दुधप्रतिको भ्रमात्मक सोच

बिचार माघ २५ २०७४ ekhabarnepal
Download

 

मध्यकालीन इङल्यान्डमा आफ्ना बिरामी बच्चाको रोग निको हुन्छ भन्ने विश्वासमा खरायोको खुर घाँटीमा झुन्ड्याउने चलन थियो। त्यतिखेरका डाक्टरहरू थुकले घाउ निको हुन्छ भन्ने ठानेर बिरामीको घाउमा थुक्नेसमेत गर्थे। वास्तवमा हाम्रा इतिहास त्यस्ता अनेकौं स्वास्थ्यसम्बन्धी अन्धविश्वासले जकडिएको छ।दूधसम्बन्धी विश्वास त्यस्तै अर्को विश्वास हो। दूध पेय पदार्थ मात्रै होइन, यो हजारौं वर्षदेखि चल्दै आएको सांस्कृतिक अवधारणा हो। अहिले पनि विश्वभर दूध र दुग्ध पदार्थसम्बन्धी अर्बौं डलरको व्यापार हुन्छ। क्याल्सियमसँग जोडेर यसको चर्को प्रचार पनि भइरहेछ। तर दूध हामीले सुने र चिनेजस्तो मात्रै छैन।

बाच्छाबाच्छीको निजी भोजन:
सम्भवतः हाम्रा पुर्खाहरूले अप्ठ्यारो परिस्थितिमा बाँच्नकै लागि अर्को प्रजातिको दूध खाने प्रचलन सुरु गरेका होलान्। तर कसैले पनि यसमा असहमति जनाउन सक्दैन– गाईभैंसीको दूध बाच्छा–पाडाको भोजनको उत्कृष्ट स्रोत हो। जन्मिदा ३०–४० किलो हुने बाच्छापाडाको दूध छोड्ने बेलासम्म आठ गुणा बढीसम्म तौल वृद्धि हुन्छ। त्यसपछि बाच्छापाडाले कहिल्यै दूध खाँदैनन्। र, यस ग्रहमा रहेका अरू प्रत्येक स्तनधारी प्रजातिका हकमा त्यही हुन्छ। र, प्रत्येक प्राणीको दूधमा खास विशेषता हुन्छन्। गाईभैंसीको दूधको हकमा पनि हुने त्यही हो। उदाहरणका लागि गाईको दूधमा मान्छेको भन्दा तीन गुणा बढी प्रोटिन हुन्छ। यसले मान्छेको शरीरमा ‘मेटाबोलिक अवरोध’ गर्छ र यसको उपभोग गर्दा मान्छेको हाडलाई उल्टै कमजोर बनाउँछ। ख्याल गर्नुपर्ने कुरो के छ भने सबै आफ्नो आमाको मात्रै दूध सबै प्राणीको बच्चाका लागि एकदमै पोसिलो र शरीरसुहाउँदो हुन्छ तर गाईभैंसीको दूधको कुरो बेग्लै हो।

हाड कमजोर बनाउँछ:
दूधबारेको यो भ्रम विश्वव्यापी छ– प्रोटिन र क्याल्सियम धेरै पाइने दूधले सम्पूर्ण स्वास्थ्यलाई राम्रो राख्न, जुनसुकै उमेरमा हाडको स्वास्थ्य रक्षा गर्ने काममा मद्दत गर्छ। प्रति गिलास दूधमा तीन सय मिलिग्राम क्याल्सियम हुन्छ भन्ने आधारमा नै यो तर्क गरिएको हो। तर धेरै वैज्ञानिक अध्ययनहरूले दूध सेवनकै कारण हुने गलत प्रभावका परिणाम देखाएका छन्। अनौठो के भने गाईवस्तुको दूधमा भएको क्याल्सियम हामी बिरलै पचाउन सक्छौं (पास्चराइज गरेको दूध त झनै सकिन्न), उल्टो यसले हाम्रो स्वास्थ्य अवस्थालाई खराब बनाउँछ। यसले हाडबाट क्याल्सियम नै घटाउँछ। कस्तो विरोधाभास ?
त्यस्तो कसरी हुन्छ त ? सबै जनावरबाट प्राप्त हुने प्रोटिनले झैं दूधले शरीरको ‘पीएच’ लाई अम्लीय बनाइदिन्छ। त्यसको परिणामस्वरूप शरीरमा जैविक संशोधन निम्तिन्छ। क्याल्सियम आफैंमा एसिड न्युट्रीलाइजर (एसिडको प्रभाव रोक्ने तत्व) हो। शरीरको सबैभन्दा ठूलो क्याल्सियम भण्डार हड्डीभित्र हुन्छ। तर हाडलाई बलियो बनाउने त्यही क्याल्सियमको प्रयोग अम्लीय प्रभाव रोक्नका लागि हुन्छ। हाडबाट यसरी क्याल्सियमको दुरुपयोग भएपछि मूत्रका माध्यमबाट क्याल्सियम हाम्रो शरीर बाहिर जान्छ, अनि त्यही आश्चर्यजनक परिणाम आउँछ– शरीरमा क्याल्सियम अभाव। यति कुरा थाहा पाएपछि दहीदूध कम खाने देशका मान्छेको हातखुट्टा भाँचिने दर किन कम छ भन्ने बुझ्न सकिन्छ।
तर पनि मूलधारका स्वास्थ्यकर्मीहरू यो पक्षलाई बेवास्ता गर्छन् या उनीहरूलाई थाहै छैन। तर मैले आफ्नो ओस्टेयोपोरोसिस (क्याल्सियम वा भिटामिन डीको कमीबाट हुने हाडजोर्नी कमजोर हुने रोग) को उपचार गर्ने क्रममा आफैंले यो तथ्य थाहा पाएँ। तर मलाई डाक्टरले उल्टै फोजामाक्स नामक औषधि र धेरै दूध खाने सल्लाह दिए। भाग्यवश, क्याल्सियमबारेको यही तथ्य थाहा पाएकाले मैले त्यसो गरिनँ। हाड भाँचिने सम्भावना
‘दूधले हाड भाँच्ने दर घटाउँछ’ भन्ने पुरानो मान्यतालाई धेरै वैज्ञानिक अध्ययनले खण्डन गरेका छन्। तर पनि दूधले हाड बलियो बनाउँछ भनेर व्याख्या गरिएका अध्ययनहरूका कारण दूधबारेको वास्तविकता जहिल्यै लुक्ने गरेको छ। बाल्यकालदेखि नै गाईभैंसीको दूध खाए पनि भविष्यमा त्यसले हाड जोगाउँदैन बरू हाड भाँचिने सम्भावना बढाउँछ। दूधले हाड बलियो बनाउँछ भन्ने ‘सेभिङ एकाउन्ट’ क्याल्सियम सिद्धान्तलाई प्रहार गरेका कमिङ र क्लिनबर्ग नामका अध्येताले आफ्नो अध्ययनमा यो निचोड उल्लेख गरे 

‘खासगरी २० वर्षको उमेरमा दुग्धजन्य पदार्थको उपभोग गर्दा सोही कारण प्रौढ अवस्थामा कमरको हाड भाँचिने सम्भावना बढाउँछ (अमेरिकन जर्नल अफ एपिडिमियोलोजी, १९९४)’। १२ वर्षसम्म गरिएको ‘हार्वड नर्सेज’ को स्वास्थ्य अनुसन्धानले धेरैजसो क्याल्सियम दहीदूधमार्फत प्राप्त गर्ने व्यक्तिहरूले दहीदूध नखाने व्यक्तिले भन्दा धेरै हातगोडा भाँचे। यो अध्ययनमा चौंतीस वर्षदेखि ५९ वर्षसम्मका ७७ हजार सात सय ६१ व्यक्ति संलग्न थिए।

आश्चर्यजनक तथ्यांकप्रति बेवास्ता:
म सहभागी हुने गरेको ‘हाड जोगाउने अभियान’ मा हामीले बारम्बार भन्ने गरेका छौं– वैज्ञानिक रूपले प्रमाणित यो तथ्यप्रति पनि मिडिया बेखबर छ। तर चिकित्सा क्षेत्रका सबै त्यस्ता छैनन्, जस्तो कि वासिङटन डीसीस्थित ‘जिम्मेवार औषधिका लागि चिकित्सकको समिति’ की पोषण निर्देशक डा. यामी लानोउ लेख्छिन्, ‘धेरैजसो दूध खाने र धेरै क्याल्सियम खाने मान्छेहरूकै देशमा धेरैजसो हाड भाँचिने घटना भएका छन्। क्याल्सियमको उपभोग र हाडको स्वास्थ्यको विषयको सम्बद्धता एकदमै कमजोर छ। दुग्ध पदार्थ र हाडको स्वास्थ्यको विषय प्रायः अस्तित्वमा छैन। यो कुराले अचम्म लाग्यो ? अचम्म नमान्नुस्।


आजको दूध, ‘प्रोसेस्ड’ दूध:

युरोपमा उन्नाइसौं शताब्दीको अन्त्यसम्म र अमेरिकामा बीसौं शताब्दीको प्रारम्भसम्म दूध पास्चराइज नगरी अथवा सीधै पिउने चलन थियो। पछि दुग्ध उद्योगको मानक नै हिमोजिनाइजेसन भयो। यस्ता ‘प्रोसेस’ गरिएका दूधले झनै खराब अम्लीय प्रभाव बढाउँछन्। कच्चा दूधको बारेमा वकालत गर्नेहरू यस्ता कच्चा दूध बढी स्वस्थकर भएको बताउँछन्। उनीहरूको कुरा सही हो। पास्चराइजेसन र हिमोजिनाइजेसनले पचानलगायतका थुप्रै स्वास्थ्यजन्य समस्या निम्त्याउँछन्। यति हुँदाहुँदै पनि म कसैलाई पनि कुनै पनि प्रकारको दूध नपिउन सल्लाह दिन्छु।


अचेल दूध दिने गाईभैंसीलाई अनेक प्रकारका एन्टिबायोटिक्स खुवाइने गरिएको छ। तीमध्ये धेरैलाई जेनिटिक रूपमा बनाइएको ‘बोभाइन ग्रोथ हर्मोन’ (बीजीएच) का सुई लगाइएका हुन्छन्। यस्तो बीजीएचले दूध पिउने व्यक्तिको ‘इन्सुलिन ग्रोथ फ्याक्टर’ मा रगतको तह बढाउँछ। धेरै परिमाणको बीजीएचको सम्बद्धता क्यान्सरसँग हुन्छ। केही अघि मात्रै अमेरिकाका इलिनोइस स्कुल अफ हेल्थका प्रोफेसर तथा क्यान्सर ‘प्रिभेन्सन कोअलिसनका अध्यक्ष’ ले बीजीएचयुक्त दूधको उपभोगका कारण छातीको क्यान्सर तथा अन्य क्यान्सर हुने बताएका थिए। हर्मोन नमिसिएको दूध हर्मोनवाल दूधभन्दा ठीक हो तर यति हुँदाहुँदै पनि तपाईं आफ्नो हड्डीको स्वास्थ्यको ख्याल गर्नुहुन्छ भने एन्टिबायोटिक अथवा बीजीएच नदिइएको अर्गानिक दूधसमेत नखानुहोस्। दूध नखाएर केही बिग्रँदैन।

दूध र भ्रम
दूध खाने कुरा विश्वाससँग जोडिएकाले तत्कालै दूध छोड्न गाह्रो होला तर हाडको स्वास्थ्यका लागि दहीदूधको सेवन नगरेकै राम्रो हो। हड्डी बचाउने हाम्रो अभियानमा ‘यो पदार्थ खानै हुन्न’ भनिन्न तर अहिले बजारमा आएका या घरमै बनाउन सकिने दूधका विकल्पसमेत छन्। तीमध्ये नरिवल, बदाम, देशी बदामबाट बनाइने दूध सबै कोणबाट हितकारी हुन सक्छन्। दूध खाएर हाड बलियो बनाऔं भन्ने भ्रमपूर्ण सन्देश सर्वत्र भेट्टाएका कारण र हड्डीसम्बन्धी समाजमा रहेका अन्य भ्रम हटाउने उद्देश्यले नै मैले ‘हाम्रो हड्डी जोगाऔं’ अभियान थालेको हुँ। अब कसैले तपाईंलाई हड्डीको विषय जोडेर दूध कत्तिको पिउनुहुन्छ भनेर सोधेमा ‘म त खान्न, दूधले उल्टै हाडको स्वास्थ्य बिगार्छ भन्ने थाहा पाएँ’ भन्नुस्।   साभार :(अन्नप्रर्ण पोष्ट) 
(सेभआवरबोन्सडटकमबाट अनूदित)

प्राप्त प्रतिकृयाहरू

To Top