समाचार / बिचार

प्रचण्ड एकतामै जाँदैनन्, गएपनि पछि पार्टी फुटाउँछन्

पौष ९ २०७४     .
Images cms image 000037907


 प्रदिप गिरी 
 
नख्खु जेलमा बस्दा मैले एकदुई पटक किशुनजीलाई देखें। यो २०२५ सालको कुरा हो। त्यससमय म नेपाल विद्यार्थी संघको उपाध्यक्ष थिएँ र रामचन्द्र पौडेल महामन्त्री हुनुहुन्थ्यो। प्रजातान्त्रिक आन्दोलनको सिलसिलामा जेल बस्दा मैले किशुनजीलाई भेटेको हो।

कृष्णप्रसाद भट्टराईले भन्नुभयो– म हिन्दुस्तानपनि जान्नँ, हतियारपनि उठाउँदिन, सुवर्ण शम्शेरको प्रस्तावपनि स्वीकार गर्दिनँ। एकदिन पचास हजार नेपालीले उठेर दरबार घेर्छन्, म त्यसदिनको प्रतिक्षामा धैर्यपूर्वक बस्छु।

कृष्णप्रसाद भट्टराई अलिकति अध्यात्मिक भाषा बोल्नुहुन्थ्यो। तपस्या गर्छुपनि भन्नुहुन्थ्यो। जनताको साधना गर्छु भन्नुहुन्थ्यो कहिलेकाहिँ। किशुनजीले त्यसरी भनेको सुन्ने प्रारम्भिक विद्यार्थी युवकमध्ये मपनि थिएँ। विपीले सशस्त्र संघर्षको आह्वान गरिसक्नु भएको थियो, सुवर्ण शम्शेर कलकत्तामै हुनुहुन्थ्यो। राजालाई सम्झाई बुझाई, फकाई फुल्याई प्रजातन्त्रको मार्गमा ल्याउँछु भनेर लाग्नुभएको थियो। किशुनजीले संविधानका दुई वटा धाराभन्दा पृथक धाराको वकालत गर्नुभएको थियो। सुवर्ण शम्शेरले भनेजस्तो राजालाई प्रयोग गर्ने, न विपीले भनेजस्तो हतियावद्ध क्रान्ति गर्ने। जेलभित्रै बस्ने, भारत नजाने, अहिंसात्मक पद्धतिबाट जनतालाई प्रेरित गरेर, संगठित गरेर ५०औं हजार मानिसद्वारा नारायणहिटी दरबार घेर्न लगाउने।

यसको कुन आयाम छ? यसको राजनीतिक आयाम होला, यसको आर्थिक सामाजिक आयामपनि होला, यसको अन्तर्राष्ट्रिय आयामपनि होला। भारतले नाकाबन्दीपनि गरेको थियो। त्यतिमात्र होइन नेपालमा पूर्व पश्चिम राजमार्ग बनेको थियो, स्कुल कलेज खुलेका थिए, छापाहरु व्यवस्थित रुपमा आएका थिए। एकजना व्यक्तिले दरबार घेर्ने भन्दैमा ज्योतिषीले भनेजस्तो सजिलो थिएन। नेपाली कांग्रेसका दुईजना सबभन्दा शक्तिशाली नेता र गणेशमानजी समेत एक ठाउँमा उभिएका बेला, संगठनमा कुनै पकड नभएका किसुनजीमा त्यो आँट कहाँबाट आयो? सुवर्ण शम्शेरले भनेको बाटोपनि ठिक छैन भनेर एक्लै हिँड्न सक्ने, एक्लै उभिन सक्ने व्यक्ति हुनुहुन्थ्यो किसुनजी।

नेपाली कांग्रेसमा देखिएका कमिकमजोरी, वैचारिक विचलन, मूल्य हिनताका विरुद्धमा बोल्न खोज्दाखेरी तपाईँ युवाहरुमध्ये कसैलाई ‘म एक्लै भएँ, मेरो कुरामा कसैले पनि समर्थन गरेन, कसैले पनि थपडी बजाएन’ भन्ने लाग्दा हतोत्साहित नहुनुहोला। सहि कुरामा एक्लै लड्दाखेरीपनि यथासमय बोल्नेको प्रतिष्ठा हुन्छ। सहि कुरा भन्दा सुरुमा मान्छेहरुले ध्यान दिँदैनन्, उपहास गर्छन्।

आश्चर्य लाग्ला, किसुनजीले यो कुरा गर्दा स्वयं कांग्रेसभित्रका मान्छे ‘किसुनजी बौलाएजस्तो छ’ भन्थे। के कुरा गरेको होला, कहाँबाट हुन्छ भन्थे। त्यसबेला उनीहरू मलाई नै कानमा भन्थे, ‘प्रदिप तिमी किसुनजीको कुरा नसुन, उहाँ त बौलाएजस्तो छ।’

सुन्दासुन्दा मलाई पनि हो कि जस्तो लाग्थ्यो। दाउपेच र नेतृत्वको लडाइँ आफ्ना ठाउँमा छन्, ती राजनीतिका अनिवार्य अंगहरु हुन्, तीबाट भाग्न सकिन्न। तर मनमा लागेको कुरामा एक्लै उभिन सक्ने क्षमता लिएर ४–५ जनाले काम गर्नुभयो भने कांग्रेसको केहिपनि बिग्रिँदैन। झन् पुष्पित, पल्लवित भएर अगाडि बढ्छ।

एकजना मित्रले भने– सारा विश्वबाट कम्युनिष्ट गए। नेपालमाचाहिँ किन कम्युनिष्ट आए? एउटा कुरा बुझ्न जरुरी छ, यो बुझ्नुभयो भने धेरै कुरा बुझ्नुहुन्छ। नामले के हुन्छ? कांग्रेसको जन्म १९४७–४८ सालमा भयो। द्वितिय महायुद्ध भर्खर सकिएको थियो। विश्व दुई चिरा भएको थियो। एउटा सोभियत संघले नेतृत्व गरेको कम्युनिस्ट शिविर अर्को अमेरिकाले नेतृत्व गरेको शिविर।यसलाई कुटनीतिक भाषामा शीतयुद्ध भनिन्छ। यो कहिले नबिर्सनु, नेपाली कांग्रेस शीतयुद्धको सन्तान हो। कांग्रेसमात्र होइन, तेस्रो विश्वका थुप्रै सोसल डेमोक्रेटिक पार्टीहरु। हामीहरु अन्ध कम्युनिस्ट विरोधमा हुर्कियौँ। विपीले पनि आजीवन कम्युनिस्टको विरोध गरेको ग¥यै गर्नुभयो। गणेशमानजी नहुनुहुँदो हो त २०४६ सालको जनआन्दोलन सफल हुने थिएन, सम्भवै थिएन। त्यसैले अब अन्ध कम्युनिस्ट विरोधी मानसिकता हटाइदिनुस्। यी रुसका कम्युनिस्ट होइनन्, यी भियतनामका कम्युनिस्ट होइनन्, क्युवाका कम्युनिस्ट होइनन्। यी नेपाली हावापानीमा हुर्किएका कम्युनिस्टहरु हुन्।

पञ्चायतकालमा राजा महेन्द्रको थेगो थियो– हावापानी सुहाउँदो व्यवस्था बनाउँछु भन्ने। नेपालका कम्युनिष्टहरू राजा महेन्द्रकै कोखबाट उत्पन्न भएका हावापानी सुहाउँदा कम्युनिस्ट हुन्। हामीपनि किसुनजी र गणेशमानजीको पालाका कांग्रेस होइनौं। एक दुईजना अपवाद होलान्, नसकेर मौका नपाएर भएका तर हामी अधिकांस त्यो कांग्रेस होइनौं। हामी अलि बेग्लै खालका कांग्रेस हौं, यिनीहरु पनि बेग्लै खालका कम्युनिस्ट हुन्। त्यसैले तपाईँहरुले कम्युनिस्टहरुसँग लड्ने बारेमा कम्युनिस्ट बारेको भ्रान्ति र भय मनबाट हटाइदिनुस्। तपाईँहरुले भनिरहनुभएकै छ, मिडियाले लेखेको लेख्यै छन् कम्युनिस्टले धेरै भोट ल्याए भनेर। हेर्नुस्, चुनावमा ल्याएको भोटको केहि भर हुँदैन। १९७१ मा इन्दिरा गान्धीले प्रचण्ड बहुमत ल्याएकी थिइन्। तीन वर्ष बित्दा नबित्दै जयप्रकाश नारायणले आन्दोलन शुरु गरे। इन्दिरा गान्धीले नमज्जाले चुनाव हारेर विलिन भएजस्ती भइन्। इन्दिरा गान्धीपछि राजीव गान्धीले १९८४ मा तीन चौथाइ बहुमत ल्याएका थिए। आमा, बाजेभन्दा बेसी थियो उनको मत। विश्वनाथप्रकाशजीको आन्दोलनले त्यो बहुमतलाई पल्टाइदियो।

तपाईँहरुलाई त्यत्रो ज्यादा कम्युनिस्टसँग भय छ भने भ्रष्टाचारको विरोध गर्न कम्मर कस्नुस् कम्युनिस्टको नेतृत्वको यो सरकारले पाँच वर्षपनि संसद चलाउन सक्दैन। भारतका समाजवादी नेता डा. राममनोहर लोहिया भन्थे, ज्युँदो जातीले परिवर्तन गर्न पाँचवर्ष पर्खिनुपर्दैन। म संसदीय परम्परामा विश्वास गर्छु, शान्तिमा विश्वास गर्छु तर यो भन्दापनि ठूलठूला तानाशाही सरकार आन्दोलनबाट गएका छन्। त्यसैले हतार नगर्नुस्, ढुक्क बस्नुस्, ६–७ महिना बोल्ने कामै छैन। अहिले पार्टीलाई चुस्त दुरुस्त बनाउनुस्, पार्टीभित्रका कमीकमजोरीलाई हटाउनुस्। कम्युनिस्टसँग, कम्युनिस्ट नामधारीसँगको डर हटाइदिनुस्।

तपाईँहरुको यो डर देख्दा म महाभारतको लडाइँ सम्झिन्छु। म कुनै उपदेश दिने ठाउँमा छैन र कृष्ण होइन। अर्जुनले डराएर भिष्म पितामह, द्रोणाचार्य, कर्णसँग कसरी लड्नुभयो? मेरो हात काँप्दै छ भन्दा कृष्णले जवाफ दिएका थिए। 

000

पहिलो सन्देश म किशुनजीको बारेमा के दिन चाहन्छु भने उहाँ एउटा छाता टेकेर टुकुटुकु घरजाँदा उहाँसँग ४–५ जना हुनुहुन्थ्यो। यहाँ त म थुप्रै मान्छे देख्दैछु। त्यसैले पहिलो कुरा हृदयबाट कम्युनिस्टको आतंक हटाइदिनुस्। र थाहा पाउनुस्, यिनीहरु ती कम्युनिस्ट होइनन्, नेपाली हावापानीमा हुर्किएका कम्युनिस्ट हुन्।

हामीमा परिस्कार चाहिएको छ। मलाई लाग्छ, किसुनजीकै पालाको जस्तो त्याग तपस्यापनि अब जरुरत छैन र सम्भवपनि छैन। मैले भन्न खोजेको के हो भने देशकाल र परिस्थिती बदलिन्छ। विपीको जीवनकालमा सोभियत युनियनको बिघटनपनि भएको थिएन, पूर्वी युरोपपनि टुटेको थिएन, भुमण्डलीकरण आएको थिएन। अहिले कम्युनिस्टले अधिनायकवाद ल्याउँछ भन्छन्, सके त ल्याउँथे तर भुमण्डलीकरणको अगाडि चीनमै अधिनायकवाद ल्याउने स्थिति छैन। नेपालका कम्युनिस्टले अधिनायकवाद ल्याउन चाहन्छन् भने बेग्लै कुरा हो, तर अधिनायकवाद आउँदैन। यिनीहरुको मानसिकता अधिनायकवादी छ, तर यिनीहरुले अधिनायकवाद ल्याउँदैनन्। त्यसैले हामीले मौलिक ढंगले सोच्नुपरेको छ।

संगठनका कमिकमजोरी आफ्ना ठाउँमा छन् तर मुलुकको सामाजिक, आर्थिक परिस्थितीको विश्लेषणमा कांग्रेस कहाँ चुकेको छ? र कसका लागि चुकेको छ? व्यक्ति विशेषको नाम लिएर पार्टीका साथीको आलोचना अशोभनीय हुन्छ। तर कसलाई थाहा छैन, कांग्रेसको आर्थिक नीति हामीले दुई वा एक तथाकथित अर्थशास्त्रीलाई जिम्मा लाइदियौं भन्ने? र त्यो अर्थशास्त्रीले कहिलेपनि जनमुखी कल्याणकारी कार्यक्रममा ध्यान दिएन। नेपालगञ्ज महासमितिमा डा. रामशरण महतले ल्याएको आर्थिक नितीको मैले अत्यन्त कडा आलोचना गरेको थिएँ। उल्टो दिशामा जाँदैछौं हामी भनेको थिएँ। तर हलले त्यसैलाई पारित ग¥यो।

गिरिजा बाबुले हात उठाएर, ‘प्रदिप गिरीले भनेको त ठिक हो तर रामशरण महतको पारित गर्नुपर्छ’ भनेपछि तर्रर ताली बज्यो। हामीले जनमुखी कार्यक्रम बनाउँदै बनाएनौं। एकातर्फ संगठनमा छलफल नहुने, बहस नहुने, ब्याख्या नहुने। सबैले बिधि विधानको कुरा गर्ने तर सभामुखले बिधान मिचेर नियुक्ति दियो भने पनि त्यो नियुक्ति तपाईँलाई चाहिएकै हुने। सानाबाट किन कुरा गर्ने, ठूलैबाट कुरा गरौं न। रामचन्द्र पौडेललाई गिरिजा कोइरालाले एकचोटी संसदीय बोर्डबाट हटाइदिनुभयो। रामचन्द्रजीले कमिटिमा नोट अफ डिसेन्ट लेखे, र मैलेपनि नोट अफ डिसेन्ट लेखिदिएँ उहाँलाई अन्याय भयो भनेर।

पछि गिरिजाले नियुक्ति गर्नुभयो, उहाँ सुटुक्क जानुभयो। पार्टीको संसदीय बोर्डमा २५ जना मान्छे बस्छन्। २५ जना राख्नेमात्र उल्लु हो कि जानेपनि उल्लु हो? संसदीय बोर्डमा त कम्तिमा ६–७ मान्छे राखे भइहाल्यो। जित्ने कुरा के थियो? त्यहाँ ‘टिकट मलाई दिनुस्, म बाहेक अरुले जित्दै जित्दैनन्’ भन्छन्। गाउँपालिकामा चुनाव भइसकेको थियो, मेयरको चुनाव भइसकेको थियो। अनि २५ जनाको बोर्ड बनाएर के गर्न खोजेको? पार्टी अब शुद्धिकरण, परिष्करण हुनुपर्छ। यो परिपाटी किशुनजी, गणेशमानजी र गिरिजाबाबुको पालामा थिएन। त्यसैले पार्टी शुद्धिकरण गर्दा कार्यकर्ताको पंक्तिबाट, दोस्रो तहका नेताको पंक्तिबाट, तेस्रो तहका नेताको पंक्तिबाट पनि एकदमै गम्भिरतापूर्वक आफूमाथि नजर राख्नुपर्छ।

सबै महत्वाकांक्षी युवाहरु १६–१७ वर्षे उमेरमा दुनियाँ नै बदल्छु भनेर हिंड्छन्। भकुण्डोजस्तो विश्वलाई नचाउँछु भन्छन्। यो कुरा किसुनजीले पनि भन्नुहुन्थ्यो। उमेर छिप्पिँदै जाँदा दुनियाँ त होइन नेपाललाई चाहिँ बदल्छु कि जस्तो लाग्छ। नेपालपनि सकिएन अब नेपाली कांग्रेसलाई बदल्छु जस्तो हुन्छ। त्यो पनि सकिएन सिरहा जिल्ला बदलुँकी जस्तो हुन्छ। त्यो पनि सकिएन, गाउँलाई बदलुँ भन्ने विचार आउँछ। त्यो पनि नसकेपछि आफैंलाई बदलेपनि पुग्छ। ए बाबा! के को दुनियाँ बदल्ने, आफैंलाई बदल्न पाए पुग्नेरहेछ भन्ने लाग्छ। त्यसैले आजका मितिमा कांग्रेसका चार पाँच जना सदस्यले आफैंलाई बदलेर कांग्रेसमा नयाँ कुरा ल्याउनुभयो भने अहिले कम्युनिस्ट आए भनेर जुन भय छ, आतंक छ त्यो स्वतः दुर भएर जान्छ।

सत्तामा कम्युनिस्ट आउने बित्तिकै उहाँहरुले निश्चित रुपमा नामुद भ्रष्टाचार गर्नुहुन्छ। हामीले उहाँहरुलाई जति सिकाएका छौं त्योभन्दा बढी उहाँहरुले सिकिसक्नुभयो। त्यसको गणना गर्नलाई प्रचण्ड प्रधानमन्त्री भएपछि गोरखापत्रमा भर्ती गरेका मान्छे हेर्नुस्। कांग्रेसले भर्ती ग¥यो भनेर विरोध गर्ने, आफुले पाए डबल भर्ती गर्ने।

प्रचण्डजीको जुन चमत्कारिक शैली छ, त्यसमा अब दुईवटा कुरामात्र बाँकी छ। अहिले नै उहाँ एमालेसँग एकीकरणमा जानुहुन्न अथवा एकीकरणमा गए त्यहीँका मान्छे लिएर ४० प्रतिशत बनाएर पार्टी तोड्नुहुन्छ। तपाईँहरु नआत्तिनुहोला, अहिले जाँदापनि जान दिनुहोला, ४० प्रतिशत लिएर आउनुहुन्छ। त्यो पार्टी एक रहन सक्दैन। त्यो पार्टी एक रहनेबारे चिन्ता नगर्नु। चिन्ता के मा गर्नुस् भने हाटहुट गर्दागर्दै हाम्रो पार्टीमा पनि त्यही नहोस्। हाम्रो पार्टीमा एकता रहोस्। आलोचना, प्रत्यालोचनामा उत्रनुस्, सार्वजनिक रुपमा पनि गर्नुस्। तर अन्तत्वगत्वाः एउटै कमिटीमा बस्नुपर्ने अवस्थाबाट तपाईँहरु कहिलेपनि टाढा नजानुस्। तपाईँहरुलाई थाहा छ, एकदम अपमान सहेरपनि किसुनजीले पार्टी एकता टुट्न दिनुभएन।

(कृष्णप्रसाद भट्टराईको ९४औं जन्मजयन्तीको अवसरमा आयोजित ‘किसुनजी र उनको नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीमा शुक्रबार गिरीले राखेको मन्तव्यको सम्पादित अंश)

source, setopati

1 प्रतिकृयाहरू प्राप्त

K R Dahal लेख्नुहुन्छ | 13 दिन अगाडी

Dear Author, Really it is very interesting and analytical article. I am being a communist supporter would like to appreciate your views. Your future forecasting on fraction of communist party and role of Prachand, may or may not be true. However, your thought and writing style is very good. Thank you very much for convincing article. Best regards Prof. K R Dahal, PhD

To Top