समाचार / बिचार

बामपन्थी एकताका चुनौती  

असोज २० २०७४     D.R. Ghimire


-प्रा. डा. राजकुमार पोखरेल


असोज १७ गते बामपन्थी एकताको घोषणाले नेपाली राजनीतिमा तरङ्ग पैदा भएको छ । त्यसले नेपाली राजनीतिमा ध्रुवीकरण पनि ल्याएको छ । नेपालमा भएका निर्वाचनहरुमा पञ्चायतको निर्वाचन र २०१५ सालको निर्वाचनलाई छाडेर हेर्ने हो भने हरेक निर्वाचनमा बामपन्थीहरुको मत धेरै आएको छ तर, सत्तामा सधैं नेपाली कांग्रेस देखिन्छ । चाहे त्यो २०४८ सालको निर्वाचनमा होस् या त्यस पछिका । एमालेको बिभाजनको अवस्थामा भएको २०५६ सालको निर्वाचनमा पनि एमाले र मालेले पाएको मत गणना गर्दा नेपाली कांग्रेसको भन्दा चार प्रतिशतले बढी थियो । माले र एमाले नमिलेका कारण कांग्रेसले विजय गरेका स्थान ४७ थिए । कांग्रेसले विजय पाएको सिट भन्दा यो दुवै जोड्दा धेरै हुन्थ्यो । त्यसवेला एमालेमा विभाजन नआएको भए नेपालको संसदीय राजनीतिक इतिहासमा कम्युनिष्टको पहिलो बहुमतीय सरकार बन्ने थियो । २०६४ सालको संविधानसभामा माओवादी र एमालेमात्र मिल्दा पनि संसदमा बहुमत पुगेको थियो भने उक्त संविधानसभामा कम्युनिष्टहरु फुटेर उठ्दा पनि ६६ प्रतिशत उपस्थिति थियो । यस अर्थमा नेपाली जनमत बामपन्थी राजनीतितर्फ आकर्षित भएको देखिन्छ ।

एकताको वहस
कम्युनिष्ट एकताको चर्चा गर्दा त्यसमा आएको फूट र विभाजनका पछाडि नेताको महत्वाकांक्षा र दम्भ नै प्रमुख कारण देखिन्छन् । नेतृत्वले जनमतको कदर गरेको देखिएन । जनयुद्धको ज्वालाबाट शान्तिको हिमालमा आएको माओवादीमाथि तत्कालै विश्वास गर्ने आधार थिएन । २०६४ सालको निर्वाचनकै समयमा माओवादीले एमालेसँग आफूलाई ४० र एमालेका लागि ६० भागबण्डासहित चुनावमा जान प्रस्ताव राखेको थियो । तर २०६४ साल फागुन १५ मा राजधानीको बानेश्वरबाट एमालेले कसैसँग पनि तालमेल नगर्ने उद्घोष गर्यो । उपत्यकाका १५ स्थान बाहेक अरु बाँकी स्थानमा तालमेल हुन सक्ने अहंकारयुक्त अभिव्यक्ति दियो । यो अहंकारको परिणाम एमाले उपत्यकामा शुन्य भयो । कम्युनिष्ट एकता सेलायो । जनचाहना कम्युनिष्ट एकताका पक्षमा रहे पनि दम्भ र अहंकारले त्यसलाई तोड्यो । परिणाम एमाले संसदमा तेस्रो दल बन्यो । 

संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले कसरी त्यति धेरै मत आर्जन गर्यो भन्ने सही जानकारी माओवादीलाई पनि थिएन । नौ महिना सत्ताको विरासतमा बसेर प्रतिपक्षामा उभिन पुगेको माओवादीका अध्यक्षले टुँडिखेलको एक भाषणमा अरुलाई ‘हरुवाहरु’ भन्दै अपमान गर्नुमा उनलाई दम्भ पलाएको सहज अनुमान गर्न सकिन्थ्यो । वास्तवमा उनको संगठनको वास्तविक धरातल उनैलाई थाह थिएन । पार्टीभित्र अनेकौं गुटको अस्तित्वलाई राखेर पार्टी सञ्चालनको विधि र प्रक्रियाविना एक व्यक्तिको शक्तिको प्रयोगमा चल्नु नै माओवादीको गम्भीर त्रुटी थियो । जनयुद्ध भित्र र बाहिरको सीमारेखा र विभेद तथा कार्यकर्तामा देखिने चरम व्यक्तिवादी स्वार्थ संगठनभित्रको अर्को दुर्गुण हो भन्ने पत्तोसम्म पाउन सकेका छैनन् । यो अवस्थाबाट माओवादी संगठनले विकास  गर्ने कुनै लक्षण थिएन । परिणामतः दोस्रो संविधानसभाको निर्वाचनमा आइपुग्दा माओवादी संगठनको हैसियत र औकात प्रष्ट हुन गएको थियो ।

तुलनात्मक रुपमा अन्य राजनीतिक दल भन्दा एमालेको सांगठानिक आधार बलियो छ ।  यो पार्टी  पनि गुट उपगुटको भुँवरीबाट भने मुक्त छैन । आन्तरिक पार्टी जीवनमा आवधिक निर्वाचन पद्दतिको विकास र सांगठानिक संरचना र विधि प्रक्रिया एमालेमा समुन्नत र जनवादी छ । माओवादीको खरिपाटी, पालुङ्टार, भृकुटीमण्डप, हेटौंडा र विराटनगरका विस्तारित वैठक या सम्मेलन यस्तो विधि प्रक्रिया र जनवादी अभ्यासको सून्यतामा भए । एमालेका कुनै भेला त्यस्तो अव्यवस्थित र अलोकतान्त्रिक प्रक्रियाको अभ्यासमा रुमलिएनन् । संविधानसभाको दोस्रो निर्वाचनले पार्टीहरुको हैसियत र औकात भने देखाइदियो । पहिलो संविधानसभाको निर्वाचनले एमालेमा पलाएको दम्भ र अहंकारलाई साइजमा ल्यायो भने माओवादी हैसियत दोस्रो संविधानसभाको निर्वाचनले प्रष्ट पार्यो ।

नेपालको संविधान २०७२ जारी भएपछि नेपालमा एमाले नेतृत्वमा माओवादी सम्मिलित सरकार निर्माण भयो । त्यो सरकार विषम परिस्थितिमा बनेको थियो । उक्त सरकारको गठनलाई नेपाली बामपन्थी जनमतले निकै सकारात्मक रुपमा लियो । खासगरी नाकाबन्दीसँग नझुकी सरकार संचालन गर्नु, नेपाली स्वाभिमानी इतिहासमा ठूलो योगदान मानिएको थियो । तर त्यसवेला माओवादी एकाएक सरकारबाट बाहिरियो र कांग्रेससँग गठबन्धन गर्न पुग्यो । त्यसवेला माओवादी र एमालेबीच भएको भद्र सहमति एमालेले तोडेको भनेर प्रचार भयो । भद्र सहमति तोडेको भए त्यो एमालेको भूल थियो । यद्यपि, माओवादीले त्यसवेला सरकारबाट बाहिरिन सही समय भने रोजेको थिएन, जसले गर्दा उसलाई लम्पसारवादको आरोप लागिरह्यो । 

यसैबीच नेपालमा तीन चरणमा स्थानीय निर्वाचन भयो । निर्वाचनको वारेमा अध्ययन गर्दै निर्वाचन हुनु भन्दा पहिले नै यस लेखकले एमाले पहिलो शक्ति हुने आफ्नो धारणा लेखमार्फत सार्वजनिक गरिसकेको थियो । माओवादीभित्रका केही मान्छे ती विचार र तथ्यको चर्को विरोध गर्न थालेका थिए । आखिर परिणाम मेरो धारणाकै हाराहारीमा आयो । पहिलो र दोस्रो चरणको निर्वाचनले जुन परिणाम दियो, त्यो एमालेले संकटको वेलामा लिएको अडानको परिणति थियो । त्यसले एमालेमा फेरि दम्भ पलाउने हो कि भन्नेमा आशङ्का पनि उत्तिकै थियो । चौतर्फी घेराबन्दीको कारणले तेस्रो चरणको निर्वाचनमा एमालेको अपेक्षित परिणाम आउन सकेन । अर्कोतिर माओवादी सत्तामा बसेर गराएको निर्वाचन, सारा शक्तिको प्रयोग, कांग्रेसको मनोभावना र कांग्रेसी मतदाताले प्रयोग गर्ने मतको शैली सवैलाई हेरेर आफ्नो औकात केही अर्थमा बुझ्न गयो । त्यसकै परिणाम स्वरुप आयो बाम एकता । बाम एकताको मूल कारण भनेको बामपन्थीहरु नमिलेको अवस्थामा सवै सकिने वा सधैं प्रतिपक्षमा बस्नु पर्ने अवस्था आउन सक्ने आँकलन एक हो । यदि यो हो भने त्यसलाई उपयुक्त मान्नुपर्छ । 

एकता भित्रको खतरा
सधैं भाइ कांग्रेसको आरोप लाग्दै आएको एमालेले झलनाथ खनालकै नेतृत्वको समयमा नै भाइ कांग्रेसबाट फरक हुने पाइला चालिसकेको थियो । तर त्यसवेला पार्टीभित्र नेतृत्वको बलियो पकड बन्न नसकेकाले गति लिन सकेन । दोस्रो संविधानसभाको निर्वाचनपछि खासगरी केपी शर्मा ओली नेतृत्वमा कांग्रेसभन्दा फरक राष्ट्रिय स्वाभिमानको नाराले प्रश्रय पायो । यो लेखक स्वयंले गरेको एक अध्ययनमा राजनीतिकरुपमा कुनै पार्टीप्रति जवाफदेही नभएका २० लाख भन्दा बढी युवा स्वतस्फूर्त ओली राजनीतिको प्रशंसक बने । देशप्रतिको मायाँ उनीहरुमा झल्केको थियो । नाकावन्दीको समयमा बरु आधा पेट खाने तर, नझुक्ने सल्लाह सरकारलाई दिंदै आएका जनताको मनोभावना बुझ्नु नै एमाले नेतृत्वको जनसमर्थनको एउटा आधार बन्यो । त्यसवेला जन समर्थनको शिखरमा पुगेको माओवादी नेतृत्व एकाएक छुट्टै धरातलमा उभिन किन पुग्यो र जनसमर्थन गुमाउने हदमा काम गर्यो भन्ने प्रश्नको जवाफ अहिले पनि पाइएको छैन । कुनै वाहिरी शक्तिको खेल र दवावमा माओवादी पर्यो । अहिले पनि आशंकाको बीचमा भएको यो बाम एकताभित्र अझै पनि त्यस्ता वाहिरिया शक्तिले खेलेर विथोलिने खतरा नहोला भन्न सकिंदैन ।

दोस्रो संविधानसभाको निर्वाचनपछि खासगरी केपी शर्मा ओली नेतृत्वमा राष्ट्रिय स्वाभिमानले प्रश्रय पायो । यो लेखक स्वयंले गरेको एक अध्ययनमा राजनीतिक रुपमा कुनै पार्टीप्रति जवाफदेही नभएका २० लाख भन्दा बढी युवा स्वतस्फूर्त ओली राजनीतिको प्रशंसक बने । देशप्रतिको मायाँ उनीहरुमा झल्केको थियो ।

संस्कारका दृष्टिकोणमा दुई पार्टी भित्र धेरै भिन्नता छन् । एमाले इतिहासमा हेर्ने हो भने यो एकताको पर्याय हो । अत्यन्त साना साना टुक्राहरु मिलेर बनेको पार्टी र एकताको क्रममा कतै कसैले पनि अपमान र तिरस्कार भोग्न नपर्ने गरी व्यवस्थित हुँदै आएको पार्टी हो । त्यहाँ न झापाली गुट, न मुक्तिमोर्चा गुट, न हर्रेबर्रे गुट, न माले या माक्र्सवादी गुट या अन्य कुनै पनि, अहिले अहिले पुराना कुनै गुट अस्तित्वमा छैनन् । तर माओवादीभित्र अहिले पनि चौथो महाधिवेसन र अन्य ध्रुवका बीचमा, जनयुद्ध गरेका र नगरेका भन्ने, एकताकेन्द्र र माओवादी भन्ने आदि जस्ता अनेकन गुट र स्वार्थले काम गरेको पाइन्छ । विभेदका चरम व्यवहारहरु पनि छन् । नेताहरुमा आलोचाना भन्दा आत्मप्रशंसामा रमाउने परिपाटी एमालेमा भन्दा माओवादीमा धेरै छ । सांगठानिक रुपमा सम्हाल्न नसकेर ५००० सदस्यको केन्द्रीय समिति बनाई एक व्यक्ति केन्द्रित राजनीतिको संगठन र सामुहिक नेतृत्वमा व्यक्तिको भूमिका देख्ने सांगठानिक संरचनाका बीच समन्वय हुने र मेल नहुने खतरा मौजुदा छ । अहिले नै एकताका कुरा गर्दा लौ हामी सकिने भयौं, पार्टी सकिने भयो, वर्वाद भयो भन्ने टिप्पणीहरु उठ्न थालिसकेका छन् । वास्तवमा सामाजिक सहकार्यको अभ्यास नभएका र व्यक्तिवादमा रुमलिएकाहरुमा यस्तो रुवावासी हुनु स्वाभाविक पनि हो । तर यो प्रवृत्ति एकताका निम्ति भने खतरा हो ।

यी खतराका बाबजुद विधि÷प्रक्रियामा पार्टी सञ्चालन गर्ने र राष्ट्रिय स्वाभिमान÷गौरवलाई कायम राख्दै आफ्ना गलत काम कारवाहीलाई सुधार्दै जाने प्रतिवद्धता यस एकतामा जरुरी छ । यदि एकता पछि पनि गुट भजन गाउने, प्रशंसा गर्ने र चाकरी चाप्लुसीलाई महत्व नदिई अर्थात त्यस्तो प्रवृत्तिप्रति कटु आलोचना गर्दै कार्यकर्ताको योग्यता, क्षमता, कार्यशैलीको विशिष्टतातर्फ ध्यान दिएर पार्टीलाई एक ढिक्का बनाएर लैजाने तर्फ काम नगरी जाने हो भने एकता भाँडिन समय लाग्ने छैन । एकता भनेको नेपाली कम्युनिष्ट आन्दोलनमा आजको आवश्यकता हो । यत्ति घोषणा गरि सकेपछि पनि यो वा त्यो वहनामा चुनावी एकता मात्र होइन पार्टी एकताको विरोधमा कोही आउँछ भने त्यसको नियतमा शंका गर्नु पर्ने हुन्छ । विधि, प्रक्रिया र विचारले पार्टी चल्यो भन्यो एकता बलियो हुन्छ । 

0 प्रतिकृयाहरू प्राप्त

To Top