एमालेको जनकपुर भेलामा राजपाको ढुँगामुढा

राजनीति भाद्र १३ २०७४ .
Rajapaammmll

काठमाडौं, भदौ १३ – नेकपा एमालेको जनकपुरमा भर्खरै सम्पन्न प्रदेश न.२ को अगुवा कार्यकर्ता भेलालाई राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेका छन् । उनीहरुको अवरोधका बाबजुद एमाले भेला सफलता पूर्वक सम्पन्न भएको छ ।

मध्यान्ह १२.३० मा जनकपुरको पिडारी चौकमा सुरुभएको उक्त प्रदेशका आठ वटै जिल्लाका अगुवा कार्यकर्ता भेलालाई एमाले सचिव गोकर्ण बिष्ट र बरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरिरहँदा राजपा कार्यकर्ताले ढुँगामुढा प्रहार गरेका थिए । कार्यक्रम मोर्चा संगठनको आयोजनामा भएको थियो ।

नजिकै रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले एमालेलाई ‘मधेश बिरोधी’ आरोप लगाउँदै कालोझण्डा देखाउने, अश्लिल भाषाको प्रयोग गर्ने र ढुँगामुढा गर्न थालेपछि प्रहरीले तितरबितर पारेको थियो । पछि उनीहरुले एमाले भेलामै ढुँगा प्रहार गरेका थिए ।

भेलालाई सम्बोधन गर्न त्यहाँ पुग्नु भएका सचिव गोकर्ण बिष्टले भन्नुभयो, ‘हाम्रो कार्यक्रम भइरहँदा उहाँहरुले बाहिरबाट घेरेर ढुँगामुढा गर्नुभयो, तर हामीले कार्यक्रम रोकेनौं । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्यौं । मधेशी नागरिकमा एमालेप्रति विश्वास रहेको पायौं ।’

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा सबै राजनीतिक दलले प्रदेश–२ मा आफ्नो शक्ति केन्द्रिकृत गर्दै आएका छन् । एमालेले आफ्ना शीर्ष नेताहरुलाई निर्वाचनमा पहिलो पार्टी बनाउन खटाएको छ भने अन्य दलले पनि आफ्ना कार्यक्रम सुरु गरेका छन् । कार्यकर्ता भेलामा नेपाल, विष्ट, शत्रुघ्न महतो लगायतका नेताहरु सहभागी थिए । बरिष्ठ नेता नेपालले कार्यकर्तालाई सम्बोधन गर्दै मधेशी नागरिकको हकहितका लागि लड्ने पार्टी एमालेमात्र रहेको र एमालेले मधेशको विकासका लागि ठोस कार्यक्रम ल्याएको भन्दै एमालेलाई बिजयी बनाउन आग्रह गर्नुभयो ।

उहाँले मधेशी जनता राष्ट्रवादी भएको भन्दै राष्ट्रिय हित र स्वार्थको नेतृत्व एमालेले लिएकोले प्रदेश न. २ मा एमाले सबैभन्दा ठूलो पार्टी हुने बताउनुभयो । सचिव बिष्टले संविधान संशोधन मधेशी जनताको पक्षमा नभएकोले असफल भएको बताउनुभयो । उहाँले मधेशमा बोलिने मैथिली, भोजपुरी भाषा, संस्कृति बिस्थापित गरी हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने गलत उद्धेश्य संशोधनमा राखिएको बताउनुभयो । ‘जनताका हितको अगुवाई गर्ने पार्टी एमाले हो । त्यसैले एमाले अव मधेशमा पहिलो पार्टी बन्छ’ उहाँले भन्नुभयो ।    
 

प्राप्त प्रतिकृयाहरू

To Top