समाचार / बिचार

कांग्रेस हार्नुका ९ कारण

पौष ११ २०७४     .
Dr. rajesh gtm


प्रा. राजेश गौतम 
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पहिलो हुनेले जित्ने (प्रत्यक्ष) प्रणालीमा कांग्रेसले नराम्रो हार बेहोरे पनि समानुपातिकमा राम्रै मत पाएको छ। समानुपातिकमा उसले पाएको मतले जनतामा उसको प्रभाव नघटेको संकेत गर्छ भने प्रत्यक्षतर्फको परिणामले कांग्रेसका नेताहरूप्रति जनतामा अविश्वास रहेको देखाउँछ। समानुपातिक मतलाई आधार मानेर सन्तोष मान्न थालेको देखिए पनि कांग्रेस नराम्रोसँग पराजित भएकै हो। पराजयका धेरै कारण छन्।
१. संस्थागत भएको गुटबन्दी
कांग्रेसमा गुटबन्दी र आन्तरिक विभाजन संस्थागतजस्तै भएको छ। कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भएपछि ६०/४० को भागबन्डा भयो। यस्तो भागबन्डाले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ। एकीकरणपश्चात भएको महाधिवेशनपछि यो ६०/४० को विभाजन मेटिनुपर्थ्यो, तर त्यस्तो हुन सकेन। तेह्रौं महाधिवेशमा शेरबहादुर देउवा पार्टी सभापति निर्वाचित भएपछि पनि रामचन्द्र पौडेलपक्षले ४० प्रतिशत भाग माग्न थाल्यो। कृष्णप्रसाद सिटौलाले पनि त्यस्तै हिस्सा माग्न थाले। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि यो प्रवृत्ति कायमै रह्यो। चुनावमा कांग्रेस पार्टीकेन्द्रित भएर जानै सकेन, समूह र नेताकेन्द्रित भएर गयो।
कांग्रेसमा पहिला पनि समूहहरू हुन्थे। बीपी, सुवर्णशमशेर, बखानसिंह गुरुङ आदिका समूहहरू हुँदा पनि अन्तर्घात हुँदैनथ्यो। अहिलेजस्तो फरक समूहलाई हराउनुपर्छ भन्ने संस्कार थिएन।
२. नातावाद र कृपावाद
कांग्रेसलाई ‘मास’ मा आधारित (मास बेस्ड) दल भनिन्छ। अहिले त यो पार्टी ‘मास’ भन्दा पनि नेतामा आधारित (लिडर बेस्ड) जस्तो बन्न पुगेको छ। नेताहरू भने पार्टीभन्दा पनि व्यक्तिगत स्वार्थ र परिवारकेन्द्रित बन्न पुगेका छन्। कार्यकर्ता र नेताबीच आत्मीय सम्बन्ध छैन। कांग्रेसमा नयाँ कार्यकर्ता पनि प्रशस्त छन् तर तीमध्ये धेरैजसो पार्टीको स्वार्थ र उद्देश्यअनुरूप चल्नेभन्दा पनि आफ्ना व्यक्तिगत स्वार्थअनुरूप चल्नेहरू छन्। यस्ता कार्यकर्ताहरू नेताका श्रीमतीलगायत परिवारका सदस्यलाई खुसी बनाएर आफ्ना स्वार्थपूर्ति गर्न लागेका छन्। कांग्रेसमा संघर्ष गरेका पुराना नेताहरूको अवमूल्यन हुँदै गइरहेको छ। यसले गर्दा नेता बलिया भए होलान् तर पार्टी बलियो हुन सकेन।
कतिपय उम्मेदवारहरू कांग्रेसका लागि संघर्ष गरेका र खटेका कार्यकर्ताभन्दा पनि नेताका परिवार र श्रीमतीलाई रिझाएर टिकट पाउने थिए। सच्चा कार्यकर्तामा उनीहरूप्रति राम्रो धारणा बन्न सकेन। कांग्रेस कुनै नेताले मात्र बनाएको पार्टी होइन, कयौंले बलिदान र त्याग गरेका छन्। त्यस्ता त्याग गर्नेहरू र सहिदका परिवारभन्दा पनि आसेपासेहरूले अवसर पाउन थाले। कांग्रेस महत्वपूर्ण दलको रूपमा स्थापित हुनुमा सहिदहरू र जेलनेल भोगेका व्यक्तिहरूको योगदान छ। उनीहरूको योगदानको कदर नगर्दा र अवमूल्यन हुँदा पनि कांग्रेस कमजोर बनेको छ।
३. युवाको आकर्षणमा कमी
स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा खासगरी काठमाडौंमा विवेकशील साझा पार्टीले पाएको मतलाई हेर्दा कांग्रेसमात्र होइन एमालेजस्ता स्थापित ठूला पार्टीले युवा आकर्षित गर्न सकेका रहेनछन्। कांग्रेस र एमालेजस्ता पार्टीमा पनि प्रशस्त युवा छन् तर तिनीहरू आदर्श र सिद्धान्त बुझेरभन्दा पनि लहड र संगतका कारण लागेका छन्। तीमध्ये कतिपय ठेकेदार र चुल्ठे/मुन्द्रे भन्ने गरिएकाहरू छन्। उनीहरूको उद्देश्य पार्टी बलियो बनाउने नभई त्यसलाई प्रभावमा पारेर फाइदा लिने हो।
प्रत्यक्षतर्फको परिणाममा कांग्रेसको हारले नेताहरूप्रति जनतामा अविश्वास रहेको देखाउँछ।
धेरै युवाको विवेकशील साझाप्रति आकर्षण भए पनि उनीहरूले युवाका लागि ठोस कार्यक्रम ल्याउन सकेका छैनन्। विवेकशीलमा कतिपय युवा परिवर्तनको असल चाहनाले लागेका छन् भने कतिपय युवा साथीसंगतीका कारणले।
४. सिद्धान्त र आदर्शबाट टाढिनु
२०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि नै कांग्रेस आदर्श र सिद्धान्तबाट विमुख हुने क्रम बढ्दै गएको थियो। २०६२/६३ पछि त्यो प्रवृत्ति झन् मौलाउँदै गयो। कांग्रेसले गहन छलफल नगरी गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अँगाल्यो। पार्टीका सिद्धान्तहरू परिमार्जन हुन सक्छन् तर त्यसमा प्रशस्त छलफल हुनुपर्छ। एउटै व्यक्ति गिरिजाप्रसाद कोइरालाको लहडमा कांग्रेसले त्यस्तो निर्णय गर्‍यो।
सिद्धान्त र आदर्शबाट च्युत हुँदा पनि धेरै मानिसले कांग्रेसलाई मत हालिरहेका छन् किनभने उनीहरूको उक्त पार्टीमा धेरै लगानी छ। २००४ सालदेखि ०६२/६३ सम्म आइपुग्दा कांग्रेसमा लगानी गरेकाहरू र तिनका परिवारले कांग्रेसलाई अझै पनि माया मार्न सकेका छैनन्। कांग्रेसले जति कमजोरी देखाए पनि यो समूहले विद्रोह गर्न सक्दैन। मतदाताको यस्तो प्रवृत्ति र लामो इतिहास भएकोले मत आइहाल्छ भन्ने आत्मविश्वास कांग्रेसमा देखिन्छ। अब निःसर्त कांग्रेसलाई मत हाल्नेहरूको समूह सानो हुँदै गइरहेको छ। कांग्रेसले २०४६ पछि जन्मेहुर्केको पुस्तालाई आकर्षित गर्न सकेको छैन।
आदर्श र सिद्धान्तमा विश्वास गर्ने कार्यकर्ताको कमी छ। अहिले कांग्रेसमा बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, सीके प्रसाईजस्ता सिद्धान्त र आदर्शयुक्त नेता पाउन गाह्रो छ। भट्टराई जतिसुकै अपमान भोग्नुपर्दा पनि सिद्धान्तबाट टाढिएनन्। २०५६ पछि प्रधानमन्त्री हुँदा गिरिजाप्रसादको दबाबमा उनले राजीनामा नगर्न पनि सक्थे, तर पार्टी जोगाउन उनी अपमान बेहोर्न तयार भए।
कांग्रेसमा सत्ताकेन्द्रित राजनीतिको सुरुवात गिरिजाप्रसाद कोइरालाले गरे। जसरी हुन्छ सत्तामा रहनुपर्छ भन्ने उनको मान्यता रह्यो। यो प्रवृत्ति कांग्रेसमा बढ्दै गयो। गिरिजाको विरोध गरेका शेरबहादुरले पनि यो प्रवृत्तिलाई निरन्तरता दिए। गिरिजा र शेरबहादुरका यस्ता क्रियाकलापले पार्टी कमजोर र बदनाम हुँदै गयो। आमजनताले नेतालाई पार्टीसँग जोडेर हेर्ने हुँदा यी नेताहरूले कांग्रेस कमजोर बनाए।
५. जनता र कार्यकर्तासँग बढेको दूरी
अहिले कांग्रेस राम्रोसँग जनताको बीचमा पुग्न सकेको छैन। बीपी, सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद भट्टराई, सीके प्रसाईजस्ता नेताहरू जनतासँग असाध्यै घुलमिल हुन्थे। जनताका माझमा जान उनीहरू डराउँदैनथे। अहिले नेता जनताको नजिक जानै सक्दैनन्, किनकि उनीहरूलाई सुरक्षा घेरामा हिँड्नुपर्ने जरुरी छ।
कांग्रेसका तुलनामा एमालेका नेताहरू जनतासँग नजिक छन्। यो राजनीतिक संस्कृतिले जनता र नेताका बीचको दूरी बढाउँदै लगेको छ। बीपीले कांग्रेसमा सुकिलामुकिलाको प्रभाव बढ्नेछ र पार्टीले फेरि तिनीहरूको विरुद्धमा विद्रोह गर्नुपर्ने छ भनेका थिए। अहिले त्यस्तो अवस्था आएको जस्तो देखिन्छ।
६. आशा देखाउन नसक्नु
चुनावले नेपाली जनता परिवर्तनका पक्षमा रहेछन् भन्ने संकेत गरेको छ। २००७ देखि नै पटकपटक परिवर्तन भए पनि जनताको जीवनयापन फेरिन सकेन। जनताले गाँस, बास र कपास अनि बालबच्चाका लागि शिक्षालगायतका सामान्य र आधारभूत आवश्यकताको सुनिश्चितता खोजेका छन्।
उनीहरूले रेल, पानीजहाज र घरघरमा ग्यास खोजेका छैनन्। काठमाडौंमा दौडने रेलले जुम्लाका जनतालाई के असर पार्छ र ? कांग्रेसलगायत राजनीतिक दलहरूले जनतालाई भुलभुलैया वा सपनामात्रै बाँडेको देखिन्छ।
७. अप्रजातान्त्रिक कार्य
कांग्रेसले चुनावअगाडि केही अप्रजातान्त्रिक देखिने क्रियाकलाप गर्‍यो। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग लगाउने कामको नेतृत्व गर्‍यो। कार्कीका पनि केही कमजोरी थिए होलान् तर नेपाली समाजले कांग्रेसले महिला प्रधानन्यायाधीशविरुद्ध अन्याय गरेको रूपमा बुझ्यो। प्रहरी महानिरीक्षकको मुद्दा, आयल निगमका गोपाल खड्का र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन् प्रमुखआयुक्त लोकमानसिंह कार्कीलाई बचाउन कांग्रेसले खेलेको भूमिकाका कारणले ऊ जनतामाझ अलोकप्रिय हुन पुग्यो। बुद्धिजीवीहरूले समेत कांग्रेसका यस्ता क्रियाकलापको समर्थन गर्न सकेनन्। यस्ता विषयले कांग्रेसका बारेमा जनमानसमा नराम्रो छाप पर्‍यो।
आदर्श र सिद्धान्तमा विश्वास गर्ने कार्यकर्ताको कमी छ। ०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि नै कांग्रेस आदर्श र सिद्धान्तबाट विमुख हुने क्रम बढ्दै गयो। ०६२/६३ पछि पार्टीमा त्यो प्रवृत्ति झन् मौलाउँदै गयो।
८. वाम गठबन्धनको आकर्षक नारा
वाम गठबन्धनको आकर्षक नाराले जनता आकर्षित ग¥यो र त्यसलाई प्रतिरोध गर्ने क्षमता कांग्रेसमा भएन। रेल, पानीजहाज, घरघरमा ग्यास पाइप लाइनजस्ता विषयले जनतालाई वाम गठबन्धनप्रति आशा जाग्यो। वाम गठबन्धनका नारा सस्तो लोकप्रियताका लागि गरिएका जस्ता भए पनि तिनले जनतालाई प्रभाव पार्न सफल भए।
९. कमजोर प्रचार संयन्त्र
चुनावका बेला कांग्रेस नेताहरूका अभिव्यक्ति कमजोर र त्रुटिपूर्ण देखिए। ०६२/६३ को जनआन्दोलनको नेतृत्व, संविधान निर्माण, स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन गराउन कांग्रेसको महत्वपूर्ण भूमिका रह्यो। तर यस्ता उपलब्धिको व्यवस्थितरूपमा प्रचार गर्न कांग्रेसले सकेन।
यसपालि देउवाले सायद चुनाव सार्न चाहेका थिए, किनकि कांग्रेस कमजोर रहेको उनलाई थाहा थियो। तर कांग्रेस पार्टी र देउवाको नेतृत्वमा सरकार नभएका भए चुनाव हुन गाह्रो थियो। स्थानीय तहको पहिलो चरणको चुनाव भएपछि अरू चुनाव गर्न नसकिने ठानेर प्रचण्डले सत्ता हस्तान्तरण गरेका थिए। देउवाको ठाउँमा वामपन्थीकै अरू कुनै नेता प्रधानमन्त्री भएको भए अहिले चुनाव हुन नसक्ने सम्भावना बढी थियो। मधेसकेन्द्रित दललाई राजनीतिक प्रक्रियामा ल्याउनमा देउवाको मुख्य भूमिका छ। समय पाएका भए मधेसकेन्द्रित दल र कांग्रेसबीच लोकतान्त्रिक गठबन्धन सम्भव थियो।
०४६ को आन्दोलन कांग्रेसले नेतृत्व नगरेको भए सफल नहुने सम्भावना बढी थियो। त्यसबेला वामपन्थीले आन्दोलनको नेतृत्व गर्नसक्ने अवस्था नै थिएन। त्यो आन्दोलनमा उनीहरूलाई कांग्रेसले नै तानेको हो। त्यसपछि जारी भएको संविधान र आमनिर्वाचनमा पनि कांग्रेसको जिम्मेवार भूमिका थियो।
०६२/६३ पछि पनि माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन कांग्रेसको महत्वपूर्ण भूमिका थियो। कांग्रेस, अरू दल र खासगरी गिरिजाप्रसाद कोइरालालाई राजाले अवमूल्यन र अपमान नगरेका भए माओवादी मूलधारको राजनीतिमा आउन गाह्रो थियो। माओवादीलाई मूलधारको राजनीतिमा ल्याउँदा कांग्रेसले ठूलो मूल्य भने चुकाउन भने पर्‍यो। जस्तो, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता त्यसबेला कांग्रेसको सिद्धान्त र आदर्शविपरीत थिए तर माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र राजालाई देखाउन कांग्रेसले यी मान्यता त्याग्यो। कांग्रेसले साथ नदिएका भए माओवादीले मात्रै राजतन्त्र फ्याँक्न सक्दैनथे। त्यसपछि संविधान निर्माण, संविधान कार्यान्वयन र मधेसकेन्द्रित दललाई राजनीतिको मूलधारमा ल्याउन पनि कांग्रेसको योगदान थियो। कांग्रेसले यस्ता उपलब्धिको राम्रोसँग प्रचार गर्न सकेन।
कांग्रेसले कम्युनिस्टहरूले चुनाव जिते भने अधिनायकवाद आउँछ भनेर प्रचार गर्‍यो। केही पढेलेखेकाहरूले बुझे पनि, सर्वसाधारण नेपाली जनतालाई अधिनायकवाद भनेको के हो खासै थाहा र चासो छैन। यसैलाई सरल भाषामा जनतालाई बुझाउन सकेका भए कांग्रेसलाई फाइदा हुन्थ्यो। बुद्धिजीवीले पनि ‘अधिनायकवाद’ को हौवामा विश्वास गर्न सकेनन्। संसदीय प्रक्रियामा सामाजिकीकरण भएका कम्युनिस्टहरूले अधिनायकवाद ल्याउँछन् भन्ने बुद्धिजीवीले पनि विश्वास गर्न सकेनन्। नेपालका कम्युनिस्ट पार्टीका नेता प्रजातान्त्रिक र पुँजीवादी शैलीमा अभ्यस्त छन्। त्यसैले उनीहरूले कम्युनिजम र अधिनायकवाद ल्याउलान् भन्ने कल्पना गर्न सकिँदैन। राजनीतिक, सामाजिक र सांस्कृतिक परम्पराका कारण पनि नेपालमा अधिनायकवाद आउन गाह्रो छ।
कांग्रेस खुम्चिनुपर्ने केही कारण छैन। तर यो पार्टीले नेतृत्वका कमजोरीका कारणले मात्र हारेको हो। अहिलेको चुनावमा प्रत्यक्ष र समानुपातिक तर्फको भोटलाई आधार मान्ने हो भने कांग्रेसले होइन त्यसका नेताहरूले हारेको निष्कर्ष निकाल्न सकिन्छ।
source Annapurnapost 

0 प्रतिकृयाहरू प्राप्त

To Top