चिनियाँ राष्ट्रपतिको भ्रमण अनिश्चित, भ्रमणका लागि ‘उपयुक्त वातावरण’ नरहेको चिनियाँ भनाई

राजनीति भाद्र २४ २०७४ .
Mahara photo

काठमाडौं, भदौ २४ – चीनले ‘उपयुक्त वातावरण’ नभएको भन्दै राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको संभावना तत्कालका लागि नरहेको सन्देश नेपाललाई दिएको छ । भ्रमणका लागि वारम्वार आग्रह गर्ने तर गम्भीर तयारी नगर्ने नेपाली प्रवृतिप्रति चिनियाँ पक्षले असन्तुष्टी समेत राखेको छ ।  


चीनको भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राष्ट्रपति सी जिनपिङलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएपछि चिनियाँ उच्च राजनीतिक नेतृत्वले त्यस्तो वातावरण नरहेको बताएको हो ।

महराले बिहीबार प्रधानमन्त्री ली खछ्याङदेखि स्टेट काउन्सिलर याङ जेइची र विदेशमन्त्री वाङ यीसँग बेइजिङमा भेटवार्ता गर्नुभएको थियो । ती वार्तामा राष्ट्रपतिको नेपाल भ्रमणमा भएको ढिलाईले आफूहरुलाई नेपालमा अफ्ठ्यारो परेको प्रसंग समेत राख्नुभएको थियो । राष्ट्रपतिको भ्रमण छिट्टै हुने काठमाडौंमा बताइरहेको तर भ्रमण नहुँदा चीनसँगको सम्बन्धमा नेपालको वर्तमान सरकार गम्भीर नभएको सन्देश गएको बुझिदिन महराले आग्रह गर्नुभएको थियो ।  

राष्ट्रपति जिनपिङको नेपाल भ्रमण केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला हुने तयारी भएपछि त्यसलाई रोक्न भारतीय योजनामा उक्त सरकार बिस्थापित गरिएको थियो । त्यसपछि प्रधानमन्त्री भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सीको भ्रमण हुने बयान दिएपनि बेईजिङले त्यसलाई खासै महत्व दिएन ।  

वार्तामा संलग्न नेपाली अधिकारीका अनुसार महराको उच्चस्तरीय भेटवार्तामा चिनियाँ पक्षले राष्ट्रपति सीको नेपाल भ्रमणका लागि तत्काल उपयुक्त वातावरण नरहेको जवाफ दिएको थियो । स्टेट काउन्सिलर याङ जेइचीले राष्ट्रपतिको नेपाल भ्रमण हुनुपर्छ भन्ने पक्षमा आफूहरु पनि रहेको बताउँदै तर नेपालमा त्यस्तो वातावरण तयार नभइसकेको र भ्रमणमा के हुन्छ भन्ने वारेमा नेपाल प्रष्ट नभएको धारणा राख्नुभएको थियो ।


यसअघिका उच्चस्तरीय भ्रमणमा पनि नेपालको तयारी नहुने र भ्रमणमा द्धिपक्षीय हितका बिषयमा कुनै उपलब्धी हासिल नहुने धारणा राख्दै उहाँले राष्ट्रपतिको भ्रमणमा गम्भीर तयारी आवश्यक हुने बताउनुभएको थियो । ‘हामीले पनि राष्ट्रपतिको नेपाल भ्रमण हुनुपर्छ भन्नेमा जोड दिएका छौं । उपयुक्त समयमा राष्ट्रपतिको नेपाल भ्रमण हुनेछ’ उहाँले महरासँग भन्नुभयो,‘राष्ट्रपतिको भ्रमणमा दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा र्पुयाउने दीर्घकालीन महत्वका विषय समेटिनुपर्छ । भ्रमण केवल भ्रमणका लागि मात्र सीमित हुनुहुँदैन ।’

श्रोतका अनुसार, उपप्रधानमन्त्री महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएका केही बिषयहरु चिनियाँ उच्च नेतृत्वसँग राख्दै बाहिर प्रचार आएजस्तो भारतीय योजनामा सरकार नबनेको प्रष्ट पार्ने प्रयास गर्नुभएको थियो । त्यसको उदारणका रुपमा आफूले नै प्रधानमन्त्री देउवालाई भारतीय सत्तारुढ पार्टीको संस्था ईण्डिया फाउण्डेसनको कार्यक्रममा चीन नेपालको असल मित्र रहेको र  चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको अभिव्यक्ति दिन लगाएको समेत बताउनुभएको थियो ।  

त्यसक्रममा देउवाकै भारत भ्रमणका भएका नेपाली संविधानमाथिको दिल्ली छलफल र दुई देशबिच भएको सुरक्षा साझेदारिताका बारेमा चिनियाँ नेतृत्वले चासो राखेको थियो । बेइजिङस्थित एक नेपाली अधिकारीका अनुसार, चिनियाँ उच्च राजनीतिक नेतृत्वले प्रधानमन्त्री देउवाको चीन नीतिप्रति सन्देह राख्दै देउवाको कार्यकालमा राष्ट्रपतिको भ्रमण गराउन नसकिने सन्देश दिएका थिए । प्रधानमन्त्री हुनुअघि भारतको गोवामा तिब्बती पृथकतावादीसँगको कुम जोडाई र प्रधानमन्त्री नहुँदै भ्रमणका लागि गरिएको आग्रहलाई देउवाले आलटाल गर्नुले त्यस्तो शंका रहेको बताएका थिए ।   

ओली सरकारका पालामा भएका यातायात तथा पारवहन, व्यापार लगायतका ऐतिहासिक सम्झौता कार्यान्वयनमा त्यसपछिका सरकार गम्भीर नदेखिएको भन्दै असन्तुष्टीसमेत चिनियाँ पक्षबाट राखिएको थियो । ‘यस्तो अवस्थामा राष्ट्रपतिको नेपाल भ्रमण कसरी हुन्छ ? भ्रमणका लागि भ्रमण गर्ने होइन, भ्रमणको प्रतिफलमा ध्यान दिनुपर्छ’ काउन्सिलर जेइजीको भनाई उद्धृत गर्दै श्रोतले भन्यो, ‘राष्ट्रपतिको भ्रमण केवल भ्रमणका लागि भ्रमणजस्तो मात्र हुनुहुँदन । दीर्घकालीन सोच राखेर भ्रमण हुनुपर्छ, ताकि सम्बन्धले नयाँ उचाइ लिन सकोस् ।’        

महराले नेपालका प्रमुख दलले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको र चिनियाँ रेल नेपालसम्म विस्तार होस् भन्नेमा सबै दल एकमत रहेको बयान वार्तापछि दिनुभएको छ । भेटवार्तामा चिनियाँ पक्षले नेपाल(चीन सम्बन्ध, उच्चस्तरीय भ्रमण आदानप्रदान, बेल्ट एन्ड रोड अवधारणामा नेपालको सहभागितालगायत दर्जन विषयमा धारणा राखेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top