आज बिहान ७ बजेदेखि मतदान कार्य शुरु ,२५ प्रतिशत मत खस्यो

राजनीति मंसिर १० २०७४ ekhabarnepal
Ss

काठमाडौं– निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान शुरु भएपनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ । आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

पहिलो चरणमा आज प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ ।  पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा विहान १० बजेसम्ममा २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जनाएका छन ।

आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेपछि ३२ वटै जिल्लाका मतपेटिका सदरमुकामसम्म ओसार्न बढीमा तीन दिन लाग्ने बताएको छ।मतदान सकिएपछि राजनीतिक दल, स्वतन्त्र उम्मेदवार र निर्वाचन अधिकृतको रोहबरमा मतपेटिकाको मुचुल्का उठाए लगत्तै ढुवानी कार्य शुरु गर्ने जिम्मेवारी गृह मन्त्रालयले लिएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top