कांग्रेसले थाल्यो लोकतान्त्रिक गठबन्धनको तयारी  

राजनीति असोज १८ २०७४ .
Congress


काठमाडौं,असोज १८  । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच तालमेलको घोषणा र पार्टी एकता प्रक्रिया सुरु भएपछि कांग्रेसले पनि बृहत लोकतान्त्रिक गठबन्धनको तयारी थालेको छ ।

त्यसका लागि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल अघि बढाएका छन् । उनले मंगलबार बेलुका नै नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमार गच्छदार, राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् ।

“विशेषगरी एमाओवादी केन्द्र सरकारबाट बाहिरिने अवस्था आएमा के गर्ने र आगामी चुनावमा तालमेल गर्ने विषयमा छलफल केन्द्रित थियो,” 

देउवाले राजपाका संयोजक महन्थ ठाकुर र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणासँग पनि छलफल गर्दैछन् ।

“वामपन्थी गठबन्धन बनेपछि हामीले पनि बृहत लोकतान्त्रिक गठबन्धन बनाउने तयारी गरेका छौं,” कांग्रेस नेता प्रकाशशरण महतले भने ।

उनका अनुसार यसबारेमा आज बोलाइएको कार्यसम्पादन समितिको बैठकमा पनि छलफल हुनेछ ।

“हामी उमेदवार चयनको अन्तिम तयारीमा पनि छौं,” उनले भने, “यस्तो बेलामा माओवादीले सहकार्य छाड्ने संकेत गरेपछि आगामी विकल्पका बारेमा पनि छलफल गर्दैछौं ।”

कांग्रेसले ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसले वाम गठबन्धनबाट नेपालको प्रजातन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै अब गैरवामपन्थी शक्तिबीच तालमेल गर्नुपर्ने बताएको छ । कांग्रेस नेता डा. रामशरण महतले वाम गठबन्धनलाई अवसरवादीको झुण्ड भएको बताए ।

उनले कांग्रेस र माओवादीबीच शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने, संविधानलाई सर्वस्वीकार्य बनाउने लगायतका विषयमा सहमति भएर अघि बढेकै बेला माओवादीले धोका दिएको आरोप लगाए ।

उनले माओवादीले भित्र भित्र यस्तो काम गर्ला भन्ने कल्पना पनि नगरिएको बताए ।

“यो लोकतन्त्रको लागि खतरा पनि हो,” उनले भने, “वामपन्थी तालमेल हुने हो गैरवामपन्थी पनि तालमेल हुन सक्छ । सबै सम्भावनाका ढोका खुल्छन् । बामपन्थीको नाममा गठबन्धन हुन्छ भने गैरवामपन्थीको पनि हुन सक्छ ।”

प्राप्त प्रतिकृयाहरू

To Top