सरुवा प्रकरणले काठमाडौं महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा

राजनीति भाद्र ९ २०७४ .
Ktm mahangar 59448928bf0392.96814602

काठमाडौं, भदौ ९ । काठमाडौं महानगरपालिकाका कर्मचारी सरुवा गर्दा मापदण्ड मिचेको आरोप लगाउँदै महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। काठमाडौं महानगरपालिकाले अहिले हामीलाई प्राप्त जानकारी अनुसार ३८ जना कर्मचारीहरु सरुवा गरेको छ।

तर, प्रशासनलाई समेत कुनै वास्ता नगरी महानगरबाहिर बसेर सरुवाको लिस्ट तयार पारेको भन्ने आरोप लागेको सो सरुवा सूची अहिले सार्वजनिक भएको छैन। तर, यसको विरोधमा महानगरपालिकामा एमाले निकट कर्मचारीहरु बाहेकका कर्मचारी संगठनहरु आन्दोलनमा उत्रिन थालिसकेका छन्।

यसरी गरिएको सरुवाको क्रममा बढी आर्थिक कारोबार हुने र बैधानिक रुपमा समेत कर्मचारीहरुलाई थप आर्थिक सुविधा प्राप्त हुने ठाउँमा विधी र प्रक्रिया अनुसार कार्यक्षमताको आधारमा भन्दा पनि राजनीतिक आस्थाको भरमा कर्मचारी सरुवा गरिएको भन्दै अहिले काँग्रेसी कर्मचारीहरु त्यसको विरोधमा उत्रिएका छन्।

बाहिरी रुपवमा काँग्रेस विरोधमा उत्रिएको छ भने यसलाई माओवादी केन्द्र निकट कर्मचारी लगायतका महानगरका एमालेबाहेकका सबै कर्मचारीले सहयोग गरिरहेको माओवादी निकट कर्मचारी संगठनका एक पदाधिकारीले जानकारी दिए। काँग्रेस निकट कर्मचारीहरुले बिहीबार कार्यकारी प्रमुख धनीराम शर्मालाई मागपत्र पेश गर्दै ७ दिनभित्र सरुवाको सबै कामहरु फिर्ता नगरिए आफूहरु कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। शर्मासँगको भेटका क्रममा कर्मचारीहरुबीच चर्काचर्कीसमेत चलेको थियो।

उनीहरुले सातदिन पछि आफ्ना मागहरु पूरा नभएको खण्डमा महानगरपालिकामा नै तालाबन्दी गर्नेसम्मको धम्की दिएको स्रोतले जानकारी दियो।

अहिले महानगरपालिकाको अधिकांश वडाका वडासचिवहरु सरुवा गरिएको जानकारी प्राप्त भएको छ। त्यस्तै, धेरै आर्थिक कारोबार हुने विभागका प्रमुख पनि सरुवा गरिएको छ। स्रोतका अनुसार अहिलेसम्म महानगरपालिकाको प्रशासन विभाग अन्तर्गत् जिम्मेवारी विहीन रुपमा रहेका देवेन्द्र पोखरेललाई अहिले खरीद विभागमा पठाईएको छ। त्यस्तै, खरीद विभागका प्रमुख दिपक अधिकारीलाई अहिले प्रशासन विभागमा पठाईएको छ।

त्यस्तै, ६ नं वडाका रामप्रसाद पौडेललाई ११ नं वडामा सरुवा गरिएको छ। जिन्सी इकाई प्रमुख सुमन अधिकारीलाई १५ वडामा पठाईएको छ। यस विषयमा थप विषयहरु सार्वजनिक गरिएको छैन।

त्यस्तै, यो सरुवा रद्द गर्नको लागि अहिले काँग्रेसी जनप्रतिनिधिहरु समेत सक्रिय रहेका छन्। काँग्रेसी सबै वडाध्यक्षहरुले बिहीबार यस विषयमा मेयरलाई भेटेर तत्काल यस्तो सरुवा फिर्ता लिन आग्रह गरेका थिए। काँग्रेस निकट कर्मचारीहरुले यो सरुवा फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन्। महानगरपालिकाका काँग्रेस निकट कर्मचारी संगठनका अध्यक्ष धर्म भट्टराईले आफूहरुले माग पत्र पेश गरेको भन्दै ७ दिनभित्र आफ्नो माग पूरा नभए आफूहरु कडा आन्दोलनमा उत्रिने चेतावनी दिए।

 

प्राप्त प्रतिकृयाहरू

To Top