माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसियो

राजनीति कार्तिक १ २०७४ .


 काठमाडौं असोज ३१ । 
 प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गर्नुभएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरुको जिम्मेवारी तोक्नु भएको हो ।
प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । लगतै माओवादीका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका थिए । तर, सरकारले चुनाव सार्न खोजेको भन्दै माओवादी मन्त्रीहरुको राजीनामा रोकिएको छ ।
 
   उपप्रधानमन्त्री कमल थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापाले महिला बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । कुन्ती कुमारी शाहीलाई शाही शहरी विकास राज्यमन्त्री, भास्कर भद्रालाई ऊर्जा राज्यमन्त्री, सुशील कुमार श्रेष्ठ आपूर्ति राज्यमन्त्री र कान्ता भट्टराईलाई महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 
त्यस्तै राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ । बोहरा यसअघि विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि र सामान्य प्रशासन मन्त्रालय आफैंले राख्नु भएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । ६४ सदस्यीय मन्त्रिमण्डलमा माओवादीबाट ९ मन्त्री र ८ जना राज्यमन्त्री सहभागी छन् । यसअघि माओवादीबाट मन्त्री बनेकाहरुले परराष्ट्र, गृह, आपूर्ति, ऊर्जा, स्वास्थ्य, महिला बालबालिका तथा समाज कल्याण, समान्य प्रशासन, शहरी विकास, पशुपंक्षी विकास मन्त्रालय सम्हालेका थिए ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top