भारतले ८३ हजार किलोमिटर सडक बनाउँदै

विश्व कार्तिक ८ २०७४ .
Nh8 24102017083858 1000x0

 एजेन्सी 


नयाँ दिल्ली,कार्तिक ७ भारतको केन्द्रीय सरकारले आफ्नो भूमिमा ८३ हजार किलोमिटरभन्दा लामो सडक/राजमार्ग बनाउने परियोजनालाई स्वीकृति प्रदान गरेको छ । उसले यो परियोजना पूरा गर्न आवश्यक बजेट ७ लाख करोड भारु पनि स्वीकृत गरेको छ । 

त्यहाँको केन्द्रीय मन्त्रिपरिषद्ले मंगलबार परियोजना र बजेट स्वीकृत गरेको हिन्दुस्तानटाइम्सको अनलाइन संस्करणले जनाएको छ । अगामी पाँच वर्षभित्र सक्ने लक्ष्य लिएको परियोजनाले रोजगार अभिवृद्धि गर्नुका साथै भारतको अर्थतन्त्रलाई थप माथि उकास्न सहयोग पुग्ने दाबी गरिएको छ । 

परियोजनाअन्तर्गत ८३ हजार ६ सय ७७ किलोमिटरमा सडक, राजमार्ग र पुलहरू निर्माण गरिनेछ । पहिलो चरणमा ‘भारतमाला’ कार्यक्रमअन्तर्गत २४ हजार ८ सय किमि सडकको निर्माण सन् २०२२ मा सक्ने जनाएको छ । उक्त सडकका लागि ५ दशमलव ३५ लाख करोड भारु छुटयाइएको छ । 

अनलाइनले भारतमाला कार्यक्रमको घोषणा दुई वर्षअघि नै भएको जनाएको छ । उक्त सडकको निर्माण आर्थिक करिडोरहरू र सीमा तथा तटीय क्षेत्रमा गरिने लक्ष्य लिइएको छ । यसै कार्यक्रमअन्तर्गत १ हजार ८ सय ३७ किलोमिटर द्रु्रत मार्गको निर्माणसमेत गरिने योजना भारतको छ । 

परियोजनामा निर्माणाधीन १० हजार किलोमिटरको राष्ट्रिय राजमार्ग, ४८ हजार किलोमिटरको सडक तथा अन्य उच्चमार्गसमेत परेका छन् । परियोजना पूरा गर्नका लागि भारत सरकारले आधा खर्च बजार तथा निजी लगानी कम्पनी र बाँकी रकम सडक फन्डबाट जुटाइने जनाएको छ । 


 

प्राप्त प्रतिकृयाहरू

To Top