तातोपानी नाका खोल्न सुरक्षा प्रत्याभूति,लीलामणि पौड्याल   

समाज पौष २९ २०७४ .
Lilamani paudel

 

काठमाडौं । तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ । सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित ‘तातोपानी नाका सञ्चालन र कोदारी राजमार्गको स्तरोन्नति’ विषयक एक कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीनले राखेको चासोका साथै तयारीका सम्बन्धमा नेपाल पनि गम्भीर बन्नुपर्ने बताए । गोरखा भूकम्पका कारण नेपाल–चीन सीमाको खासासमेत भौगर्भिक रूपमा जर्जर भएको र त्यसको अध्ययन गरिरहेका कारण नाका सञ्चालनमा ल्याउन थप समय लागेको चिनियाँ पक्षले जानकारी गराएको राजदूत पौड्यालले जानकारी दिए ।

गोरखा भूकम्पको ३४ महिना पुग्न लाग्दा समेत नेपाल र चीन जोड्ने ऐतिहासिक कोदारी राजमार्ग सञ्चालनमा आउन नसकेकामा नेपालीको चासो र चिन्ता बढिरहेको वेला राजदूत पौड्यालले चीनको न्यालमबाट खासा खण्डको सडक मर्मतमा चीन सरकारले विशेष जोड दिइरहेको र युद्धस्तरमा काम गरिरहेको जानकारी आफूले पाएकाले नेपालतर्फ पनि आवश्यक तयारी गर्नुपर्ने बताए ।

जुरे पहिरो, भोटेकोशीको बाढी, गोरखा भूकम्प र लार्चाको पुल गत बर्खाकालमा बगाएका कारण नेपाल चीन सीमासम्म पुग्ने अवस्था नभएकाले आफ्नातर्फको भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, नेपाल हिमालय सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौड्यालले भने, ‘तातोपानी नाका खोल्न र कोदारी राजमार्ग सञ्चालनमा ल्याउन चिनियाँ राष्ट्रपति सि जिन पिङले नै चासो व्यक्त गरेका छन् । नेपालका तर्फबाट चीनमा भएका उच्चस्तरीय भ्रमणमा समेत पटकपटक सो विषयमा कुरा उठेको छ ।’

राजदूत पौड्यालले तातोपानी नाका सञ्चालनमा आउने विषयमा दुविधा नराख्न आग्रह गर्दै सहज रूपमा व्यापार व्यवसाय गर्न पाउने व्यवस्था गर्न, महँगो भाडा नलिन र गैरव्यावसायिक व्यवहार नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । यही पुस ७ गते सिन्धुपाल्चोकका प्रजिअ र चीनका समकक्षीबीच तिब्बतमा छलफल भएको थियो । चिनियाँ पक्षले सो छलफलमा समेत सुरक्षा चासो राखेको सिन्धुपाल्चोकका प्रजिअ आशमान तामाङले जानकारी दिए । ‘चिनियाँ पक्षले ज्वाइन्ट कमान्ड मेकानिज्म र ज्वाइन्ट कमान्ड अफिस खडा गर्नुपर्नेमा जोड दिएका छन्, हामीले आवश्यक तयारी गरेर जवाफ दिने तयारी गरेका छौँ,’ प्रजिअ तामाङले भने ।

कार्यक्रममा नेकपा (एमाले) अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहोराले नेपालको जीवनरेखाका रूपमा परिचित कोदारी राजमार्ग खुलाउने विषयमा गम्भीरताका साथ पहल भइरहेको बताए । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य एवं प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य अग्निप्रसाद सापकोटाले नाका खोलाउन हरसम्भव प्रयत्न भइरहेको र छिट्टै सफलता हात लाग्ने बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top