समाचार / अर्थ

आज सोमवार ४४.५ अंकले नेप्से बढ्यो

पौष १७ २०७४     ekhabarnepal
Nepse 1

 पुस १७,  लामो समयदेखि न्युन विन्दुमा पुगेको नेप्से परिसूचकले सोमवार एकै दिन ४४.५ अंकको वृद्धि हासिल गरेको छ । १४०० विन्दुमा टेवा परिक्षण गरिरहेको नेप्सेले टेवा पाएको देखिन्छ ।

निकै न्युन विन्दुमा पुगेको नेप्सेको आरएसआई सुचकले समेत बजारमा सुधारको सम्भावना देखिएको थियो । आरएसआई सुचक पनि एकै दिन ६ स्केलबाट बढेर २७ विन्दुमा पुगेको छ । नेप्से अझै सन्तुलन क्षेत्र ‘जोन’ मा आउन बाँकी रहेको यसले संकेत गर्छ ।

आइतवार फोरमले बैंकरहरुसँग गरेको भेटघाट, बैंकहरुबाट ब्याजदर १२ प्रतिशतभन्दा धेरै नबनाउने सहमतीले पनि बजारलाई आधारभुत पक्षबाट भरथेग गरेको छ । सोमवार ११ वाणिज्य बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । यसमध्ये ४ वटाले यसअघि प्रस्ताव गरेको अधिकत्तम व्याजदरलाई संशोधन गरेर केही घटाएका छन् । यद्यपी औसतमा भने व्याजदर लगभग १०.५० प्रतिशत हाराहारीमा रहेको छ ।

बजार निकै तल आएकोले पनि सकारात्मक यी समाचारहरु आउदा लगानीकर्ताहरु आकर्षित भएका हुन् । बजारमा लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको देखिएको छ । यो मनोविज्ञानलाई टेवा पुग्ने गरि घटना क्रम विकास भएमा बजारले थप गति लिनेछ । यद्यपी बजारको स्पष्ट दिशा देखिन केही दिनको कारोबार अवलोकन गर्नैपर्ने हुन्छ ।

पुस मसान्तमा सेयर धितोमा कर्जा लिएकाहरुले व्याज तिनुपर्ने, मार्जिन कलको सामना गर्नुपर्ने सम्भावना पनि रहेकोले आगामी दिनमा नेप्सेले लिने गति अनुसार यसको प्रभाव पनि देखिनेछ । बजार वृद्धिको दिशामा रहेमा यसको दबाब बजारमा कम पर्नेछ भने बजार घट्दो क्रममा देखिएमा थप चाप पर्नेछ ।

धेरै बजार पूँजीकरण भएका वाणिज्य बैंकहरुको सेयर मूल्य बोनस लगायतको समायोजन पछि १ हजार मुनि र अन्यको ४ सयदेखि माथि रहेकोले पनि यही समूहमा उच्च वृद्धि भएको हो । होटल समूहको परिसूचक सबैभन्दा धेरै ५ प्रतिशत, लघुवित्त, बीमा र बैंकिङ समूहको परिसूचक क्रमशः ४ प्रतिशत, ३.७५, ३.५८ प्रतिशतको दरमा बढेको छ ।

सोमवार कारोबार रकमका आधारमा प्रमुख १० कम्पनीमा ६ वटा वाणिज्य बैंक समूहबाट रहेका छन् । कारोबार रकममा धेरै परिवर्तन नदेखिएपनि उच्च रहेको छ । यसदिन ४९ करोड ४३ लाख बराबरको सेयर कारोबार समेत भएको छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top