लालु यादव अदालतबाटै गिरफ्तार,चारा घोटालामा दोषी

विश्व पौष ८ २०७४ .
Images cms image 000037928


पुस ८
बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको छ। राँचीस्थित एक विशेष सिबिआइ अदालतले यादवलाई चारा घोटालामा दोषी ठहर गरेको हो।

अदालतले लालुसहित अन्य १५ जनालाई दोषी प्रमाणित गरेपछि उनलाई अदालत परिसरबाटै पक्राऊ गरिएको छ।

यद्यपि उनको सजायको घोषणा भने जनवरी ३ २०१८ मा अदालतले गर्नेछ।

अर्का आरोपी बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रालाई भने अदालतले निर्दोष घोषित गरेको छ।

के हो चारा घोटाला ?
१९९० को दशकमा लालु बिहारको मुख्यमन्त्री रहेको समयमा पशुलाई खुवाउने चाराको नाममा सरकारी कोषबाट ९५० करोड निकालिएको आरोप छ। यद्यपि यसमा यति नै रकम भ्रष्टाचार भएको भन्ने निश्चित छैन। सन् १९९६ देखि यो काण्डले चर्चा पाउँदै आएको छ। यही विषय चर्को रुपमा उठेपछि १९९७ मा लालुले मुख्यमन्त्री पदबाट राजनीमा दिनुपरेको थियो।

यो काण्डमा जोडिएका ५३ ओटा मुद्दामध्ये ४४ ओटाको फैसला भइसकेको छ। ४५ औँ मुद्दा, अर्थात् देवघर खजानाबाट ८९ लाख २७ हजार भारतीय रुपैँया अवैध निकासी गरेको विषयमा लालुलाई दोषी घोषित गरिएको छ। उनी पाँच ओटा मुद्दामा आरोपी छन्। अन्य मुद्दाको फैसला हुन बाँकी छ। 

यसअघि नै चाइबासा खजानाबाट ३७ करोड रुपैँया निकासा गरिएको मुद्दामा दोषीहरुले सजाय पाइसकेका छन्।

फैसलालगत्तै राष्ट्रिय जनता दलले त्यसको विरोध गरेको छ। लालु यादवको आधिकारिक ट्विटर ह्याण्डलबाट अन्तिममा सत्यको विजय हुने भन्दै ट्विट गरिएको छ। उनले आफूलाई पूरा बिहारको साथ रहेको पनि दाबी गरेका छन्। 

उनले यो फैसलालाई आफ्नो झुठ र अपराध लुकाउने भारतीय जनता पार्टीले खेलेको ‘फोहोरी खेल’ को संज्ञा दिएका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top