प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ । ‘सामुदायिक विद्यालयको स्तरोन्नति र शैक्षिक गुणस्तरमा हाम्रो पहिलो ध्यान छ,’ उपमहानगरका प्रमुख शिवराज सुवेदीले भने ।मानवज्ञान माविको तीन बिघा जमिन भएकाले नया पूर्वाधार निर्माण रामनगरमै हुनेछन् । पुस्तकालय, छात्रावास र विज्ञान प्रयोगशाला बनाउने तयारी गरिएको छ । ‘चार वर्षभित्र ‘ग्रेट स्कुल’ बनाउनेछौं,’ पाठकले भने, ‘नयाँ मोडलबाट गुरुयोजना निर्माण भइरहेको छ ।’ यी दुई विद्यालयमा दुई सय ११ जना शिक्षक मात्रै रहेका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top