पेरुमा पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीलाई क्षमा दिएकोमा विरोध प्रदर्शन

विश्व पौष ११ २०७४ ekhabarnepal
5184

पुस ११ – दक्षिण अमेरिकी देश पेरुमा पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीलाई क्षमा दिएको विरोधमा प्रदर्शन चर्किएको छ । पेरुका नागरिकले लगातार दोश्रो दिन पनि राजधानी लिमामा प्रदर्शन गरेका छन् । क्रिशमसको पूर्व सन्ध्यामा पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुस्जेन्सकीले फुजिमोरीलाई माफी दिनुभएको थियो ।

मानवअधिकारको हनन् गरेको आरोपमा २५ वर्षको जेल सजाय भोगीरहेका फुजिमोरीलाई गएको हप्ता न्युन रक्तचाप र मुटुको चाल अस्थिर भएपछि अस्पताल भर्ना गरिएको थियो । फुजिमोरी अस्पतालमै रहेका बेला राष्ट्रपति कुस्जेन्सकीले उहाँलाई माफी दिनुभएको हो । राष्ट्रपति कुस्जेन्सकीमाथि फुजिमोरीको पार्टीले महाअभियोग लगाउने तयारी गरेको थियो । गएको हप्ता राष्ट्रपतिले फुजिमोरीको पार्टीसँग आफूमाथि महाअभियोग नलगाउने शर्तमा फुजिमोरीलाई माफी दिएको प्रदर्शनकारीको आरोप छ । फुजिमोरीलाई माफी दिने राष्ट्रपतिको निर्णयको विरोधमा उहाँको पार्टीका दुई नेताले राजीनामा दिएका छन् ।

फुजिमोरीको विपक्षमा रहेकाले प्रदर्शन गरे पनि समर्थकले भने खुशीयाली मनाइरहेका छन् । सन् १९९० देखि २००० सम्म पेरुको सत्ता सम्हालेका फुजिमोरीको उपचार भइरहेको अस्पताल बाहिर उहाँका समर्थकले खुशीयाली मनाएका हुन् । समर्थकले उहाँलाई माओवादी बिद्रोहीसँग लडेको भन्दै सम्मान गर्ने गर्छन् । तर विपक्षीले भने फुजिमोरी एक भ्रष्ट तानाशाह रहेको बताउने गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top