समाचार / खेल

एसिसी यू–१९ : हङकङले नेपाललाई दियो ७७ रनको लक्ष्य, सन्दीप र सहाबले लिए ३–३ विकेट 

असोज १ २०७४     D.R. Ghimire
1320994079nepal hk

 

काठमाडाैं,असोज १ एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको फाइनलमा हङकङले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ। मलेसियाको किन्नारा ओभलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको हङकङ ३२.१ ओभरमा ७६ रनमा अलआउट भयो। 

हङकङको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछाने र सहाब अलामले ३/३ विकेट लिए। सुमित महर्जन र आसिफ शेखले हङकङका १–१ ब्याट्स्म्यानलाई रनआउटको सिकार बनाए। दीपेन्द्रसिंह ऐरी र अनिल साहले १/१ विकेट हात पारे। 

सुमितले हङकङका झाथाभेदलाई १६ रन खेलिरहँदा रनआउटको सिकार बनाए। ओपनर हर्पित सि‌ंहलाई २० रन बनाएर खेलिरहदा सहाबले एलबिडब्लूको धरापमा पारे। 

यसअघि नेपाल मलेसियालाई १० विकेटले हराएर फाइनलमा पुगेको थियो। एसिसीको यू–१९ प्रतियोगितामा नेपाल सातौं पटक फाइनलमा पुगेको हो। यसअघि नेपालले ६ पटक फाइनलमा प्रतिस्पर्धा गरेको छ। ६ मध्ये नेपालले चार पटक उपाधि जितेको छ भने २ पटक उपविजेतामै सीमित बनेको छ। आइतबार हङकङलाई पराजित गर्न सके नेपालले पाँचौ पटक उपाधि जित्नेछ। 

नेपाल सन् १९९९ को एसिसी यू–१९ एलिट कपको फाइनलमा पुगेको थियो। सिंगापुरमा भएको फाइनलमा नेपाललाई बंगलादेशले ६ विकेटले हराएको थियो। २००१ को फाइनलमा नेपालले मलेसियालाई ७ विकेटले हराएर उपाधि जितेको थियो। लगातार चार पटक उपाधि जित्ने क्रममा नेपालले सन् २००३ मा मलेसियालाई ३० रनले, सन् २००५ मा मलेसियालाई नै ७ विकेटले र २००७ मा अफगानिस्तानलाई ४८ रनले हराएर उपाधि जितेको थियो। 

0 प्रतिकृयाहरू प्राप्त

To Top