तिब्बतमा भेटिए नेपाली शैलीका भित्तेचित्र

विश्व कार्तिक १९ २०७४ .
Get img


 बेइजिङ, कार्तिक 

दक्षिणपश्चिम चीनको तिब्बत स्वशासित क्षेत्रस्थित शाननानको एक भग्नावशेषमा नेपाली शैलीका भित्ते चित्र फेला परेका छन्। चिनियाँ पूरातत्वविदहरूले उत्खनन् गर्ने क्रममा २० वर्गमिटर क्षेत्रफलभित्र मन्दिरको भित्तामा यस्ता झण्डै सात–आठ सय वर्ष अघिका भित्ते चित्रसँगै बुद्ध अवतार कुँदिएको प्रमाणहरू भेट्टाएका हुन्।

हुनान कल्चरल रेलिक रिसर्च इन्स्टिच्युटबाट यस खोजअनुसन्धानमा खटिएका छाइ ह्वानपाउले भने, ‘पेन्टिङको प्रकृति अनुसार ती चित्रहरूमा नेपाली तत्व समेटिएको देखिन्छ, जुन चित्रकलाले तिब्बतमा बौद्ध धर्म फैलिएर चिनियाँ सँस्कृति मिस्सिनु भन्दा अघिको समयलाई प्रतिविम्वित गर्दछ।’

करीब १३ देखि १५औं शताब्दीतिरका दुर्लभ भग्नावशेष फेला परेका भित्तेचित्रहरूमा नेपाली कलाशैली अनुशरण गरिएको प्रारम्भिक अनुमानले देखाएको छ। विज्ञहरूको भनाइले तेह्रौं शताब्दीतिर कलाकार अरनिको (१२४५–१३०६) को चीन यात्रालाई इंगित गरेको छ।

अरनिकोले चीनमा प्यागोडा शैलीका श्वेतचैत्य, मूर्ति, प्रतिमा, भित्तेचित्रहरू बनाएका थिए। मङ्गोल सम्राट कुब्लाई खाँको निमन्त्रणामा अरनिको तिब्बत छिरेका थिए भने उनले सोङचान गम्पो (६१७–६५०) का अनेकन चित्रहरू पनि बनाएका थिए।

पुरातत्ववेत्ताहरूले उत्खननका क्रममा भेटिएका भित्तेचित्रमा हीनयानी र महायानी बौद्ध धर्मावलम्वीका सप्त बुद्ध अवतारका साथै राजा गम्पोका भित्तेचित्र कोरिएको संकेत देखिन्छ।

भित्ते चित्रको प्रकृतिअनुसार ती चित्रकला निकै परम्परागत शैलीका छन्। तत्कालीन चिनियाँ राजवंशमा भित्ते चित्रकलाको व्यापकता थिएन। साथै पृष्ठभूमिमा हिमाली दृश्य समावेश गर्ने, हरियो रंग प्रयोग गर्ने चलन पनि त्यतिखेर नभएकाले यो चित्रकृति नेपाली हुनसक्ने अनुसन्धानमा खटिएको टोलीले अनुमान गरेको हो। खोजअनुसन्धानको काम जारी रहेकाले भविष्यमा यसबारे थप रहस्य खुल्दै जाने अपेक्षा छ।

शाननान साँस्कृतिक रेलिक (अवशेष) ब्यूरो निर्देशक छाङ्पा छिरिङका अनुसार पूरातत्वविदहरूले यस मन्दिरको नाम क्वो लाखाङ राखेका छन्। क्वो को अर्थ अवस्थिति र लाखाङको अर्थ बुद्ध मन्दिर भन्ने हो।

छिरिङले सुनाए, ‘१७औं शताब्दीतिरका भित्ते चित्रकला प्रायशः भेटिने गरेका थिए, पछिल्ला खोज अनुसार ४०० वर्ष अघिका पेन्टिङहरू भेटिन्थे। तर यो खोजले १३(१५औं शताब्दीका भग्नावशेष पनि फेला पर्नु दुर्लभ कुरा हो।’

दक्षिण तिब्बतको शाननान क्षेत्र विशेष गरी तिब्बत जाती र तिनीहरूको साँस्कृतिक उद्गम थलो भएको पुरातत्ववेत्ताहरूले भन्ने गरेका छन्। शाननान क्षेत्र तिब्बतको पहिलो दरबार र पहिलो गुम्बा रहेको क्षेत्र हो।

अनुसन्धाता छाइ ह्वानपाउ भन्छन्, ‘यसप्रकारको संरचना दीर्घकालदेखि गुमनाम रहेछ किनकि यस्तो निर्माणशैली अन्य तिब्बती मन्दिरमा कहीं कतै भेटिएको थिएन।’

प्राप्त प्रतिकृयाहरू

To Top