समाचार / विश्व

उत्पात मच्चाइरहेको इरमा आँधीका कारण पूरै अमेरिका सशंकित

भाद्र २४ २०७४     बीबीसी
Bbc

भदौ २४,
क्यारेबेली द्वीपमा उत्पात मच्चाइरहेको चक्रवातीय आँधीका कारण अब अमेरिकामा त्रासको स्थिती पैदा भएको छ । अमेरिकामा संघीय विपद एजेन्सीका प्रमुख ब्रक लंगले इरमा फ्लोरिडा र त्यसको छिमेकी राज्यका लागि विनासकारी साबित हुनसक्ने बताएका छन् ।

ब्रक लंगका अनुसार फ्लोरिडाका केही भागमा थुप्रै दिनसम्म बिजुलीको आपूर्ती ठप्प हुनसक्छ । फ्लोरिडाका पाँच लाख जनतालाई सुरक्षित स्थानमा जानका लागि आग्रह गरिएको छ ।

अब इरमालाई पाँचौं श्रेणीबाट घटाएर चौथो श्रेणीको चक्रवातीय आँधी घोषित गरिएको छ ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले इरमा फ्लोरिडा पुग्दा २ सय ७० किलोमिटर प्रतिघण्टाको गतीमा हावा बहने सम्भावना व्यक्त गरेको  छ ।

फ्लोरिडाका गवर्नर रिक स्कटले भने, ‘याद राख्नुहोस्, घर तपाईं दोस्रोपटक बनाउन सक्नुहुन्छ तर जीवनका लागि दोस्रो मौका पाउनुहुन्न । ’

इरमाले क्यारेबेली द्वीपमा अत्यधिक क्षती पुर्याएको छ । एक करोड २० लाख जनता यो आँधीबाट प्रभावित भएका छन् ।

फ्रान्सका आन्तरिक मन्त्री जेरार्ड कोलोम्बले सेन्ट मार्टिनको फ्रेन्च इलाकामा ९ जनाको मृत्यु भएको र सातजना हराइरहेको जानकारी दिए ।

कहाँ छ इरमा र अब कहाँ जानेछ ?

टर्क्स र कायकास द्वीप हुँदै इरमाको असर डोमिनिकन रिपब्लिक र हाइटीमा भारी वर्षासहित देख्न थालिएको छ । क्यूबा र बशामासमा पनि यसको असर देखिँदैछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार क्यूबाबाट करिब ५० हजार पर्यटक या त गइसकेका छन् वा जाने क्रममा छन् ।

अमेरिकामा राष्ट्रिय मौसम सेवाले दक्षिण फ्लोरिडामा थुप्रै महिना वा हप्ताका लागि आँधीका कारण जीवन अस्तव्यस्त हुने आशंका जताएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडा पूर्ण रुपमा तयार भएको तर भविष्यमा के हुन्छ त्यो कसैलाई पनि थाहा नभएको बताएका छन् ।

फ्लोरिडाको अट्लान्टिक तटपछि इरमा अब जियोर्जिया र साउथ क्यारोलाइनामा पुग्ने सम्भावना छ ।

जियोर्जियाका गर्भनरका अनुसार शनिबारदेखि राज्यको अट्लान्टिक तटलाई खाली गराृने कार्य सुरु हुनेछ ।

हज्जारौं मानिसहरु सुरक्षित स्थानमा गइरहेका छन् जसका कारण सडक जाम छन् र हवाई अड्डामा अत्यधिक भीडभाड छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top