नयाँ वर्ष मनाउन ३० हजार चिनियाँ नेपाल आउँदै  

समाज माघ २६ २०७४ .
Chinese tourist in nepal

 

काठमाडौं-  चिनियाँ नयाँ वर्ष मनाउन दुई साताको अवधिमा ३० हजार चिनियाँ पर्यटक नेपाल आउन लागेका छन्। यति ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आउन लागेको पहिलो पटक भएको पर्यटन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार फेब्रुअरी ११ देखि २४ तारिक सम्म चाईनिज नयाँ वर्षमा हुने लामो छुट्टीमा उनीहरु नेपाल घुम्‍न आउन लागेका हुन्।

पर्यटन मन्त्रालयले चिनियाँ पर्यटकको नेपाल बसाईलाई अविस्मरणीय बनाउन काम गरिरहेको जनाएको छ।

बिहीबार पर्यटन मन्त्रालयमा पर्यटन सचिवको संयोजकत्वमा बसेको बैठकले चिनियाँ पर्यटकको बसाईलाई विमानस्थलदेखि नै व्यवस्थित गर्न विभिन्‍न निर्णयहरु गरेको जनाएको छ।

पर्यटन मन्त्रालयमा भएको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, पर्यटन बोर्डका सीइओ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रमुख, अध्यागमन र यातायात व्यवस्था विभागका प्रतिनिधिहरु उपस्थित रहेका थिए।

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार, चिनियाँ विमानमा आउने यात्रुहरु लक्षित गर्दै अध्यागमन विभागले भिसा लगायतका बिषयमा सहजीकरण गर्न विमानस्थलमा छुट्टै डेस्क सञ्चा‍लन गर्ने, नागरिक उड्डयन प्राधिकरणले ब्यागेज ह्यान्डलिङलाई व्यवस्थित गर्न कनभेयर बेल्ट थप गर्ने, पर्यटन बोर्डले पनि विमानस्थल परिसरमा पर्यटकलाई सुचना दिन डेस्क संचालन गर्ने निर्णय गरिएको छ।

उपाध्यायले विमानस्थलको डेस्कमा चाईनिज भाषाको ज्ञान भएका ४ जना पर्यटक प्रहरीहरु पनि खटिने जानकारी दिए।

यस्तै उपाध्यायले भने, ‘ट्राभल एजेन्सीलाई नारायणगढ मुग्लिन सडक खण्डमा हुने ट्राफिक जामलाई छल्दै टुर प्याकेज बनाउन आग्रह गरिका छौं।

पर्यटन बोर्डले चिनियाँ पर्यटकहरुलाई विमानस्थलमै स्वागत गर्ने बोर्डका मिडिया कोर्डिनेटर शरद प्रधानले जानकारी दिए। उनले भने, ‘चाईनिज भाषामा ‘नेपालमा तपाईलाई स्वागत छ’ भन्ने सन्देश र चिनियाँ कुकुर दिवस भएकाले कुकुरको लोगो भएको पोष्टकार्ड पर्यटकलाई प्रदान गर्नेछौं।

उपाध्याय भन्छन्, अहिले ठुलो संख्याँमा चिनियाहरु नेपाल भ्रमणमा आउनु हाम्रालागि अवसर हो तसर्थ हामीहरु पर्यटकको नेपाल बसाई सुखद बनाउन लागिरहेका छौं।’

प्राप्त प्रतिकृयाहरू

To Top