प्रधानमन्त्रीको अभिव्यक्ति ‘लज्जास्पद’ :अध्यक्ष ओली

राजनीति भाद्र ९ २०७४ .
Kp oli

काठमाडौं,  भदौ ९– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार हैदरावाद हाउसमा संविधान संसोधन जस्तो आन्तरिक बिषयलाई प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको बताउनुभएको छ । 

उहाँले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सार्बभौम र स्वतन्त्र संसदको निर्णयको ध्वज्जी उडाएको समेत बताउनुभयो । नियमित स्वास्थ्य परिक्षणका क्रममा शुक्रबार थाइल्याण्ड प्रस्थान गर्ने क्रममा बिमानस्थलमा उहाँले  प्रधानमन्त्री देउवाको संविधान संसोधनवारेको प्रतिरक्षात्मक अभिव्यक्तिले देशकै शिर निहुराएको उहाँले बताउनुभयो । 

‘उहाँले कसैलाई खुशी पार्न यस्तो अभिव्यक्ति दिनुभयो । यस्तो भन्न मलाई मन छैन । कटु शब्द पनि के प्रयोग गरौं । तर उहाँले कसलाई खुशी यस्तो प्रसंग उठाउनुभयो । मलाई लज्जा महसुस भएको छ’ पुर्बप्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्री देउवाले बिहिबार हैदरावाद हाउसमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा आफूले संविधान पारित गर्न चाहेको तर संसदमा दुई तिहाई पुर्याउन नसकेका कारण पास नभएको बयान दिनुभएको थियो । साथै उहाँले चाडै नै दुई तिहाई पुर्याएर संविधान संसोधन पारित गर्ने प्रतिबद्धता पनि मोदीसमक्ष राख्नुभएको थियो । 

‘प्रधानमन्त्रीको यो अभिव्यक्ति र हर्कतले केही दिनअघिमात्रै संसदले लिएको निर्णयको समेत धज्जी उडाएको छ’ ओलीले भन्नुभयो,‘सार्बभौम संसदको अपमान भएको छ, नेपाली जनताको अपमान भएको छ ।’ भारतीय प्रधानमन्त्री मोदीले आफ्नो अडान दोहोर्याउँदै सबैलाई समेटर संविधान कार्यान्वयन आग्रह गर्ने बित्तिकै अत्तालिएका देउवाले आफूले दुई तिहाई पुर्याउन नसकेको बिन्ती लाउँदै फेरी आवश्यक संख्या पुर्याएर पारित गर्ने बिश्वास दिलाउनुभएको थियो  ।

‘गिडगिडाएर शर्मनाक ढंगले प्रभु मैले गर्न सकिनँ, कोशिस गरेको थिएँ । तर म गर्छु, त्यसका लागि वातावरण बनाइदिनुपर्यो भनेर याचना गर्नुभयो’ ओलीले भन्नुभयो,‘उहाँको हाउभाउ र प्रस्तुति हेर्दा देशकै शिर निहुरिन्छ । अत्यन्तै दुख लागेको छ ।’ संविधान संसोधन नेपालको आन्तरिक बिषय भएको र त्यसको निर्णय नेपाली जनताका प्रतिनिधिमार्फत भइसकेको भन्दै ओलीले त्यसमा प्रधानमन्त्रीले अर्को देशमा गएर बयान दिनु बिडम्बना भएको बताउनुभयो । 
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जानुभएको हो । उहाँ बुधबार स्वदेश फर्कनुहुनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top