देवनारायणकी बुहारीको शुक्रबार भारतीय अदालतमा बयान हुने

राजनीति असोज १९ २०७४ .

 

काठमाण्डौ,आश्विन १९, तिलाठी कोइलाडी गाउँपालिका २ का सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव र उनका छोरा अजयकुमार यादवलाई छुटाउन शुक्रवार भारतको सुपौल जिल्लास्थित बिरपुरको अनुमण्डलीय व्यबहार न्यायलयमा उनकी बुहारीको बयान हुने भएको छ । 

भारतीय सुरक्षा अधिकारीको सल्लाह अनुसार यादव बाबुछोरालाई छुटाउन अपहरण भएको भनिएकी देवनारायणकी बुहारी ज्योती कुमारीलाई न्यायलयमा बयानका लागि सप्तरीका स्थानीय प्रशासनले मंगलवारदेखि पठाइरहेको छ । न्यायलयमा समयमा न्यायाधीश उपस्थित नहुँदा बुधवार बयान सुरु गर्ने प्रक्रिया पुरा गरेर शुक्रवार बयानका लागि बोलाएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए ।

 

यादवकी बुहारी ज्योती कुमारीले मंगलवारदेखि न्यायालयमा बयान दिन गइरहँदा पनि न्यायिक अधिकारीहरुले मुद्दा लम्ब्याउने खेलमा लागेको गुनासो पोखिन् । उनले आफ्नै कारण आफ्ना पति र ससुरालाई भारतीय अधिकारीले जेलमा राखेको र आफु आउँदा न्यायिक अधिकारी नभएको भन्दै फर्काउने गरेकोबाट उनीहरुको पूर्वाग्रही व्यबहार उजागर भएको बताइन् । उनले बुधवार एक कर्मचारीले सामान्य नाम ठेगाना सोधेर शुक्रवार पुन: बयानका लागि बोलाएको सुनाइन् । 

त्यहाँको न्यायालयमा बयान गराउने र आदेश गर्ने न्यायधीश छुट्टाछुट्टै रहने गरेको र विदाका कारण एउटा मात्रै न्यायधीश उपस्थित रहेकोले केही समस्या आएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनले शुक्रवार संभवत ज्योतीको बयान सकिने र आदेश गर्ने न्यायधीश न्यायालयमा फर्केको भए आदेश पनि हुने आशा रहेको सुनाए । उनले आदेश गर्ने न्यायधीशले सामान्य तारेखमा देवनारायणलाई बेल दिने आफ्नो विश्वास रहेको बताए । छोरालाई पनि धरौटीमा बेल दिन सक्ने संभावना रहेको उनी भन्छन् । 

नेपालमा आरोपित पक्राउ परेको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु पर्ने हुन्छ । तर यादव बाबुछोरालाई पक्राउ गरेर ५ दिनदेखि भारतको बिरपुर जेलमा राखेपनि त्यहाँको न्यायलयमा उपस्थित गराएइको छैन । 

भारतको कुनौली थानाध्यक्ष बिनोद कुमार यादवले देवनारायणलाई पहिलेदेखि ज्योती कुमारीलाई थानामा ल्याएर बयान गराइहाल्न गरेको आग्रहको अटेरी गर्दै आएकोले पक्राउ गर्न बाध्य भएको सुनाए ।

भारतको कुनौली १ का ज्योती कुमारीलाई देबनारायणका छोरा अजयले भगाएर प्रेम विवाह गरेकोले ज्योतीको दाजु संजितकुमार साहले नाबालिका अपहरण गरेको उजुरी दिएको थियो । 

बिरपुर अदालतमा देबनारायण, उनका छोरा अजय, दिपक कुमार यादव र ननु यादवबिरुद्ध मानव अपहरण मुद्दा दर्ता रहेको छ । 

भारतको कुनौली १ का संजिब कुमार साहले आफ्नी बहिनी ज्योती कुमारीलाई देबनारायण, उनका छोरालगायतले अपहरण गरेको भन्दै कुनौली थानामा जाहेरी दिएको आधारमा देवनारायण र उनको छोरालाई कुनौली प्रहरीले आइतवार पक्राउ गरि सोमवार जेल चलान गरेको हो । 


 

प्राप्त प्रतिकृयाहरू

To Top