एनआरएनए पदाधिकारीलाई ओलीको आग्रहः एमालेका कसैलाई पैसा दिएको भए फिर्ता माग्नुस् 

राजनीति कार्तिक २ २०७४ .
Nrnnl

काठमाडौं, कात्तिक–१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग चुनावका बेला एमालेले पैसा नलिएको वताउनु भएको छ । एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका नाममा कसैलाई पैसा दिएको भए फिर्ता माग्न समेत आग्रह गर्नुभयो । 

केही दिनअघि एक अनलाइनमा एमालेलाई एनआरएनएले ६ करोड रुपैयाँ दिएको भनी समाचार  प्रकाशित गरेको थियो ।  एनआरएनएको नवनिर्वाचित कार्यसमितिको स्वागतमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सम्मेलनका क्रममा एमालेका नेताहरुको नाम जोडेर पैसा लिएको भन्दै आएको समाचारको खण्डन गर्नुभयो ।  ‘नेपालमा राम्रा मान्छे मात्रै छैनन्, अनुचित र अप्रमाणिक कुरा गरेर बदनाम गर्ने मान्छे पनि छन्’ ओलीको भनाई थियो, ‘एमालेलाई बदनाम गर्न एनआरएनएले ६ करोड एमालेलाई दिएको प्रचार गरे । तपाईंहरुले कसैलाई पैसा दिनुभएको छ भने फिर्ता माग्नुस्।’ 

एमाले अध्यक्ष ओलीले एनआरएनएसँग एमालेले ६ करोड रुपैयाँ लिएको भनी समाचार प्रकाशित गर्ने अनलाइनको नामसमेत लिंदै कांग्रेस निकटका संञ्चार माध्यमले यसअघि पनि एमाले विरुद्ध दुश्प्रचार गर्ने गरेको उदाहरण दिनुभयो । ‘कांग्रेसका पत्रकारले कांग्रेसको एजेण्डा लेखेनन् । ०४८ सालको संसदीय चुनावमा पनि कांग्रेसको एजेण्डा राम्रो छ भनेर लेख्दैनथे’ ओलीले भन्नुभयो, ‘कम्युनिस्टले जिते भने ६० वर्ष पुगेकालाई गोली हानेर मार्छन्, त्यसका लागि खाडल खन्ने काम भइरहेको छ भनेर लेख्थे । अहिले पनि कांग्रेसका सञ्चार माध्यमले यस्तै लेख्न थालेका छन् ।’

उहाँले गौतमबुद्धको जन्मथलोबारेको विश्वमा रहेको भ्रम चिर्न   एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्नुभयो । विभिन्न देशका पाठ्यपुस्तकमा समेत गौतम बुद्धको जन्मस्थल भारतमा रहेको उल्लेख भएकोले त्यसलाई सच्याउन भूमिका खेल्नुपर्ने ओलीको आग्रह थियो । ‘गौतम बुद्ध भारतमा जन्मेको भनेर कतिपय देशमा पढाइन्छ, गौतम बुद्ध जन्मेका बेला भातर भन्ने देश नै थिएन’ ओलीले भन्नुभयो, ‘त्यतिबेला भारत वर्ष थियो, त्यसैलाई भारत भनेर प्रचार गरियो । लुम्बिनी भन्ने ठाउँ कहिल्यै पनि भारतमा पर्दैनथ्यो, कपिलवस्तु तिलौराकोट नेपालमा थियो ।’ नेपाल बुद्धको जन्मथलो र बुद्धत्वको सुरुवाती थलो पनि रहेको ठोकुवा गर्नुभयो । ‘यो तथ्यलाई मोडेर विश्वभर गरिएको कुप्रचारलाई चिर्न काम गर्नुस्’ ओलीको भनाई थियो ।   गैरआवासीय नेपाली संघले साझा संस्थाको रुपमा काम गर्नुपर्ने सुझाव ओलीले दिनुभयो। त्यस्तै एनआरएनएले निर्माण, रोजगारी सिर्जना गर्ने, उत्पादनमूलक र राज्यको आयस्रोत बढाउने क्षेत्रमा लगानी गर्नुपर्ने ओलीको सुझाव थियो।

प्राप्त प्रतिकृयाहरू

To Top