एमाले रुपन्देहीद्वारा सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

राजनीति असोज २१ २०७४ .

 बुटवल असोज २१   |  
नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आगामी संघ र प्रदेशको निर्वाचनका लागि जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार प्रदेश कमिटीमा सिफारिश गरेको छ ।

एमाले जिल्ला कमिटीको शुक्रवार बसेको बैठकले प्रदेश र संघीय चुनावका लागि उम्मेदवार सिफारिश गरेको हो । एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीका अनुसार रुपन्देहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षमा घनश्याम भुसाल, छविलाल विश्वकर्मा, राधा ज्ञवाली, लिला गिरी र मिना पाण्डेको नाम प्रदेश कमिटीमा सिफारिश गरेको छ ।

त्यस्तै प्रत्यक्षतर्फ प्रदेश सभाका लागि क्षेत्र नम्बर १ क बाट सिद्धिचरण भट्टराई, निलकण्ठ पौडेल, ध्रुव खरेल, सुनिल कौशल, कृष्ण न्यौपानेको नाम सिफारिश गरिएको छ भने क्षेत्र नम्बर १ ख बाट यज्ञ गैरेको नाममा सर्वसम्मत रुपमा सिफारिश गरिएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पार्टीका उपमहासचिव विष्णु पौडेलको नाम सर्वसम्मत रुपमा सिफारिश गरिएको छ भने प्रदेश सभाका लागि क्षेत्र नम्बर २ को क बाट गोपाल भट्टराई, गोपाल राना र ख बाट बाबुराम भट्टराई, भोजप्रसाद श्रेष्ठ, नन्दीकेशर ढकाल, गुरुप्रसाद शर्मा र विमला पन्थीको नाम सिफारिश गरिएको छ ।

त्यसैगरी जिल्लाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ घनश्याम भुसाल, विजय पौडेल र पुष्पान्जली उपाध्यायको नाम उम्मेदवारका लागि सिफारिश गरिएको छ भने प्रदेश सभाका लागि क्षेत्र नम्बर ३ क बाट रामप्रसाद बस्याल, भरत पोखरेल र ज्ञानदेव हटुवाल तथा ख बाट श्याम खरेल, जीवलाल अर्याल, डिला अर्यालको नाम सिफारिश गरिएको छ ।

बैठकले क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ बिन्ध्याचल यादव र गंगा ठठेरको नाम सिफारिश गरेको छ । त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर ४ क बाट प्रत्यक्षतर्फ पल्लवी सुब्बाका नाम सिफारिश गरिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ खिमलाल भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिश गरिएको छ भने प्रदेश सभाका लागि क्षेत्र नम्बर ५ क बाट भूमिश्वर ढकाल, मिनप्रसाद घिमिरे, ज्ञानकुमारी बेलबासेको नाम सिफारिश गरिएको छ । बैठकले सबै समुदायको प्रतिनिधित्व हुने गरी समानुपातिक उम्मेदवारको नाम पनि सिफारिश गरेको विज्ञप्तीमा उल्लेख छ ।

जिल्ला कमिटीको बैठकले ४४ सदस्यीय जिल्ला सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मन्च गठन गरेको छ भने विभिन्न विभागहरु समेत निर्माण गरेको छ । बैठकलाई संबोधन गर्दै एमाले स्थायी समिति सदस्य छविलाल विश्वकर्माले समसामयिक राजनीतिक परिस्थितिका साथै आगामी निर्वाचन र बाम तालमेलका बारेमा प्रकाश पारेका थिए ।  

बैठकमा एमाले नेताहरु राधा ज्ञवाली, लिला गिरी, खिमलाल भट्टराई, एकराज विश्वकर्मा, नेत्र पन्थी, भूमिश्वर ढकाल, गोपाल भट्टराई लगायतको उपस्थिति थियो ।


 

प्राप्त प्रतिकृयाहरू

To Top