आजको इपिएल क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा काठमाडौं किंग्स एलेवेनको जित

खेल पौष ६ २०७४ ekhabarnepal
Images cms image 000037834

एभरेष्ट प्रिमियर लिग(इपिएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा चितवन टाइर्गसलाई ३ विकेटले पराजित गर्दै काठमाडौं किंग्स एलेवेनले प्रतियोगितामा पहिलो जित हात पारेको छ।१ सय ४३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १९.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटायो।काठमाडौंले दोस्रो ओभरको तस्रो बलमा ओपनर सागर पुनलाई गुमाएको थियो। प्रवीण गुप्ताको बलमा अनिलकुमार मण्डलले सागरलाई ५ रनको स्कोरमा हुँदा क्याच गरे।

अर्का ओपनर अमित श्रेष्ठलाई साथ दिन आएका काठमाडौंका कप्तान तथा श्रीलंकाली खेलाडी फरवेज महारुफले आक्रमक खेल पस्के।चौथौ ओभरको अन्तिम बलमा प्रमेश कुमारलाई छक्का प्रहार गर्दै रनको खाता खोलेका महारुफले पाँचौ ओभरको तेस्रो र चौथो बलमा प्रवीण गुप्तालाई लगातार दुई चौका प्रहार गरेका थिए।त्यस्तै पावर प्लेको अन्तिम ओभरमा कमलसिंह ऐरीलाई महारुफले अन्तिम बल नो बलमा छक्का र त्यसपछिको बलमा चौका प्रहार गरे।६ ओभरको पावर प्लेको समाप्तीमा काठमाडौंले ६१ रन पुरा गर्यो। ईपिएलमा हालसम्म भएका खेलमा पावर प्लेमा बनेको यो सर्बाधिक स्कोर थियो।

उनलाई साथ दिइरहेका अमित श्रेष्ठ नवौ ओभरको दोस्रो बलमा ३८ रनमा आउट हुञ्जेल उनीहरु बीच २८ बलमा ६५ रनको साझेदारी भएको थियो। २४ बलको सामना गरेका अमितले ४ चौका प्रहार गरे।१३ औं ओभरको पहिलो बलमा प्रवीण गुप्ताले महारुफलाई विकेटकिपर दीलिप नाथबाट स्टम्पिङ गर्नुअघि उनले ३९ रन जोडे। ३३ बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे।

सोही ओभरको अन्तिम बलमा भर्खरै क्रिजमा आएका सोमपाल कामी रन आउट हुदै काठमाडौंकोे चौथो विकेट झरेपछि काठमाडौंको रनगति रोकिएको थियो।सिद्धान्त लोहनीसँग १८ बलमा २१ रनको साझेदारी गर्दै सागर कुमार २३ रनमा आउट भए। उनलाई १६ औं ओभरको अन्तिम बलमा प्रमेश कुमारले एलबिडब्लुको सिकार बनाएका थिए।

अर्को ओभरको दोस्रो बलमा सिद्धान्त लोहनी (१२) रन आउट भएपछि काठमाडौं दबावमा आयो। त्यसबखत ६ विकेट गुमाएको काठमाडौंलाई २२ बलमा १८ रनको आवश्यकता थियो भने क्रिजमा राजु रिजाल र अक्क्षु फर्नान्डो दुबै नयाँ ब्याट्सम्यान थिए।१९ औं ओभर स्वयम लिएर बलिङमा उत्रेका चितवनका कप्तान दीपेन्द्रसिंह ऐरीले राजु रिजाल(४)लाई विकेटकिपर दीलिप नाथको हातबाट क्याच गराएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो।सोही ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै अमरसिंह रौटेलाले काठमाडौंलाई अन्तिम ६ बलमा २ रन आवश्यकताको स्थितिमा पुर्याए भने अन्तिम ओभरको दोस्रो बलमा दुई रन लिदै अक्क्षु फर्नान्डोले काठमाडौंलाई पहिलो जित दिलाए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो।चितवनको सुरुवात राम्रो रहेन। ओपनर अनिलकुमार मण्डल १० बल खेल्दै २ रनमा पवेलियन फर्के। सम्हालिएर खेलिरहेका अर्का ओपनर दीलिप नाथलाई साथ दिन क्रिजमा आएका सन्दीप सुनार पनि धेरैबेर क्रिजमा टेकेनन्।

५ रनको स्कोरमा सन्दीपलाई सागर पुनले कट एण्ड बोल्ड आउट गरे। १२ औं ओभरको अन्तिम बलमा विक्रम भुसालले ४६ रनमा खेलिरहेका दीलिप नाथलाई सागर पुनबाट क्याच गराउनुअघि उनले साबेज खानसँगै मिलेर ३६ रनको साझेदारी गरेका थिए।४० बलमा ५ चौका र १ छक्का प्रहार गरी दीलिप पवेलियन फर्केसँगै उनलाई साथ दिन १३ औं ओभरमा चितवनका कप्तान दीपेन्द्रसिंह ऐरी क्रिजमा आएका थिए।चौधौं ओभरमा विक्रम भुषाललाई दुई छक्का प्रहार गरेका साबेजलाई १६ औं ओभरको पहिलो बलमा अमरसिंह रौटेलाले विक्रम भुषालको हातबाट क्याच गराए। २५ बलको सामना गरेका साबेजले २ छक्का सहित २७ रन जोडे।

१७ औं ओभरको दोस्रो बलमा काठमाडौंका कप्तान फरवेज महारुफले चितवनका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ९ रनमा पवेलियन फर्काउपछि चितवन दबावमा देखिएको थियो।सोही ओभरको अन्तिम बलमा महारुफले नै क्रिजमा आएका नयाँ ब्याट्सम्यान चितवनका भारतीय खेलाडी प्रवीण गुप्तालाई १ रनको स्कोरमा एलबिडब्लु धरापमा पारे।२० औं ओभरको पहिलो बलमा सोमपाल कामीको नो बलमा दोस्रो रन लिन दौडेका योगेन्द्रसिंह कार्की रन आउट हुन पुगे। १३ बलको सामना गरेका योगेन्द्रले १ चौका सहित १७ रन जोडे।त्यससँगै कमलसिंह ऐरी १२ तथा प्रवीण कुमार ९ रनमा क्रिजमा नटआउट रहे।काठमाडौंका फरवेज मेहरुफले ३, सागर पुन, अमरसिंह रौटेला र विक्रम भुषालले समान १ विकेट लिए। जितसँगै काठमाडौंले २ अंक जोडेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top