बोहरालाई कसरी भोट माग्लान् कांग्रेस कार्यकर्ता ? 

बिचार मंसिर १५ २०७४ .
20728716 1680990715258996 8204590834485799080 o


बाबुराम भट्टराई 
कांग्रेस नेता गिरिजाप्रसाद कोइराला २०४० साल देश दौडाहामा थिए । पार्टीलाई संगठित र गतिशिल बनाउन उनको दौडाहा शुरु भएको थियो । त्यतिखेर पञ्चायती शासकहरुलाई कोइरालाको दौडाहा देखेर औडाहा भयो । पञ्चायतका यो क्षेत्रका हस्ती त्यसबेला दिपक बोहरा थिए । उनले भनेपछि अञ्चलाधीश पनि डराउने स्थिति थियो । 
कोइरालाको दौडाहा रोक्न बोहरा नेतृत्वको मण्डले समुहले लुम्बिनी अञ्चल  बन्द घोषणा गरे । संविधान खतरामा छ, पञ्चायत खतरामा छ भन्दै गरिएको लुम्बिनी अञ्चल बन्दको  अञ्चलाधीश लगायत सम्पूर्ण पुलिस प्रशासनको समर्थन थियो ।।  यिनीसंग किन डराउने भनेर मैले हिम्मत म मा आयो । मैले बुटवलमा रहेको मेरो औषधी पसल – आयु मेडिकल हल खोले । 
एउटा पान दुकान पनि खोलिएको थिएन् । नखोलेको ठाउँमा एउटा मात्र दुकान खोलेपछि मेरो औषधी पसलमा दिपक बोहरा र निरञ्जन थापाका भरौटेहरु आएर मलाई धम्क्याउने, थर्काउने गरे । कोही आएर खतरा  नमोल्नुस भनेर सम्झाए । तर  मैले पसल बन्द गरिन । मेरा शुभचिन्तक, नातासम्बन्धहरुले पनि एक्लै यसो नगुर्नस भनेर सम्झाए । मैले  यिनीहरुको अत्याचारको विरोध स्वरुप दुकान बन्द गरिन । मलाई मानसिक दवाव दिने काम भयो ।।
दुकान खोलेर एक्लै यिनीहरुको विपक्षमा उभिएँ । फागुन २१ गते सुखानीका सहिदको कार्यक्रम थियो । त्यस कर्यक्रममा क. जिवराज आश्रितले यस्तोमा एक्लै भौतिक कारवाही  गर्न सक्छन्, समुहगत रुपमा सके प्रतिरोध गर्ने तर एक्लै गर्दा समस्या पर्न सक्छ भनेर मलाई सम्झाउनु भयो ।   दिपक बोहराको नेतृत्वमा भएको लुम्बिनी बन्दको बावजुद गिरिजा प्रसाद कोइरालाको कार्यक्रम रोकिएन् । कोइराला आफ्ना कार्यकर्ता सहित २०४० साल  फागुन २० गते सूर्यपूरामा पुष्पानन्द गिरीको घरमा आउनुभयो । र, कार्यकर्ता भेटघाट र प्रशिक्षण चल्यो । साँझ दिपक बोहराको नेतृत्वमा मण्डलेहरु भाला छुरी, खुकुरी लिएर पुष्पानन्द गिरीको घर घेरा हालेर आक्रमण गरे । कोइरालालाई घरको माथिल्लो तलामा लगेर बचाएछन् । तर त्यहाँ उपस्थित कार्यकर्ताहरु सबै मण्डलेको आक्रमणमा परे । अधिकांश घाइते भए । अस्पताल ल्याउने साधन पनि गा¥हो भयो । पछि सबैलाई लुम्बिनी अञ्चल अस्पतालको इमरजेन्सीमा ल्याइयो । म घरमा थिएँ, खबर पाइसकेको थिएँ । म त्यस बेला लुम्बिनी अञ्चल अस्पतालमा काम गर्थे । हाम्रा साथी आक्रममा परे बचाइदिनु प¥यो भन्दै तोयाराज पाण्डे मेरो कोठामा आए । म पाकेको खाना पनि नखाई अस्पताल गएँ । जादा विजोग थियो । त्यसबेलाको यो घटना अहिले पनि झल्झली सम्झिन्छु । त्यसबेला सर्जन थिए डां असर्फी शाह । उनी त्यहा आएर  घाइतेको अवस्था बारे अञ्चलाधीशलाई रिर्पोटिङ गर्दै थिए । उनले एकजना  विरामीको उपचार गरेनन् । मैले र अन्य ड्युटीमा रहेकाले सबैका घाउका टाँका लगाउन शुरु ग¥यौं । सबै घाइतेको शरिरमा धालिो हतियारले काटिएकाले टाँका लगाउनुपर्ने थियो ।
त्यतिखेर पञ्चायत विरोधीलाई इतर भन्ने गरिन्थ्यो । मलाई डा. शाहले इतरले इतरलाई उपचार  गरे त भयो नि भन्दै व्यङ्ग्य गरे । एकैछिनपछि अस्पतालकि नर्स भगवती काफ्ले आइन् । उनले गंभीर हुँदै भनिन्— टाउँकोमा धेरै चोट रहेछ, भल्भली रगत बगिरहेको छ, टाँका छिटो लगाइदिनुस् ।
एकजनाको टाउकोमा २० वटा टाँका लगाएँ । अलि सिरियस थिए उनी । भर्ना गर्नुपर्ने भयो । बेड खाली  थिएन् । भोलीपल्ट डिष्चार्ज हुने बिरामीलाई त्यही दिन घर पठाएर बेड खाली गरियो, उनलाई भर्ना गरियो । तिनै व्यक्ति रहेछन् यादवनाथ आलोक । धारिलो हतियारले काटिएका गहिरा घाउमा टाँका लगाउँदा  लगाउँदै मलाई चक्कर लाग्न थाल्यो । रक्त सञ्चार केन्द्रको बेडमा गएर पल्टिएँ ।  एकैछिनपछि अस्पतालमा रोइकराई गरेको आवाज आयो । आलोक सिरियस भएछन् । त्यसबेला सिटीस्क्यान, न्युरो सर्जरीको यहाँ सुविधा थिएन चौधरी थरका अर्का घाइते पनि सिरियस हुँदै गएछन् । भोलिपल्ट   आलोकको निधन भयो ।
आज तिनै आलोकको हत्याका योजनाकार दिपक बोहरालाई फूलमाला लगाएर कांग्रेसले रुपन्देही—३ बाट उम्मेदवार बनाएको छ । आलोक पत्नी सीतालक्ष्मी न्यौपाने सामु बोहरालाई जिताउन प्रचारमा हिड्नुपर्ने पार्टी निर्देशन आइपुगेको छ । त्यो घटनामा घाइते भएका मध्ये धेरै बोहराकै मतदाता हुन सक्छन् । उनीहरुलाई पनि बोहरालाई जिताएर फुलमाला लगाइदिएर विजय उत्सवमा हिड्नुपर्ने बाध्यता आइलागेको छ ।
राजनीति भनेको मुल्य मान्यताको हुनुपर्छ । मुल्य मान्यताको राजनैतिक संस्कारले समाजलाई असल  बाटोतिर लैजाने र लोकतन्त्रलाई समुन्नत बनाउँछ । तर हाम्रो लोकतन्त्र यस्तो भयो कि जहाँ मुल्य मान्यता र सिद्धान्तलाई डढेलो लगाइएको छ । अरु कसैलाई पराजित गर्न राजनीतिमा जस्तोसुकैलाई पार्टीमा भित्र्याउने र त्यस्तै व्यक्तिलाई उम्मेदवार बनाएर जिताउने बाध्यतामा नागरिकलाई पारिएको छ । बोहरालाई रुपन्देहीमा सघाउने कांग्रेस निर्णय र मत माग्दै हिड्ने कांग्रेस मित्रहरुको व्यवहार कुरुप लोकतन्त्रको नमुना हो ।  पञ्चायतका कलंक बोहरालाई काँधमा चढाएर प्रचारमा हिड्न र भोट दिन इमान्दार कांग्रेस कार्यकर्ताको मनले कसरी मान्ला ?
मण्डलेको आक्रमणमा परेका घाइतेको उपचार गर्न मलाई घरमै लिन आउने तोयाराज पाण्डे( हाल तिलोत्तमा — ११ पेडरानी ) निवासीलाई भेट्ने तीब्र इच्छा छ, जसले जीतपुर चार नम्बरमा शैलजा आचार्यहरुलाई आक्रमण हुँदा घाइतेहरुलाई उपचार गर्न मलाई नै बोलाउन आएका थिए । मैले उपचारमा सहयोग गरेको थिएँ । अरु समयमा पनि मैले सहयोग गर्थे । संकटका बेला पार्टीलाई निकै सहयोग गरेका  पाण्डे जस्ता इमान्दार कार्यकर्ताको अहिले कस्तो अवस्था होला ? अहिले त्यसबेलाको जस्तो समपर्ण पाण्डेजीसंग होला कि नहोला ?  कांग्रेसभित्रको भद्रगोल र मनपरीले वाक्क छन् कि त्यही भद्रगोलभित्र गुजुल्टिएका छन् ? अहिले बोहरालाई कांग्रेसले उम्मेदवार बनाउँदा उनले के भनिरहेका होलान ? मलाई जान्न मन लागेको छ ।
राजनैतिक दलमा सैद्धान्तिक स्खलन भएको छ । विचार शुन्यता हावी छ । मुलुक र समाज परिवर्तन गर्ने कसम खाएका हरु क्षणिक स्वार्थी समुहको जालोमा जेलिएका छन् । अझै पनि आशा मार्नु हुन्न । विगतको धुमिल र भ्रष्ट  छविलाई रोज्ने कि राजनीतिलाई सही दिशा दिन कस्सिएका वैचारिक दृष्टिले प्रष्ट र परिपक्क उम्मेदवारलाई भोट दिने । निर्णय गर्ने पालो अब मतदाताको हो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top