निर्वाचन तयारी पूरा,

राजनीति मंसिर २० २०७४ ekhabarnepal
Nir

काठमाडौं, २० मंसिर– देशकै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ ।

काठमाडौंका  १० वटै निर्वाचन क्षेत्रको संयोजन गरिरहेका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडौंमा सबै  निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको छ ।  काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१ छन् ।  दश निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या ६ लाख ३० हजार ४६० छन् ।

दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एक÷एक निर्वाचन अधिकृतसहित ५ हजार ८४८ कर्मचारी खटिएका छन । त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन । काठमाडौंका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् । 

गणनास्थलमा जाली र सिसी टीभी 

निर्वाचन आयोगले मतगणनालाई सुरक्षित र व्यवस्थित गर्न सबै निर्वाचन क्षेत्रमा सीसीटीभी क्यामेरा र तारजाली प्रयोग गर्ने तयारी गरेको छ । ‘विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ’ पोखरेलले भन्नुभयो । 
आयोगले प्रतिनिधि र कर्मचारीसँगै नहुने गरी बीचमा तारजाली राख्ने तर दुवैले राम्ररी देख्ने व्यवस्था मिलाएको छ । ‘आयोगले मतगणनामा पहिलो पटक सिसी टिभी र जाली प्रयोग गर्न लागेको हो, एउटा मतपत्र तहमाथि पर्यो भने राम्रो हुँदैन, मतपत्रको सुरक्षा सतर्कताका लागि आवश्यक पर्यो’ उहाँले भन्नुभयो । 

यसरी फरक फरक ठाउँमा हुँदैछ मतगणना 

काठमाडौं जिल्लामा १० निर्वाचन क्षेत्रको मतगणना एकै ठाउँमा नगरी बिभिन्न ठाउँमा गर्ने व्वस्था मिलाइने आयोगले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा गरिने तयारी भएको छ निर्वाचन क्षेत्र नं. ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा गरिनेछ । त्यसैगरी, निर्वाचन क्षेत्र  ६ को जिल्ला समन्वय समिति बबरमहलमा, निर्वाचन क्षेत्र नं ८ को वन परिसर बबरमहलमा मतगणना गरिने तयारी छ । निर्वाचन क्षेत्र नं. ९ र १० को मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा हुनेछ । 

प्राप्त प्रतिकृयाहरू

To Top