समाचार / विश्व

दक्षिण एसियाली राष्ट्रमा प्रभाव बिस्तार गर्दै चीन, पाकिस्तानपछि मालदिभ्ससँग व्यापार सम्झौता

असोज २ २०७४     एजेन्सी
Japan

काठमाण्डौ,  असोज २ –

चीनले पाकिस्तानपछि अर्को दक्षिण एसियाली राष्ट्र मालदिभ्ससँग स्वतन्त्र ब्यापार सम्झौता (एफटीए) गर्ने समझदारी गरेको छ । छिमेकीसँग भएका यस्ता समझदारीले भारतलाई समेत चीनसँग ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ’ मार्फत व्यापार बिस्तारको दवाव पर्ने चिनियाँ बिश्लेषण देखिन्छ ।

दक्षिण एसियामा आफ्नो ब्यापार बिस्तार गर्ने उदेश्य राखेको चीनले त्यसैको एक अंगका रुपमा  भदौ ३१ मा मालदिभ्ससँग स्वतन्त्र ब्यापार सम्झौताको समझदारी गरेको हो ।

दक्षिण एसियालाई आफ्नो परम्परागत प्रभावक्षेत्र ठान्दै त्यस्तै व्यवहार गर्दै आएको भारतले बिस्तारै त्यो प्रभाव गुमाउँदै गएको छ भने चीनले लगानीमार्फत आफ्नो प्रभाव बढाउँदै लगेको छ । चीन र पाकिस्तान ‘अल वेदर फ्रेण्ड्स’ हुन भने भारतीय गलत नीतिका कारण अन्य साना दक्षिण एसियाली राष्ट्रसमेत चीनसँगको सम्बन्धलाई अघि बढाउँदैछन् ।

पाँच चरणको छलफलपछि शनिवार दुबै देश स्वतन्त्र ब्यापार सम्झौतामा सहमत भएका हुन् । चिनियाँ कमर्श मिनिष्ट्रिको वेबसाइटका अनुसार, ती पाँच चरणका छलफल र एक मन्त्रीस्तरीय परामर्शपछि दुबै देश खुल्ला ब्यापार गर्न सहमत भएका हुन् ।

चीन र श्रीलंकाबीच पनि स्वतन्त्र ब्यापार सम्झौता गर्ने तयारी अघि बढेको छ । अहिले सम्म पाँच चरणका छलफल भइसकेको र ती छलफल सकारात्मक भएकाले चाडै एफटिए सम्झौता हुने बिश्वास छ । नेपाल र चीनबीच सन २०१६ को मार्च नै स्वतन्त्र ब्यापार सम्झौताका लागि संभाब्यता अध्ययन गर्ने समझदारी भइसकेको र त्यसको प्रक्रिया अघि बढीरहेको चिनियाँ अखवार ग्लोबल टाइम्सले लेखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमण मार्च २०१६ मा नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौता भएको थियो भने एफटीएको संभाब्यता अघि बढाउने समझदारी भएको थियो । नेपाल र चीनबीच खुला व्यापार बिस्तार गर्ने र त्यसका लागि दुबै देशले आवश्यक पूर्वाधार तयार पार्ने समझदारी भएको थियो ।  

‘यसरी हेर्दा आठमध्य चार दक्षिण एसियाली राष्ट्र चीनसँग खुला व्यापार सम्झौतामा पुगिसकेका छन् । यसबाट चीनको दक्षिण एसियाली क्षेत्रमा गहिरो ब्यापारिक सम्बन्ध निर्माण गर्ने संकेत रहेको देखिन्छ’ अखवारले भनेको छ ।

दक्षिण एसिया चीनको ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ’ को एक महत्वपूर्ण अंग भएको र त्यसले व्यापारिक निकटतालाई प्रर्वद्धन गर्ने भएकाले यो खुला ब्यापार सम्झौताले ती राष्ट्र सँग नयाँ व्यापार व्यवस्था निर्माण गर्न योगदान गर्ने बिश्वास चीन सरकारको छ ।  चीन र दक्षिण एसियाली राष्ट्रबीचको ब्यापार तुलनात्मक कमजोर रहेको बेला यी नयाँ परियोजना र समझदारीमार्फत ब्यापार बिस्तार हुने बिश्वास लिइएको छ ।  

चीनको दक्षिण एसियाली अन्य राष्ट्रसँगको बिस्तारित ब्यापारिक सम्बन्धबाट अर्को तेश्रो देश आत्तिनु पर्ने अवस्था नरहेको र चिनियाँ यो कदम द्धिपक्षीय व्यापार बिस्तार गर्ने रहेको अखवारले बताएको छ ।    
      
 

0 प्रतिकृयाहरू प्राप्त

To Top