नवलपरासीमा फलाम खानी सञ्चालन हुँदै

समाज पौष ८ २०७४ ekhabarnepal
Download

नवलपरासी, ८ पुस–  नवलपरासीमा दुई करोड टनको फलामखानी रहेको अनुमान गरिएको छ। नेपालको सबैभन्दा ठूलो फलाम खानी रहेको हुप्सेकोट ५ पोखरी जाने सडक विस्तार कार्य सुरु भएको छ। पूर्व–पश्चिम रार्जमागको डण्डादेखि फलामखानी रहेको पोखरी क्षेत्र पुग्ने २१ किलोमिटर लामो सडकमध्ये झ्यालबासदेखि पोखरीसम्मको सडक विस्तार सुरु भएको हो।
पहिलो चरणमा गरिएको अध्ययनमा यहाँ दुई करोड टनको फलामखानी रहेको अनुमान गरिएको छ। पूर्वमा धौवादी र पश्चिममा नाम्जाकोट हुदै दक्षिणमा रुम्सी र उत्तरमा नरमको ल्हापेसम्म फलामखानी भेटिएको छ।  एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला नेपालको भूगर्भभित्र रहेका पेट्रोल, फलाम लगायतका वस्तुहरुको सम्भाब्यता उत्खनन् गर्ने कार्यक्रम अघि बढेको थियो । सोही अनुरुप नवलपरासीमा १० किलोमिटर क्षेत्रमा २ करोड टन बरावरको फलाम खानी फेला परेपछि त्यसको उत्खनन् कार्य अघि बढेको हो । 

फलामखानी सम्म पुग्ने बाटो डण्डादेखि झ्यालबाससम्मको ६ किलोमिटर क्षेत्र ४ वर्षदेखि कालोपत्रे गरी सञ्चालनमा रहेको थियो। झ्यालबासबाट फलामखानी रहेको पोखरी पुग्ने १५ किलोमिटर सडक निर्माणको काम थालनी गरिएको हो। पहिलो चरणमा अहिले ४ किलोमिटर सडक फराकिलो पार्ने र भित्ता काट्ने काम भइरहेको छ। दुईवटा मेसिन र ६० जना कामदारले सडक विस्तारको काम जारी राखेका छन्।

दुई महिना अघिदेखि काम सुरुवात गरिएको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिइन्। सडक डिभिजन कार्यालय बुटवलको ३ करोड ६८ लाख रुपैयाँको बजेटमा महालक्ष्मी काश्यप जेभी कम्पनीले सडक विस्तारको ठेक्क पाएको छ। दुई वर्षभित्र काम पूरा गर्ने गरी पहिलो चरणको ठेक्का लगाइएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ।

दुई महिनाको अवधिमा करिब तीन किलोमिटर सडक निर्माण गर्ने काम सकिएको निर्माण ठेक्का लिएका महालक्ष्मी काश्यप जेभी कम्पनी काठमाडौंका ठेकेदार अर्जुन ढुङ्गेलले बताए। सात मिटर चौडाइ रहने गरी बाटो निर्माण गर्ने सम्झौता भए पनि ठूलो पहाड काट्नुपर्ने ठाउँमा १० मिटर चौडाइमा भित्ता काटिएको ढुङ्गेलको भनाइ छ। दुई महिनामा १० प्रतिशत काम पूरा भएको छ। आफूले ठेक्का लिएको सडक खन्ने काम लगभग पूरा हुन लागेको भए पनि अब वाल लगाउने, तटबन्ध बाँध्ने र खोल्साहरुमा ह्युमपाइप राख्ने काम बाँकी रहेको ढुङ्गेलले बताएका छन्। सरासर काम हुने हो भने समयमै काम पूरा हुने भए पनि कामदारको अभाव र प्रतिकुल समयका कारण काममा ढिलाइ हुन सक्ने उनको भनाइ छ।

धौवादीमा फेला परेको फलामखानीको उत्खननका लागि सम्भाव्यता अध्ययन यसै वर्ष सकिने जनाइएको छ। दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका खानीहरुको अध्ययन गर्न टोली खटाएका थिए । त्यसबेला साविक धौवादी गाविस अहिलेको हुप्सेकोट गाउँपालिका ५ पोखरीको १० किलोमिटर क्षेत्रमा फलामखानी फेला परेको थियो।  विभागको विशेषज्ञ र प्राविधिकसहितको टोलीधौवादीमा ड्रिलिङ गरेर फलामको उत्खननको सम्भाव्यता र त्यसको परिमाण यकीन गर्ने काम अघि बढाएको थियो।

 

प्राप्त प्रतिकृयाहरू

To Top