पर्वतको फलेवासमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

समाज मंसिर ११ २०७४ ekhabarnepal
Az

पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गुणस्तरहीन मदिरा बिक्री वितरणमा रोक लगाउने भएको छ। 

गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले आफ्नो क्षेत्रभित्रका सबै वडामा प्लास्टिक बोतलमा भित्रिने शिलबन्दी भएको र गुणस्तरहीन रक्सीको बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो। गाउँपालिकाभित्रका सबै वडामा गुणस्तरहीन रक्सी भित्रिने गरेको र त्यसले जनस्वास्थ्यमाथि प्रतिकूल असर पार्नुका साथै समाजमा समेत नराम्रो असर पारेको भन्दै बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेलले बताए।

उनका अनुसार आगामी मंसिर २४ गतेदेखि गाउँपालिकाका कुनै पनि स्थानमा यस्तो गुणस्तरहीन रक्सी बिक्री वितरण गरेको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (४) ख को १३ अनुसार हटाउन निर्देशन दिने र यस अवधिमा नहटाएमा कारबाही गरिने छ। 

उनले व्यावसायिक रुपमा उत्पादन गरिने अवैध घरेलु मदिरालाई पनि प्रतिबन्ध लगाइने र त्यस्ता व्यावसायिकरुपमा मदिरा उत्पादनमा लाग्नेलाई वैकल्पिक पेशाका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।रासस

प्राप्त प्रतिकृयाहरू

To Top