रुपन्देहीलाई कायापलट गर्ने बाम उम्मेदवारको प्रतिबद्धता 

राजनीति मंसिर १२ २०७४ .
Yuba


    विकासको दुरदृष्टि योजना बनाएका छौं ः पौडेल
    मानव संसाधन विकास पहिलो प्राथमिकता ःगिरी 
    विकासको योजना,दृष्टिकोण र अनुभव हामीसंग छ ः श्रेष्ठ

बुटवल १२ मंसिर । रुपन्देही क्षेत्र नं २ का बाम उम्मेदवारहरुले  सिंगो रुपन्देही जिल्लालाई विकासको नमुना बनाउने प्रतिबद्धता जनाएका छन् । नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट साझा उम्मेदवार बनेका विष्णु प्रसाद पौडेल, लिला गिरी र भोज प्रसाद श्रेष्ठले  बुटवल,सैनामैना र तिलोत्तमालाई मात्र नभएर सिंगो रुपन्देही जिल्लालाई विकासको नमुना बनाउने प्रतिबद्धता जनाएका हुन् ।  आफुहरुसंग सिंगो जिल्लालाई कायापलट गर्ने दुरदृष्टि योजना,सीप र अनुभव समेत रहेकाले यो सम्भव रहेको उनीहरुको जिकीर छ । 
शनिवार आफ्नो चुनावी प्रचार कार्यक्रमका शीलशीलामा सैनामैना र तिलोत्तमाका विभिन्न वडामा पुगेका उम्मेदवारहरुले मतदातालाई सम्वोधन गर्दै विगतमा अघि सारिएका आयोजनाहरुलाई देखेर सिंगो जिल्लाका जनताले आफुहरुप्रति ठूलो अपेक्षा राखेको बताए । 
मतदातालाई सम्वोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेलले  निर्माणाधीन सैनामैना चक्रपथलाई छिटो सम्पन्न गर्ने,लामीरह उच्च वांध निर्माण गरेर सैनामैना क्षेत्रमा सिंचाइ र जलपर्यटन प्रबद्र्धन गर्ने,घमाहा नदीमा दोहोरो तटबन्ध निर्माण गर्ने,लुम्विनी पुग्ने छोटो सडक तत्काल सम्पन्न गर्ने,सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने,शंकरनगरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता .जनाए । यी वाहेक सिंगो जिल्लाको विकासका लागि अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्ने,बुटवल—भैरहवा ६ लेन सडक छिटो सम्पन्न गर्ने,बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणलाई तीव्रता दिने,लुम्विनी स्मार्ट सिटी निर्माण गर्ने र कालिगण्डकी—तिनाउ डाइभर्सन गर्ने आस्वासन दिए । 
सो अवसरमा प्रदेशसभा १ का उम्मेदवार लिला गिरीले विगतमा शंकरनगर गाविसको जनप्रतिनिधि हुंदा आफुले शुरु गरेको विकासे लहरले शंकरनगरलाई मुलुककै सुविधासम्पन्न र ब्यवस्थित वस्ती बनाएको दावी गरे । उनले शंकरनगर बन विहारलाई विस्तार गर्ने,सरकारी मेडिकल कलेज बनाउने,तिनाउ नदी किनारामा पक्कि पर्खाल लगाएर उद्यानहरु निर्माण गर्ने योजना रहेको बताए । त्यसवाहेक महिला तथा युवाहरुलाई सीप सिकाउने,तालिम दिने र मानव संसाधन विकासलाई प्राथमिकता दिने गिरीले उल्लेख गरे । 
प्रदेशसभा २ का उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवल नगरपालिकाको प्रमुख हुंदा शुरु गरेका आयोजनाहरुले आज बुटवल मुलुककै नमुना र उत्कृष्ट उप—महानगरपालिका बनेको दावी गर्दै अब सिंगो जिल्लालाई उत्कृष्ट र नमुना बनाउने प्रतिबद्धता जनाए । 
आफुहरुसंग विकासको योजना,दृष्टिकोण र अनुभव समेत रहेकाले क्षेत्र नं २ बाट मात्र होइन सिंगो रुपन्देही जिल्लाबाट  बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आब्हान गरे । 

युवालाई स्वरोजगारसहित आत्मनिर्भर बनाइने
बाम गठबन्धनका नेताहरुले युवाहरुलाई उत्पादनमूलक कार्यमा लगाएर स्वरोजगार बनाइने बताएका छन् । अहिलेको निर्वाचनपछि बामपन्थीको बहुमतको सरकार बन्ने र उक्त सरकारले युवाहरुलाई उत्पादनमूलक काममा लगाउने गरी आवश्यक नीति तय गर्ने उनीहरुको भनाई छ ।
रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ को नयाँमिलमा मंगलबार आयोजित बृहत युवा भेलामा बोल्दै बाम गठबन्धनका नेताहरुले यस्तो बताएका हुन् ।
भेलामा बोल्दै एमाले उपमहासचिव एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेद्वार विष्णु पौडेलले सीप सिकेका युवालाई काम र सीप नभएकालाई सीप सिकाएर आत्मनिर्भर बनाइने बताए । “युवाहरुलाई उत्पादनमा लगाएर आत्मनिर्भर बनाएपछि युवाको विदेश पलायन रोक्न सकिन्छ”–उनले भने । 
युवा जनशक्तिको विदेश पलायन नरोकेसम्म मुलुकको समृद्धि सम्भव नभएको उल्लेख गर्दै उपमहासचिव पौडेलले युवा जनशक्तिको श्रमलाई स्वदेशमै प्रयोग गरिने बताए । आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि उत्पादन बढाउनुपर्ने र त्यसका लागि युवा जनशक्तिलाई स्वदेशमै उत्पादनमूलक काममा लगाउनु अपरिहार्य रहेको उनको भनाई छ ।।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार लिला गिरीले विदेश गएको युवा जनशक्तिलाई स्वदेश फर्काएर सीपमूलक कार्यमा लगाइने बताए । “युवाको विदेश पलायन रोक्ने मात्र नभई विदेशमा रहेको जनशक्तिलाई स्वदेश फर्काउने गरी अवको सरकारले काम गर्ने छ”–उनले भने । उनले युवहरुको समस्या समाधान र उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि बाम गठबन्धनले बहुमत ल्याउनु जरुरी रहेको बताए ।
युवा संघ रुपन्देहीका अध्यक्ष नकुल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका समानुपातिक उम्मेदवार गोपाल भट्टराई, माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल जिसी, एमालेका गोपाल राना, क्रृषि पाण्डे, मोहन चापागाईं, युवा नेताहरु ध्रुव आचार्य, स्ुजु मल्ल, सुमन पुरीलगायतले बाम गठबन्धनको बहुमतको सरकारले मात्रै युवाहरुको मुद्दालाई संबोधन गर्न सक्ने बताएका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top