प्रकाश दाहालको निधन

समाज मंसिर ३ २०७४ .
Prakash dahal

 

काठमाडौं , मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको छ ।आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो। 

 पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।
 
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

प्रकाश प्रचण्डका एक्लो छोरा हुन् । तीन छोरी रहेकोमा जेठी छोरी ज्ञानु दाहालको क्यानसर रोगबाट निधन भएको थियो ।

अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।

सधैं प्रचण्डसँगै हिँड्ने गरेका उनी मलाई सन्चो छैन भनेर चितवनको चुनावी कार्यक्रमलाई बीचमै छाडेर काठमाडौं फर्किएका थिए । उनी प्रचण्डसँग गोरखा, बाग्लुङ, झापा लगायत स्थानका कार्यक्रममा गएका थिएनन् । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

यता, आमा सीता दाहालको पनि स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरको एक टोली लाजिम्पाट पुगेको छ ।

अस्पताल स्रोतका अनुसार प्रकाश दाहाललाई पौने ६ बजे अस्पताल ल्याइपुर्याए पनि प्रारम्भिक रिपोर्टमा १ बजे नै पहिलो स्ट्रोक भएको देखिएको छ ।


अस्पतालमा माओवादी नेताहरु आउने क्रम जारी रहेको छ । राम बहादुर थापा ‘बादल’ तथा गिरिराज मणि पोखरेल अस्पताल पुगेका छन् । यति बेला अस्पतालमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको बाक्लो भीड रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top