बिहान–बेलुका गाई दुहुने, दिनभर प्रचारमा हिंड्ने

राजनीति मंसिर २ २०७४ .
2222


बुटवल, २ मंसिर ।
चुनावमा प्रत्यासी भएका उम्मेदवारहरुले कमैमात्र आफ्नो क्षेत्रका मतदातालाई भेट्छन् । घरदैलोको साटो उनीहरु चुनावी सभामा जान्छन्, भाषण दिन्छन् र पार्टीको पक्षमा मतदान गर्न आह्वान गर्छन् । 
२०६४ सालको संविधानसभाको चुनाव लड्दा एमालेका सादगी नेता लिला गिरी पनि त्यसै गरे । उनी आफ्नो क्षेत्रमा कमैमात्र केन्द्रित भए । रुपन्देही–३, बाट उम्मेदवारी दिएका उनी आफ्नै क्षेत्र त हो नि जितिन्छ भन्नेमा ढुक्क थिए । त्यसैले दिनहुँजसो भेट्ने मतदातालाई चुनावका बेला भेटघाट भन्दा अरु सभा, सम्मेलनहरुमा केन्द्रित भए । परिणाम नकरात्मक निस्क्यो, रुपन्देही–३ बाट पराजित भए । तर अहिले उनी रुपन्देही–२ को प्रदेश १ बाट प्रदेश सभाको उम्मेदवार छन् र बिगतमा भन्दा फरक प्रचार शैलीलाई अपनाएका छन् । बिहान, बेलुका घरमा गाई दुहुने र डेरीमा लैजाने र दिनभर चुनावमा खटिने उनको दिनचर्या छ । 
इमान्दार, समन्वयकारी र सरल नेताको परिचय बनाएका गिरी आगामी निर्वाचनमा एमाले–माओवादी केन्द्रबीचको गठबन्धनका कारण अपेक्षाकृत सुरक्षित छन् । तर २०६४ को चुनावको हारबाट के सिकेका छन् भने, उम्मेदवारी जतिसुकै बलियो भएपनि विना घरदैलो जनताको मन जित्न नसकिने रहेछ, चुनावी सभामा गरिने भाषणले मात्र भोट नपाइने रहेछ । अहिले उनी पार्टीका विभिन्न बैठक र कार्यकर्ता भेटघाट हुँदै मतदाता भेट्ने अभियानमा छन् । 
पार्टीको केन्द्रीय सदस्यका साथै रुपन्देही इन्चार्ज भएको नाताले जिल्लाव्यापी चुनावी अभियानमा सरिक भएपनि रुपन्देही क्षेत्र नम्बर–२, अन्तर्गत प्रदेश १ का मतदाताहरुसँग पुग्ने गरी उनले घरदैलोलाई पनि उत्तिकै प्राथमकिता दिने तयारी गरेका छन् । उम्मेदवारी दर्तापछि उनी निरन्तर आफ्नो क्षेत्रमै क्रियाशिल छन् र लगातार पार्टीका विभिन्न कमिटीका बैठक र जनवर्गीय संगठनका भेलाहरुमा केन्द्रित छन् । शुक्रबार पनि उनले बिहानै तिलोत्तमा–१ को शाखा कमिटी बैठकमा सहभागी भए । त्यस्तै ३ नम्बर र ६ नम्बर शाखा कमिटीको बैठकलाई पनि उनले संबोधन गरे । 
त्यसक्रममा उनले राजनीतिक स्थायित्व र विकासको पक्षमा गठबन्धन रहेको बताए । स्थानीय जनताको आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो क्षेत्रलाई विकासमा नमुना बनाउने बताउँदै उनले  विकाससँग सम्बन्धित कुराहरु पनि राजनीतिक स्थायित्वसँग सम्बन्धित रहेको बताए ।
लामो समय देशको नेतृत्व काँग्रेसले सम्हालेकोमा जनताको गुनासो रहेको आफूले पाएको बताउँदै गिरीले राजनीतिक स्थायित्व भयो भने देशमा केही परिवर्तन हुन्छ कि भन्ने जनताको विश्लेषण रहेको सुनाए ।
रुपन्देहीको शंकरनगरमा स्थायी रुपमा बसोबास गर्दै आएका गिरीले बनाएको सरल नेताको पहिचान र सादगीपनलाई नै धेरै मानिसले मन पराउने साहित्यकार देवेन्द्र घिमिरे बताउँछन् । “विपक्षीले पनि उनलाई शालिन र भद्र व्यक्तिको रुपमा चिन्छन्, उहाँ विषयवस्तुलाई प्रभावकारी ढंगले राख्न सक्ने व्यक्ति हो”–घिमिरे भन्छन् । 
  २०२२ सालमा गुल्मी जिल्लामा तत्कालिन जाली फटाहाविरुद्धको आन्दोलनबाट बालसुलभ अवस्थादेखि नै प्रभावित भई १३ वर्षको उमेरमा नै गिरी वाम आन्दोलनमा लागेका थिए । गुल्मीबाट ०३४ सालमा रुपन्देहीमा बसाई सरेपछि उनी राजनीतिक रुपमा संगठीत भएका हुन् । गिरीलाई धेरै पहिलेदेखि चिन्दै र बुझ्दै आएका लेखक गुरुदत्त ज्ञवाली उनी इमान्दार र निष्कलंक व्यक्ति भएको बताउँछन् । “उनी निष्कलंक र इमान्दार व्यक्ति मात्र नभै समाजसेवी पनि हुन्, त्यसैले उनको यो पहिचानलाई विपक्षीहरुले पनि मन पराउँछन्”–ज्ञवाली भन्छन् । 
२०३७ सालको मजदूर आन्दोलनदेखि लिएर २०४६ सालमा पञ्चायतशासन विरोधी आन्दोलनमा सक्रिय योगदान पु¥याएका गिरी बहुदलीय ब्यवस्था पछि भएको स्थानीय निर्वाचनमा शंकरनगर गाउँ विकास समितिको पहिलो जननिर्वाचित अध्यक्ष बनेका थिए ।
  जनप्रतिनिधिको रुपमा तत्कालीन शंकरनगर गाँउ विकास समितिलाई सहभागितामूलक विकासको मोडल वनाई नगरपालिकाको आधार तयार पार्ने काममा उनले पु¥याएको योगदानलाई कतिपयले अहिले पनि स्मरण गर्छन् । एमालेको नेतृत्वमा रहेको सरकारले आफ्नो गाउँ आफैं बनाऔंँ कार्यक्रम अन्तर्गत पहिलो पटक तीन लाख र दोस्रो पटक पाँच लाख स्थानीय बजेटले ५० आँैं लाख बराबरको विकास निर्माण गर्न सकिन्छ भन्ने कुराको उदाहरण यसै गाविसले दिएको थियो । 
उता, दक्षिण एसियामै चर्चित जनस्तरवाट सञ्चालित् नहर छत्तिस कुलापानी एवं सोह्रछत्तिस संयुक्त सिचाई प्रणालीको नेतृत्वदायी भूमिकामा रहेकाले किसानहरुले बढी मन पराउने नेताका रुपमा पर्छन् गिरी । पछिल्लो पटक उनी ५ नम्बर प्रदेश विभाजन विरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए ।
अग्रज पत्रकार अर्जुन ज्ञवाली गिरी गाउँ विकास समितिको तत्कालीन साझा प्रकृतिको अध्यक्ष हुँदा सार्वजनिक काम कुशलतापुर्वक पूरा गरेको बताउँछन् । “जोसँग पनि घुलमिल भएर काम गर्नसक्ने क्षमता गिरीले राख्छन्”–ज्ञवाली भन्छन्–“त्यसैले चुनावको नतीजा पक्कै उनको पक्षमा आउँछ ।” ३५ वर्षदेखि गिरीसँग सँगसँगै रहँदै आएका ज्ञवालीले लामो अवधि संगत गर्दा गिरी पार्टीको तल्लो तहदेखि केन्द्रसम्म पुगेको र स्थानीयस्तरमा स्कुल, कलेज, बाटोघाटो बनाउने जस्ता सामाजिक काममा निरन्तर लागिरहेको बताउँछन् । 
तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्रप्रसाद कंडेल यहाँका आर्थिक विकासलाई लिएर गिरीले बारम्बार चिन्ता र चासो प्रकट गर्ने गरेको बताउँछन् । “पार्टीमा क्रियाशिल भएदेखि नै उहाँको कहीं कतै विवादास्पद छवि देखिएन, पदमा हुँदा र नहुँदा पनि उनी सधै आफ्नो क्षेत्रका समस्यामा नै बढी चिन्तित देखिन्थे”–उनी सुनाउँछन् । 

प्राप्त प्रतिकृयाहरू

To Top