समाचार / अर्थ

क्षेत्रपाटीबाट अहिलेसम्मकै सबैभन्दा बढी सुन समातियो

भाद्र १९ २०७४     .
Gold stock1

काठमाडौं,भदौ १९ । काठमाडौं प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । केरुङबाट काठमाडौँ ल्याइएको सुन बरामद भएको हो ।

बरामद भएको सुन अहिलेसम्मकै सबैभन्दा बढी हो ।

क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए ।

प्रहरीले गाडीमा सुन भएको सूचना हिजो नै पाएको र रातभर रेक्कीपछि विहान बरामद गरेको जनाएको छ ।

मनोज अधिकारी नामका ड्राईभर पनि पक्राउ परेका छन् । टाटाको स्ट्रोङ नामक गाडीमा सुन भेटिएको हो ।

केही दिनअघिमात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै भित्रिएको २२ किलो सुनमध्ये १५ किलो सुन पक्राउ गरेको थियो ।

गत बुधबार सिन्धुपाल्चोक भोटेकोशी १ का पेम्बा दोर्जे शेर्पाको सामाखुसीस्थित कोठामा छापा मार्दा १४ किलो सुन फेला पारेको थियो ।

त्यस्तै धुनषाबाट थप एक किलो सुन समेत बरामद भएको थियो । तस्करीमा संलग्न पेम्बासहित काठमाडौंबाट तीन र धनुषाबाट ४ जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्ने पेम्बासहित अन्यमा भक्तपुर सूर्यबिनायकका दीपेन्द्र थापा, राजेन्द्र खत्री र रबिन खत्री, काठमाडौंको नयाँ बानेश्वरका सरोज थापा, काभ्रे पाँचखालका विष्णु गौतम, धनुषाको जनकपुर महानगरपालिका वडा नम्बर ७ का दीपक कुमार शाह रहेका छन् ।

प्रहरीले अवैध सुन तस्करीको मुख्य नाइके पेम्बा नै भएको दाबी गरेको थियो । 

0 प्रतिकृयाहरू प्राप्त

To Top