मस्जिद हमलाकारीमाथि 'हवाई कारवाही',हमलाको बदला लिने राष्ट्रपतिको चेतावनी

विश्व मंसिर ९ २०७४ .
 98895323 egypt

 

कायरो, मंसिर ८ 

साइनाइस्थित मस्जिदमा कम्तीमा २३५ जनाको ज्यान जाने गरी गरिएको हमलाका जिम्मेवार ठानिएकाहरुमाथि हवाई कारवाही शुरु गरेको इजिप्टको सशस्त्र फौजले जनाएको छ।
सन्दिग्ध बन्दुकधारीहरुले प्रयोग गरेको सवारी साधनमाथि उनीहरुको प्रहार लागेको फौजले बताएको छ।
राष्ट्रपति अब्दुल फतह अल सिसिले इजिप्टको आधुनिक इतिहासकै सबभन्दा नराम्रो आक्रमण भनिएको उक्त कारवाहीप्रति कडा जवाफ दिने बताएका थिए।
बन्दुकधारीहरुले रावडा मस्जिदमा शुक्रबारको प्रार्थनाका लागि आएका मानिसहरुमाथि बम आक्रमण गराएका थिए र भाग्न खोज्नेहरुमाथि गोली प्रहार गरेका थिए।

मस्जिद स्थानीय अल सवारका आदिवासीले प्रयोग गर्ने गर्थे।
यो समुदायले इस्लामिक लडाकुहरुविरुद्ध रहेका सुरक्ष फौजलाई सहयोग पुर्याउने गरेको मानिन्थ्यो।
त्यो मस्जिद सुफिहरुमाझ पनि लोकप्रिय थियो जसलाई लडाकुहरुले विधर्मी मान्छन्। कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

हमलाको बदला लिने राष्ट्रपतिको चेतावनी
इजिप्टका राष्ट्रपतिले कम्तीमा २३५ जनाको जाने गरी साइनाइस्थित एक मस्जीदमा गरिएको हमलाको बदला लिइने चेतावनी दिएका छन्।
हालैका दिनहरुमा इजिप्टमा गरिएको सबैभन्दा नराम्रो हमलाहरुमध्ये एकपछि टेलिभिजनबाट देशवासीका नाममा संबोधन गर्दै राष्ट्रपति अब्दुल फतह अल सिसिले पूर्ण शक्तिका साथ हमलाको बदला लिइने बताए। सो हमलाको कसैले जिम्मा लिएको छेन।
तर यसअघि पनि साइनाइ प्रायद्वीपमा आफुलाई इस्लामिक स्टेट बताउने समूहले हमला गर्ने गरेको थियो।
इजिप्टको साइनाइ प्रायद्वीपस्थित एक मस्जिदमा विद्रोहीहरुद्वारा गरिएको आक्रमणमा मृत्यु हुनेहरुको संख्या २३५ पुगेको अधिकारीहरुले जनाएका छ। अन्य १२० जना घाइते भएका छन्।
आक्रमणमा पर्नेहरुमा पुरुष, महिला तथा बालबालिका पनि थिए।
सरकारी समाचार एजेन्सीका अनुसार बन्दूकधारीहरुले उत्तरी गाउँ अल-रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएका थिए।
घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि पनि तिनले गोली चलाएका थिए।

स्थानीय सूत्रहरुले आक्रमणकारीहरुले उक्त मस्जिदमा आउने सुफी समुदायलाई निशानामा पारेको हुनसक्ने बताए।
कायरोस्थित सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।
साइनाइमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ।
त्यहाँ सेनाले इस्लामिक स्टेट विद्रोही समूहप्रति वफादार समूहसंग लड्दै आएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top