समानुपातिक उमेदवारी दर्ता सुरु, यस्तो छ प्रक्रिया र कार्यतालिका

राजनीति असोज २९ २०७४ .

 

काठमाडौं,असोज २९ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचनका उमेदवारहरूको बन्दसूची पेश गर्ने काम सुरु भएको छ । 
निर्वाचन आयोगमा दर्ता ८८ दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ चुनिने ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरूको बन्दसूची पेश गर्न लागेका हुन् ।

दलहरुले प्रतिनिधिसभाको समानुपातिक सूचीमा कम्तिमा ११ जना र बढीमा ११० जनाको नाम पेश गर्न पाउनेछन् भने प्रदेशसभाका लागि प्रदेशअनुसार १० देखि शतप्रतिशत उमेदवारको सूची पेश गर्ने व्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार सूची पेश गर्दा कम्तिमा ५० प्रतिशत महिलासहित प्रतिशतका आधारमा जनजाती, खस–आर्य, मुस्लिम, मधेसी, थारु, दलित लगायतको प्रतिनिधित्व समेत गराउनुपर्ने हुन्छ ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभाको लागि १ सय १० र प्रदेशसभाका लागि २२० जना चयन हुनेछन् । १३.८ प्रतिशत दलित, २८ प्रतिशत आदिवासी जनजाति, ३१.२ खस आर्य, १५.३ मधेसी,  ६.६ थारु  र ४.४ प्रतिशत मुस्लिम सिफारिस गर्नुपर्नेछ।

समानुपातिक निर्वाचनका लागि ८८ दलले निर्वाचन चिह्न प्राप्त गरेका छन् । दलहरु प्रतिशत मिलाउन अझै छलफलमा छन् ।

आयोगको केन्द्रीय कार्यालयमा ८ बजेदेखि नै कर्मचारी खटिएको र १० बजेदेखि उमेदवारी दर्ता सुरु भएको उनले जानकारी दिए ।

राजनीतिक दलहरूको सहजताका लागि आयोगले प्रतिनिधसभाको छुट्टै स्टल राखेको छ भने प्रदेशसभाका लागि ७ वटा स्टल राखेको छ ।  निर्वाचन दुई चरणमा हुने भएपनि समानुपातिकका लागि बन्दसूची भने आइतबार नै पेश गरिसक्नुपर्नेंछ ।

प्रतिनिधिसभा र प्रदेशअनुसार निर्वाचनमा भाग लिन चाहने दलको नाम र चिन्ह यसअघि नै निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । जसमा प्रतिनिधिसभाका लागि ८८ दल र सबै प्रदेशका लागि ९१ दल दर्ता भई चुनाव चिन्ह प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन कार्यतालिका 

कार्यतालिका अन्तर्गत निवेदन पेश गर्नका लागि सूचना प्रकाशान, दलले निवेदन पेश गर्ने, राजनीतिक दलहरुको नामावली प्रकाशन, फिर्ता लिने, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने काम सकिइसकेको छ । आयोगमा निर्वाचनमा भाग लिनका लागि ८८ दलले निवेदन दिएका छन् । प्रदेशभा भने दलको संख्या फरक छ ।

आइतबार (आज) राजनीतिक दलहरुले उमेदवारको बन्दसूची पेश गरिसकेपछिको प्रक्रिया र कार्यक्रम यस्तो रहेको छ ।

बन्दसूची सच्याउने राजनीतिक दलहरुलाई सूचित गर्नेः २०७४/०६/३०

बन्दसूची संशोधन गरी पेश गर्नेः २०७४/७/०६ देखि २०७४/०७/१२

बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदनः २०७४/०७/१३

उम्मेदवारको नाम फिर्ता सम्बन्धी सम्बन्धित राजनीतिक दललाई जानकारी : २०७४/०७/१४ देखि २०७४/०७/१५

उम्मेदवारको बन्दसूची सार्वजनिक गर्नेः २०७४/०७/१७

योग्यता सम्बन्धमा दाबी बिरोध गर्ने निवेदनः २०७४/०७/२५ देखि २०७४/०८/०१

दाबी विरोधको निवेदन उपर जाँचबुझ र निर्णयः २०७४/०७/२५ देखि २०७४/०८/०१

बन्दसूचीबाट उमेदवारको नाम हटाएको सूचना प्रकाशनः २०७४/०८/०२

बन्दसूची अन्तिम रुपमा प्रकाशनः २०७४/०८/०३

मतदान गर्नेः २०७४/०८/१० र २०७४/०८/२१

 

प्राप्त प्रतिकृयाहरू

To Top