प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राजपाले दल दर्ता गर्‍यो

राजनीति भाद्र १० २०७४ रासस
 rajapa

काठमाडौं ,भदौ १० । राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । राजपाको दल दर्ता नम्बर ५५ रहेको छ ।

सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ भने स्थानीय तहको निर्वाचन प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुदैछ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले भदौ ११ गते आइतबारसम्मको समय तोकेको छ । आजसम्म आयोगमा ५६ वटा दलको दर्ता भइसकेका छन् ।

दल दर्ता गराउने क्रममा राजपाको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग समेत भेटवार्ता गरी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बारेमा केन्द्रीत रहेर छलफल गरेको छ ।

छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको जनताबीचमा जाने निर्णयअनुरुप दलदर्ताको लागि आयोगमा आएको बताए।

उक्त पार्टीले स्थानीय तहको निर्वाचनमा साइकल चिन्हमा चुनाव लडेपनि निर्वाचन आयोगसँग पार्टीको चुनाव चिन्ह छाताको लागि प्रयास गरिरहेको बताइएको छ । टोलीमा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव, शरदसिंह भण्डारीलगायतका नेता सहभागी थिए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top