मुगाबेको राजीनामा, राजीनामासँगै जिम्बाब्वेमा खुसियाली

विश्व मंसिर ६ २०७४ .
 98848523 mugabe

जिम्बाब्वे,मंसिर ६

जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति मुगाबेको राजीनामापछि सडकमा जम्मा भएर मानिसहरुले खुसियाली मनाइरहेका छन्।
मुगाबेलाई हटाउन संसद्‍मा महाभियोग प्रकिया शुरु भए लगत्तै उनले अप्रत्यासित राजीनामा दिएका थिए जसबारे सभामुखले संसद्‍मा पत्र पढेर सुनाएका थिए।
जिम्बाब्वेको संसदका सभामुखले ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा दिएको जनाएका छन्।
त्यससंगै उनी विरुद्ध लगाइएको महाभियोगको प्रक्रिया स्थगित गरिएको छ। सांसदहरुले ठूलो आवाज निकालेर उक्त घोषणालाई अनुमोदन गरेका थिए र तत्कालै स्वत: स्फूर्त रुपमा मानिसहरु खुसियाली मनाउन सडकमा निस्किएका थिए।
मुगाबेले आफ्ना उपराष्ट्रपति एमरसन मनाङ्गाग्वालाई पदबाट हटाएपछि अघिल्लो हप्ता सेनाले जिम्बाब्वेको सत्तामा हस्तक्षेप गरेको थियो।
जिम्बाब्वे स्वतन्त्र भएयता गत ३७ वर्ष देखि उनले मुलुकको नेतृत्व गरिरहेका थिए।
गत साता सेनाले सत्ता नियन्त्रणमा लिएपछि पनि पदबाट राजीनामा दिन नमानेका राष्ट्रपति रोबर्ट मुगाबेले मंगलबार अपरान्ह आफ्नो पदबाट राजीनामा दिएका हुन्।
जिम्बाब्वेको संसदका सभामुखले उनको राजीनामा पत्र संसदमा पढेर सुनाएपछि सांसदहरुले खुसियाली मनाएका थिए।
राजधानी हरारेका सडकहरुमा हजारौं मानिसहरुले नाचगान गरिरहेका छन्।

यसअघि संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावमा उनले आफ्नी श्रीमतीलाई असंवैधानिक ढंगले शक्ति हडप्न दिएको आरोप लगाइएको थियो।
अज्ञातस्थलबाट बोल्दै मंगलबार जिम्बाब्वेका पूर्व उपराष्ट्रपति एमरसन मनाङगाग्वाले राष्ट्रपति मुगाबेलाई तत्काल राजीनामा गर्न भनेका थिए।
मनाङगाग्वालाई पदबाट हटाइएपछि गत साता सेनाले सत्ता नियन्त्रणमा लिएको थियो।
मनाङगाग्वाले आफूविरुद्ध हत्याको षडयन्त्र भएका कारण दुई साता अगाडि आफूले देश छाडेको बताएका थिए। आफ्नो सुरक्षाबारे आश्वस्त नभएसम्म नफर्कने उनले बताएका छन्।

गत आईतबार जिम्बाब्वेको सत्तारुढ जानु-पीएफ पार्टीले आफ्नो दलका संस्थापक नेता एवं राष्ट्रपति मुगाबेलाई पार्टीको नेतृत्वबाट हटाउने पक्षमा मतदान गरेको थियो।
मुगाबेको स्थानमा उनले दुई साता अघि पदमुक्त गरेका उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पार्टीको नयाँ नेता चयन गरिएको थियो।
मुगाबेलाई हटाउने पक्षमा मतदान भएपछि दलका प्रतिनिधिहरुले नाचगान गर्दै खुसियाली मनाएका थिए। मुगाबेले उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पदबाट हटाएलगत्तै जिम्बाब्वेमा वर्तमान राजनीतिक संकट शुरु भएको हो।
सत्तारुढ जानु पीएफ पार्टीले मुगाबेले सत्ताको नेतृत्व सुम्पिन चाहेका उनकी श्रीमती ग्रेस मुगाबे र मुगाबेको गुटमा रहेका अन्य वरिष्ठ नेताहरुलाई पनि पार्टीबाट निकाल्ने निर्णय गरेको थियो।


 

प्राप्त प्रतिकृयाहरू

To Top