यसरी किन वढारियोे कांग्रेस

बिचार मंसिर २६ २०७४ .
D.r.ghimire


डी.आर. घिमिरे
प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्षतर्फको निर्वाचन परिणामले वाम गठबन्धनलाई अभूतपूर्वक सफलता मिलेको छ । मुख्यतया नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को र कतै कतै मसालसमेतको संयुक्त गठबन्धनले प्रदेश–२ बाहेक सबै प्रदेश र संघीय संसद्मा झण्डै दुइतिहाइ बहुमत पाउने निश्चित भएको छ । यद्यपि समानुपातिकतर्फको परिणामले मात्र ठोस र मूर्त रुप लिने भएकोले दुइ तिहाइकैवारेमा अहिलेनै ग्यारेण्टी गर्न सकिन्न । 
यो परिणाम गठवन्धनको फल त अवश्यै हो तरपनि यो तहसम्म आउला भनेर शायद स्वयम् वाम दलहरुले पनि आंकलन गरेका थिए  । नत कांग्रेस यसरी वढारिएर जाला भनेर कसैले सोंचेको थियो । वरु वाम तालमेल पछि कांग्रेस धेरै हदसम्म एकढिक्का भएर जाने अनुमान गरिएको थियोे । त्यसो भयो पनि । तर, कांग्रेसको यो वेहाल आश्चर्यजनकनै छ । यो कुरा अर्कै हो कि वाम गठवन्धन भित्र पनि वामदेव गौतमको पराजय अस्वभाविक र अकल्पनीय हो । स्थानीय तहको मत संख्यालाई हेर्दा फराकिलो मतान्तरले विजय हुनुपर्नेमा उल्टै पराजय हुनुले आन्तरिक समस्यानै होला भन्न सकिन्छ । 
यसरी कांग्रेस वढारिनुमा धेरै कारणहरु होलान् । जसको समिक्षा विस्तारै हुदै जाला । उक्त पार्टीले पनि गर्दै जाला तथापि वामपन्थीहरुप्रतिको जनलहर र कांग्रेसप्रतिको वितृष्णाकावारेमा तत्काल निम्नानुसार समिक्षा गर्न सकिन्छ ।
१. गठवन्धनले  थप्यो अभूतपूर्व उत्साह  ः
 निर्वाचनको पूर्वार्धमा एमाले र माओवादी केन्द्रका वीचमा भएको गठवन्धनले कार्यकर्ताहरुमा अभूतपूर्व उत्साह ल्यायो । स्थानीय निर्वाचनको परिणामले एमालेलाई उत्साह थपेकै थियो । त्यसै पनि वहुमत आउला कि भन्ने अशाको सञ्चार जगाएकै थियो । तथापि स्थानीय तहमा भएको माओवादी केन्द्र र कांग्रेसको तालमेलले एमालेलाई तर्साएको पनि थियो । यद्यपि कांग्रेससंगको तालमेल माओवादी केन्दका कार्यकर्तालाई अप्राकृतिक लागिरहेको थियो । माथिवाट परिस्थितिले र वाध्यताले मिल्ने एउटा कुरा हो भावनात्मक कुरा दोस्रो कुरा हो । जव दुइ पार्टीको तालमेल भयो त्यसले एकखालको द्घिविधाग्रस्त अवस्थामा  रहेका कार्यकर्तालाई नयां आशाको सञ्चार गरायो । अझ त्यसमा पनि त्यो तालमेल चुनावी मात्र नभएर दुई पार्टीबीच एकीकरण नै गर्न लागेको सन्देशले थप उर्जा प्रदान गर्यो । 
एकथरी थिए जसले यो गठवन्धन सिटको बांडफांडमा पुगेपछि भत्कन्छ भन्थे । जव ६०–४० प्रतिशतको आधारमा सिट बांडफांड भयो त्यसपछि टिकट  पाउने र नपाउनेकावीचमा मारामार हुन्छ भने । जव यो कुरा पनि भयो त्यसपछि अन्तरघात हुन्छ भन्दै गए । तर, परिणामले यी सवै कुरालाई असफल वनायो । केही अपवाद छोडेर अन्तरघात पनि भएन । वरु साझा घोषणापत्र जारी गरियो र एउटै पार्टीका उम्मेदवारको रुपमा प्रचारमा लागे ।   
२.स्थायी सरकारको आशा ः
एमाले र माओवादीको गठबन्धनले स्थायित्वको नारालाई विश्वस्त ढंगले उठायो । समानुपातिक प्रणालीका कारण कसैको पनि वहुमत नआउने अड्कल गरिरहेकै अवस्थामा यो नारालाई जनताले पत्याउन सक्छन् कि सक्दैनन् भनेर भन्नुभन्दा पनि ओली र प्रचण्डले एकै आवाजका साथ यो कुरा उठाए र निरन्तर यसको वकालत गरे । हरेक वर्ष सरकार वन्ने र विघटन हने हुनाले मुलुकको विकास अवरुद्घ भएको थियो । सत्ता स्वार्थका लागि मनपरि गर्ने र मुलुक दलीय भागवण्डा गरि चलाउने जस्ता कैयन् कारणले एकपटक वहुमतको सरकार हेर्ने तीव्र इच्छा जनतामा जाग्यो । 
दल खोल्ने र त्यसकै आधारमा भाग खोज्ने प्रवृत्तिको अन्त्य होस् भन्ने पनि जन चाहाना थियो । लोकतन्त्रमा पार्टीहरु चाहिन्छन् तर, त्यसको सीमितता भएन भने अराजकता हुन्छ । यो कुरा नेपाली नागरिकले बुझेका थिए । साथै दलहरुकावीच बैचारिक एकता चाहिन्छ भन्ने पनि थियो । अहिलेसम्म जे जति सरकार वन्ने र भत्कने भए ती सवै स्वार्थकेन्द्रित हुन् भन्ने निष्कर्ष पनि एक अर्थमा थियोनै । यसैले अहिले वैचारिक तहमा भएको एकता दीगो रहन्छ भन्ने विश्वासले पनि केही हदसम्म काम गरेको हुनुपर्छ । यी सवै कुरा जनचाहना अनुसार भएका थिए । सम्भवत ः धेरै लामो समयदेखि जनस्तरको भावनालाई  दलहरुले यो मागमार्फत् सम्वोधन गरे । 
३. जनमतको कदर ः 
दलहरु आपसमा मिलुन् भन्ने जनचाहनालाई कांग्रेसले वेवास्ता गर्यो । वास्तवमा ०६२÷०६३ पछि वामपन्थी मात्र हैन कांग्रेससमेत्ले मिलेर १० वर्ष सरकार चलाउन् र विकासको गोरेटो खनुन् भन्ने चाहान्थे तर, कांग्रेसले एमालेलाई पर सारेर अन्य साना दललाई मिलाएर सरकार वनाउने नीति लियो । निकटतम प्रतिष्पर्धी दललाई उसले पटक्कै रुचाएन । वरु लोकतन्त्रमा प्रतिपक्ष चाहिन्छ भन्ने नीति अख्तियार गर्यो र संगसंगै सरकार नचलाउने कसम खायो । यो कुरा जनभावनाको प्रतिकूल थियो । जवकि देशमा वामपन्थी जनाधारनै वढी थियो । २०४८ सालको चुनावमा कांग्रेसले ३७.७ प्रतिशत मत पाएको थियो, जवकि वामपन्थीहरू मिलेका भए झन्डै त्यति नै मत (३६.५ प्रतिशत) पाउन सक्थे । ०५१ को मध्यावधि निर्वाचनमा पनि वाम मत नछरिएको भए कांग्रेसकै बराबरी (३३ प्रतिशत) पुग्न सक्थ्यो, जुनबेला सिटका आधारमा एमाले सबभन्दा ठूलो पार्टीका रूपमा थियो । ०५६ को चुनावमा चाहिं कांग्रेसको मत बढेर ३७.२ प्रतिशत पुगेको थियो भने एमाले र राष्ट्रिय जनमोर्चाको मिलाउँदा ३३ प्रतिशत पुग्ने देखिन्थ्यो । संविधानसभा (२०६४) मा कांग्रेसले समानुपातिकतर्फ २१.१ प्रतिशतमात्र पायो भने दोस्रो (२०७०) मा २५.५ प्रतिशत । पहिलो र दोस्रो संविधानसभामा एमाले–माओवादीको मत जोड्दा क्रमश ः ४९.५ र ३८.८ प्रतिशत पुग्ने देखिन्थ्यो । यसरि हेर्दा कांग्रेसले पाएको भन्दा वामपन्थले पाएको मत धेरै माथि हो । स्थानीय तहसम्म आइपुग्दा वामपन्थी मत ६० प्रतिशत पुगिसकेको भएपनि त्यस मतप्रति सम्मान गर्न नसकेको अवस्था थियो । जो यो पटक भएको छ । ढिलैभएपनि दलहरु जनमतको सम्मान गर्न सफल भएका छन् ।  
४. बहुमतको आशा किन भएन कांग्रेससंग ः 
जनताले ५ वर्ष चल्ने वहुमतको सरकार खोजेका थिए । त्यस्तो सरकार वाम गठवन्धनले मात्र वनाउन सक्छ भन्ने अवस्था परिस्थितिले देखायो । जसलाई यसरी विवेचना गर्न सकिन्छ ।
पहिलो, कांग्रेसको सरकारले अति मनपरि गर्यो पछिल्लो समयमा । प्रधानन्यायाधीश सुशीला कार्की  विरुद्धको महाअभियोग प्रस्ताव अमूक कारणले संसद्मा ल्याउने र बिनाकारण फिर्ता गर्ने,  अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई निष्तेज गर्न सर्वोच्च अदालतलाई दुरुपयोग गर्न खोज्नु र जयबहादुर चन्द र नवराज सिलवाललाई माध्यम वनाएर गृह प्रशासनलाई  चरम विवादमा ल्याउनु, सत्ताका लागि ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद्सम्म गठन गर्नु र सत्ता गठवन्धनका मन्त्रीलाई विना विभागीय वनाएर राज्यको ढुकुटी सत्यनास पार्नुले कांग्रेसले सत्ता चलाउन सक्दैन र चलाइ हाले पनि दुरुपयोग गर्छ भन्ने दृष्टान्त दियो दुनियाका सामु । 
दोस्रो, विगतमा दुई–दुई पटक बहुमत पाएर पनि जोगाउन नसकेको उसको आफ्नै इतिहास थियो । यो कारणले कांग्रेसले बहुमत र स्थिरताका लागि मत माग्नै सकेन । राजनीतिमा इमान र नैतिकता चाहिदो रहेछ भन्ने कुराको यो अर्को  दृष्टान्त हो । 
तेस्रो, २०७२ असोजमा जारी संविधानप्रति असन्तुष्ट भारतले साढे चार महिना नाकाबन्दी लगाउदा पनि कांग्रेस सन्तुलित विदेश नीति भन्दै भारतको चाकरी गरिरह्यो । तत्कालीन  प्रधानमन्त्री के.पी.ओलीले लिएको अडानले आम जनमतको भावनालाई प्रतिविम्वित गर्यो । दुःख असाध्यै भएपनि सम्भवतः नेपालकै इतिहासमा जनताले सरकारलाई समर्थन गरेको त्यो एउटा अपवाद थियो । जसमा कांग्रेस चुक्यो । उसले नागरिकलाई जतिसुकै अफ्टेरो भएपनि भारतको तावेदारी गर्न छोडेन । 
चौथो, चीनसँगका नाका खोल्ने, वैकल्पिक मार्गका लागि प्रसस्त प्रयास गर्ने, उत्तरी मार्गका लागि प्रसस्त वजेट विनियोजन गर्ने, चीनसंगको सम्वन्धलाई आत्मीय वनाउने यावत् काम सम्पन्न गर्यो भन्ने हैन, जनताले बुझ्ने गरि प्रयत्न गर्यो ।  व्यापार र पारवहन सम्बन्धी सन्धिलाई अघि वढाउने र संविधान संशोधनको प्रयासलाई निस्तेज पार्ने सम्मका काममा एमालेले आफूलाई अब्वल सावित गर्यो । यी काम भइरहदा कांग्रेस रमिते मात्र भएन विरोधी जस्तै भयो । जवकि ती सवै कारणले नेपाली राजनीति एमाले वरिपरि घुमिरह्यो । कांग्रेसले पत्तोनै पाएन । जसका कारण वहुमत ल्याउने ल्याकत एमालेसंग मात्र छ कांग्रेससंग छैन भन्ने वातावरण वन्दै गयो ।
पांचौ, कांग्रेस नेता मनमोहन भट्टराईले भनेजस्तै असंगठित पार्टी र रक्षात्मक मनोविज्ञानको कारण पनि हो । पार्टी सभापतिमा देउवा चुनिएको आधा कार्यकाल बित्दासम्म पार्टी संगठन र पदाधिकारीले पूर्णता नपाउनु, भ्रातृ संगठनहरू अस्तव्यस्त बन्नु र नेतृत्वबीचको झगडा पनि सहायक कारण हो । 
५.विकास र निकासका सपना ः 
मुलुकलाई समृद्घितर्फ लैजानुपर्छ भन्ने कुरामा  एमालेले सुस्पष्ट विचार अघि सार्यो । सवैका घरघरमा यो नारा गयो । राजनीतिक क्रान्ति सकिएसंगै आर्थिक मुद्घालाई जोडतोडले उठाउनु पर्दथ्यो । यी मुद्घाहरु उठे तर, तिनको स्वामित्व एमालेले लियो खासगरि वजेट मार्फत् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पहिलोपटक जनताले वुझ्ने भाषामा वजेट प्रस्तुत गरे र त्यो वजेटले नेपाली जनतामा आशा जगायो । प्रधानमन्त्री ओलीले रेलदेखि हावाबाट विजुली निकाल्नेसम्मका सपना देखाउन सके । अर्थतन्त्रलाई आत्मनिर्भर हुन सक्ने गरि योजना देखाउन सके । आफू प्रधानमन्त्री हुंदा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरे । नेपाल–चीन रेलमार्गको अध्ययन र चीनबाट इन्धन झिकाउनेलगायत थुप्रै समझदारीहरू गर्ने आँट गरे । यी सवै कुराले विकास र निकास एमालेलेनै गर्न सक्छ भन्ने देखायो र यसै आधारमा  स्थानीय तहको परिणामसमेत् आयो । सम्भवत ः चुनावी एजेन्डामा पनि वामपन्थीहरु जति प्रस्ट भएर आउन सके त्यसरि आउन  कांग्रेस सकेन । 
६. एजेण्डाविहीन कांग्रेस ः 
कांग्रेससंग खास एजेण्डा थिएन । वामपन्थीहरुले जे ल्याए त्यही कपी मात्र गरे । ओली सरकारमा छंदा जुन कुराको विरोध गरे तिनै कुरालाई घोषणापत्रमा राख्दा जनताले पत्याएनन् । सवैभन्दा लामो समय सरकारमा रहेर केही गर्न नसकेको निष्कर्ष जनताले निकाले । वाम गठवन्धनवाट ‘कम्युनिस्ट अधिनायकवाद आउँछ’ भन्नेनै सवैभन्दा ठूलो प्रचारको माध्यम वन्यो । ०४८ को चुनावमा कम्युनिष्ट आएपछि बुढाबुढीलाई गोली ठोक्छ भनेजस्तै भयो यो प्रचार । पटक्कै विश्वास गरेनन् जनताले । जुन पार्टीले बुढाबुढी, अशक्त, असहाय, अपाङ्गतालाइ भत्ता दिन्छ उसैले अधिनायकवाद ल्याउंछ भनेर कसरि विश्वास गनुृ ?
तीन दशकदेखि कांग्रेससँगै संसदीय अभ्यास गर्दै आएको र लोकतान्त्रिक आन्दोलनमा सक्रिय वनेकोे एमालेले साम्यवादी शासन ल्याउँछ भन्ने तर्कलाई कसैले विश्वास गरेनन् । उता हतियार बुझाएर संसदीय मूलधारमा सामेल भई सकेको माओवादी पनि पुन ः पछाडि फर्कन्छ भन्ने कुरालाई कसैले विश्वास गर्ने कुरै भएन । 
यसरि हेर्दा कांग्रेस वाम गठवन्धनको विरुद्घमा लोकतान्त्रिक गठबन्धन भनिए पनि राप्रपासँग बाहेक अन्य कसैसंग तालमेल हुनै सकेन । कम्तीमा प्रदेश नम्बर २ मा संघीय फोरम र राजपासँग पनि कांग्रेसले तालमेल गर्न सकेन । 
२०७४ मंसीर २५
 

प्राप्त प्रतिकृयाहरू

To Top